Home » Recent articles » सरकारी स्वास्थ्य संस्थाहरु: अव सुधार्ने कि?

टाढाबाट हेर्दा तिन तले पक्की भवन, पार्किंग गरिराखेको एम्बुलेन्स र छिटफुट मान्छेहरु । हाम्रो गन्तव्यको प्राथमिक स्वास्थ्य केन्द्र यहि हो भनेर ठम्याउन खासै समस्या परेन । गेटबाट भित्र छिर्दा स्वास्थ्य केन्द्रका डाक्टर र अन्य कर्मचारी पहारिलो घाम ताप्दैथिए, सायद विरामीको चाप कम भएर होला । हामीले त्यस प्राथामीक स्वास्थ्य केन्द्र आउनुको कारण र उदेश्यहरु बताएपछि स्वास्थ्य केन्द्रकै एकजना एच. ए.ले हामी सबैलाई माथिल्लो तल्लामा रहेको मिटिंग हलमा लानुभयो र त्यस प्राथमिक स्वास्थ्य केन्द्रको वारेमा जानकारी गराउन थाल्नुभयो ।

१३ जना कर्मचारीको दरवन्दीमा जम्मा ७ मात्र पदपुर्ति भएको पाइयो । प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक ल्याव एसिस्टेन्ट, अ. हे व. आदिको पद खाली रहेछ । गत बैसाखदेखि त्यहाँ ल्याब र एक्सरे सेवा पूर्णरुपमा बन्द रहेछ । कारण भने सरकारले निशुल्क सेवा दिने स्वास्थ्य संस्थाबाट शुल्क लिएर सेवा संचालन गरेको र जनशक्तिको अभावको रहेछ ।

त्रिभुवन विश्वविद्यालयको एम. वि. वि. स. चौथो वर्षको कम्युनिटी मेडिसिन अन्तर्गतको फिल्डमा जाँदाखेरि स्याङ्जा जिल्लाको एउटा प्राथमिक स्वास्थ्य केन्द्रमा देखिएको स्थितिको वर्णन हो यो ।

अन्य दुई स्वास्थ्य चौकी, जिल्ला अस्पताल र क्षेत्रिय अस्पतालको एक महिने पोस्टिंगमा देखिएका विभिन्न घटनाक्रमको यो एक प्रतिनिधी दृश्य मात्र हो ।

सरकारी स्वास्थ्य संस्थाहरु भनेको देशको स्वास्थ्य स्थितिको परावर्तन देखाउने यथार्थ चित्र हो । दुरदराजमा रहेका यी संस्थाहरु आम मानिसको पहिलो सम्पर्क संस्था मात्र हैन उनीहरुको स्वास्थ्यको भविष्य पनि हो । एक महिनासम्म यीनै संस्थाको ओरीपरी घुमीएरहदा त्यहाँ देखिएका केहि गाँठाहरुलाई फुकाउने जमर्को यस लेखमा गरिएको छ ।

समस्याका अनगिन्ती गुजुल्टाहरु:

हरेक स्वास्थ्य संस्थामा समस्याका अनगिन्ती पोकाहरु फेला परे । तिनलाई फुकाउदै जाँदा निम्न शिर्षकमा बुदागत टिपोट गर्न सकियो ।

दक्ष जनशक्तिको कमी: हामी घुमेको कुनै पनि सरकारी स्वास्थ्य संस्थामा दरवन्दी अनुरुप जनशक्तिको पदपूर्ति भएको थिएन । क्षेत्रिय, जिल्ला देखि तल्लो तहको संस्थामा पनि आवश्यक जनशक्ति थिएन । कम जनशक्तिले कामको चाप थेग्न नसक्ने कुरा त भयो नै, आम जनताले पाउने स्वास्थ्य सेवामा पनि यसले प्रतिकुल असर पार्न सक्ने कुरामा दुइमत रहेन । क्षेत्रिय अस्पतालकै कतिपय विभागहरुमा कलेजहरुका नर्सिंग र अन्य प्यारामेडीकलका विद्यार्थीहरुको सहयोगमा चलेको र स्थाई जनशक्तिको अभावमा भविष्यमा आउन सक्ने स्थितिबारे अस्पताल प्रशासन अनविज्ञ रहेको पाइयो ।

साधन स्रोतको उपयोग हुन नसकेको: प्राथामीक स्वास्थ्य केन्द्र ल्याब, एक्स-रे आदिको लागि पर्याप्त उपकरण रहे पनि जनशक्ति अभाव र व्यवस्थापनको कमजोरीका कारण ति सेवाहरु विरामीहरुका लागि उपलब्ध थिएनन । क्षयरोगको संक्रमण निटक भविष्यमा १ प्रति १०,००० भन्दा कममा झार्ने महत्वकांक्षी लक्ष लिएर संचालन भईरहेको राष्ट्रिय क्षयरोग निवारण कार्यक्रमले हरेक प्राथमिक स्वास्थ्य केन्द्रमा माइक्रोस्कोपी सहितको खकार जांच सेवा हुनुपर्ने भन्छ, तर त्यहाँ सो सेवा उपलब्ध थिएन । सरकारी कार्यक्रमहरु असफल हुनुको एउटा गतिलो उदाहरण यहि तितो यथार्थलाई मान्न सकिन्छ ।
क्षेत्रिय अस्पतालमा विदेशी डोनरले दिएका कति उपकरणहरु विना प्रयोग थन्किएर बसेका थिए । व्याक्टेक लगायत रगत कल्चरका अन्य उपकरणहरु दक्ष जनशक्तिको अभाव र महँगो पर्ने भएकाले आम मानिसको निम्ति प्रयोगमा आउन सकेका थिएनन । दाताहरुबाट सहयोग स्वरूप आएको उपकरणहरुको पनि उचित प्रयोग हुन नसक्दा हाम्रो व्यवस्थापकीय कमजोरी छताछुल्ल भएको छ ।

सरकारी निती नियममा खोट: सरकारी नीति नियम, निर्देशिकाहरु पढ्दा र फिल्डमा गएर अध्ययन गर्दा आकास पातालको फरक रहेको पाइयो । सुरक्षित मातृत्व तथा नवजात शिशुको स्याहार सम्वन्धी विधेयक-२०७० ले हरेक जिल्ला अस्पतालमा प्रसुति तथा स्त्री रोग विशेषज्ञ र कम्तीमा एकजना वालरोग विशेषज्ञ हुनुपर्ने व्यवस्था गरेको रहेछ । यथार्थ र यो कागजी निती नियम विचको खाडल सायद हामी सबैमाझ जुन र घाम जस्तै छर्लङ्गै छ ।
नितीकै कुरा गर्दा सरकारले एक वर्ष अघि नै हरेक सरकारी अस्पतालले आफ्नै स्वामित्वमा फार्मेसी संचालन गर्नुपर्ने व्यवस्था गरेको छ । यस नियमलाई पालना गराउनको निम्ती सर्वोच्च अदालतले पनि आदेश दिईसकेको छ । तर व्यवहारमा यो लागु हुन सकेको छैन । सरकारले पर्याप्त जनशक्ति र आवश्यक पूर्वाधारको निर्माण विना ल्याएको यस नितीकै कारणले क्षेत्रिय अस्पतालमा पहिले भईरहेको फार्मेसी पनि हटेको र अस्पतालले संचालन गरिनसकेकाले विरामीहरुले सास्ती खेप्न परिरहेको छ ।
राष्ट्रिय स्वास्थ्य नीति-२०७१ ले सम्पूर्ण उप स्वास्थ्य चौकीको स्तरउन्नति गरि स्वास्थ्य चौकी बनाउने र हरेक गा. वि. स. मा स्वास्थ्य चौकी स्थापना गरि एक एम. वि. वि. एस. डाक्टरको दरवन्दी कायम गर्ने परिकल्पना गर्छ । यो महत्वकांक्षी सपना यथार्थमा कहिलेसम्म देख्न पाइन्छ, त्यसको निम्ती केवल प्रतिक्षा गर्नुको विकल्प छैन । हालकै स्थितिमा ३ कोठे भवनहरुमा विना आवश्यक पूर्वाधार संचालन भइरहेको स्वास्थ्य चौकीमा एम. वि. वि. एस डाक्टरले दिने सेवा कस्तो होला भन्ने विषय पनि मननयोग्य छ ।

संयन्त्रमा कमजोरी: भएका श्रोत र साधनको सन्तुलित प्रयोगको निम्ति त्यसलाई उचित रुपले व्यवस्थापन गर्न सक्ने संयन्त्रको जरुरी पर्छ । माथिल्लो निकाय स्वास्थ्य मन्त्रालय देखि स्वास्थ्य चौकीसम्मको च्यानलले पक्कै पनि स्वास्थ्य सेवा प्रणालीमा गहन भूमिका खेलेको हुन्छ । एउटा रुखको पातमा खाना बन्न जराबाट पानी, खनिज आदि तत्वहरुको संचालन तथा सुर्यको प्रकास आदि सबै वस्तुहरुको सन्तुलित आवश्यकता रहन्छ । रुखको जराबाट खनिज र पानीको संचालन भएन भने पातमा खाना बन्न सक्दैन । त्यसै अनुरुप स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, जिल्ला स्वास्थ्य कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी बिचको सूचना आदानप्रदान र आपसी तालमेल नमिलेमा सेवा प्रणाली चुस्त हुन् सक्दैन । हाल यो संयन्त्रमा पक्कै पनि हुनुपर्ने तालमेल मिलेको छैन । स्वास्थ्य संस्थाहरुमा जानुपर्ने निशुल्क औसधी जान सकेको छैन, आम जनताले पाउनुपर्ने निशुल्क स्वास्थ्य सेवा पाएका छैनन । कतिपय ठाउमा उनीहरु स्वास्थ्य संस्थाबाट पाइने निशुल्क सेवाबारे पनि अनविज्ञ छन् ।

समाधान के त?
यी सबै समस्याहरुको समाधान हाम्रै स्वास्थ्य संयन्त्रमा रहेको छ । खाली रहेका दरवन्दीहरु जतिसक्दो चाडो पदपूर्ति गर्नु पहलकदमी चालीहाल्नुपर्ने देखिन्छ । लोकसेवा मार्फत वा केहि समयको लागि करारमै भए पनि खाली दरवन्दीको पदपूर्ति गर्न सकिन्छ । दक्ष जनशक्ति मार्फत भएका साधन श्रोतको अधिकतम प्रयोग गरेर विरामीहरुलाई सेवा दिन यथासक्यो चाडो पहल गर्नुपर्ने देखिन्छ । साथै मन्त्रालय, विभाग, जिल्ला र स्वास्थ्य केन्द्रहरुको तालमेल र सहकार्यबाट आइपर्ने समस्याहरु हल गर्न सबै तत्पर भएर लाग्नुपर्ने देखिन्छ । न्यायोचित तलव सुविधा र स्वास्थ्य संस्थामा न्युनतम पूर्वाधारको विकास गरेर डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुलाई कार्यक्षेत्रमा लाग्न प्रोत्साहित गरिरहनु आवश्यक हुन्छ । गलत काम गर्नेलाई दण्डित गर्ने र असल काम गर्नेलाई पुरस्कृत गर्ने संस्कारले कार्यसंचालन थप चुस्त बनाउन अवश्यनै सहयोग गर्नेछ । सरकारी नीति र नियमहरु हतारमा भन्दा पनि उचित तयारीका साथ सुरुमा कुनै निश्चित क्षेत्रमा परिक्षण गरेर ल्याउदा त्यसको कार्यन्वयनमा सहजता हुन्छ ।
स्वास्थ्य क्षेत्रका सबैको इच्छाशक्ति, कार्यकुशलताले निश्चयनै सरकारी स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याउन सकिन्छ ।

केहि उज्यालो पक्षहरु:
सरकारी स्वास्थ्य संस्था र सेवाको समस्याहरुको चर्चा गरिरहदा सरकारी सेवामा रहेका आम स्वास्थ्यकर्मीहरुको मनोवल गिराउने उदेश्य यो लेखको होइन । सिमित साधन श्रोत र विसम परिस्थितिको वावजुत पनि सरकारी सेवामा रहेका स्वास्थ्यकर्मीहरुको प्रसंशा गर्नैपर्छ ।

आम जनता र सरकारी संयत्रको विचको पुलको रुपमा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिकाको कदर गर्नैपर्छ । चाहे त्यो मातृ मृत्युदरलाई उल्लेखनीय तवरले घटाएर नेपालले पाएको एम. डी. जी. अवार्डको निम्ती होस् वा चाहे त्यो पूर्ण खोप जिल्ला घोषणा गर्नको निम्ती होस्, यसको श्रेय देशभर रहेका पचास हजार भन्दा बढी महिला स्वास्थ्य स्वयं सेविकाहरुको पोल्टामा जान्छ ।

सन् १९७८ मा अल्मा आटा सम्मेलनबाट पारित प्राइमरी हेल्थ केयरको “सामुदायिक सहभागिता” को सिद्दान्तलाई नेपालले महिला स्वयं सेविका मार्फत उत्कृस्ट प्रयोग गरेको छ ।सहश्राब्दी विकास लक्ष्यलाई भेटाउन नसके पनि मातृ मृत्युदर, खोप र बाल मृत्युदरमा नेपालले गरेको सुधार प्रशंसायोग्य छ ।

अन्त्यमा,
अझै पनि सरकारी स्वास्थ्य संस्था आम जनताको रोजाइमा पहिलो नम्वरमा नै रहेको छ । सरकारी अस्पतालहरुमा देखिने भिड र चाप सायदै कुनै निजी अस्पतालमा देख्न पाइन्छ । पच्चीस प्रतिशत भन्दा बढी जनसंख्या अझै पनि गरिवीको रेखा मुनि रहेको हाम्रो जस्तो देशमा निजी अस्पतालहरु सबैको पहुचमा हुन सक्दैन । पछिल्लो समयमा फस्टाएको स्वास्थ्यमा व्यापारीकरणले यसलाई थप बल दिएको छ ।
तसर्थ, आम मानिसको स्वास्थ्यको दायित्व मुलत सरकारकै हुनुपर्छ । र यसको निम्ति सरकारी स्वास्थ्य संस्थाहरुलाई नै सवल र सक्षम बनाएर अघि बढ्नुको विकल्प छैन । त्यसैले हामी स्वास्थ्य क्षेत्रका वा यस बाहिरका जो सुकै भए पनि सरकारी स्वास्थ्य संयन्त्रलाई गुणस्तरीय बनाउन, यसमा रहेका कमजोरी र विकृति विसंगतिहरुलाई औंल्याई खबरदारी गर्दै स्वस्थ समाज र स्वस्थ देश निर्माण गर्ने अभियानमा सबै संगसंगै लागिपर्ने कि ।

 

यो लेख चौथो वर्षको जिल्ला स्वास्थ्य सेवा व्यवस्थापनको ४५ दिने अध्ययन भ्रमण सकिएपछी लेखिएको थियो र स्वास्थ्य खबरपत्रिकामा प्रकाशित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com