Home » Recent articles » सपनाको अन्त्यष्टि

सधैजसो आज पनि उही हिड्दा हिड्दा थाकेको पुरानो जुत्ता, मैलोले रंग फेरिएको सर्ट, च्यातिन लागेको पाइन्ट र झोलाभरी जीवनका कागजरुपी उपलब्धीहरु बोकेर निस्किएँ । हिजोजस्तै अनिश्चित गन्तव्यको सयरमा दीनभरको लागि हिडेको थिएँ । उदेश्यविहिन भएर शहरका सडकहरु र गल्लीहरु डुल्नु मेरो दिनचर्या थियो । र मलाई बस यति थाहा थियो, म आज पनि त्यहि गर्दैछु ।

मूल सडकमा निस्कदा आज पनि उस्तै चहलपहल सुरु भइसकेको थियो । उही भिडभाड अनि उही कोलाहल । मानिसहरु स्वचालित रोबट झैँ हतार हतारमा आफ्नो पाइला चाल्दै थिए, कसैलाई कसैसंग उभिएर बोल्न त के हेर्न पनि फुर्सद थिएन ।

विपरितबाट आइरहेका एक भलादमी जस्ता देखिने मानिसले मेरो कुममा ठक्कर दिए । उनले माफी माग्न जरुरी ठानेनन र फर्केर पनि नहेरी सरासर आफ्नो बाटो लागे । अचम्म लागेन, किनकी मलाई थाहा थियो, यो शहरमा नैतिकता हराएको धेरै भैसकेको छ ।

चाबहिल, गौशाला, तिनकुने………

आवाजले भट्ट्याइरहेको तिर लागेँ र बस चढें । बायाँपट्टी तेस्रो सीटको झ्यालपट्टि गएर बसें र नियाल्न थालें यो अजिव शहरका अजिव दृश्यहरु । यहाँ मान्छेहरुको मुहारमा कुण्ठा र आवेग प्रष्ट झल्किन्थ्यो, कहिलेकाहि उनीहरु देखाओटी हाँसो हास्दैथिए ।

बस अघिल्लो स्टपमा गएर रोकियो । सडकछेवैको छाप्रे पसलका व्यापारी निराश थिए किनकी आज उनको बोनी पनि लागेको थिएन। ती ह्यांगरका धुलाम्मे सर्ट अनि खुइलीसकेका ज्याकेटहरु ग्राहकको पर्खाइमा थिए । चैत सुरु भइसकेको थियो । जाडो सकिन लागिसक्दा पनि ति कसैका बन्न सकेनन सायद तिनीहरु अव अर्को पुष माघ कुर्दैथिए ।

सबै सीट भरिए पनि मेरो संगैको सीटमा बस्न कोहि आएनन । किन ? बसको झ्यालको सिसामा मैले आफ्नै आकृति देखें । लामो दाह्री, मैलो कपाल र निकै थकित अनुहार ।

“के यो साच्चै म हो ?” आफैलाई प्रश्न गरें ।

ऐना नहेरेको नि धेरै भएछ । म त आफुले आफैलाई पनि नचिन्ने भैसकेछु । हुन त म आफुले आफैलाई नचिन्ने भइसकेको थिएँ । म कहिलेदेखि यस्तो भएँ ? म मा किन यस्तो परिवर्तन आयो ? यी प्रश्नहरुको जवाफ मसंग थिएन ।
गाडी अगाडी बढ्यो र फेरि अर्को स्टपमा गएर रोकियो ।

सभ्य समाजले खातेको दर्जा दिने सडक वालकहरु डेनड्राईडमा लठ्ठ थिए, अर्को हुल चाँही वटुवासँग पैसा माग्दैथिए । नजिकै एक सुटेड बुटेड मानिस त्यो मगन्ते वालकबाट भाग्न खोज्दैथियो । यो विरलै देखिने दृश्य होला, जहाँ धनीहरु गरिव देखि डराइरहेका थिए ।

आखिर यहाँ सब मगन्तेहरु नै त छन् । आफ्नो पेटको निम्ती सबै कसैसंग माग्दैछन् । फरक यति थियो, त्यो बालक खुलेआम सडकमा माग्दैथियो ।

“अंकल, भाडा दिनुस त ।”

यी आयो फेरी अर्को मगन्ते । खल्तीबाट पन्ध्र रुपयाँ निकालेर दिएँ ।

अंकल ! के म त्यति साह्रो बुढो भइसकें ? आफ्नो उमेर सम्झें । आधा उमेर वित्न लागिसकेछ । के त मेरो अहिलेसम्मको उपलब्धी ? जन्मेदेखि २५ वर्षसम्म मलाई पैसा कमाउन लायक मान्छे बनाउनको निम्ती पढाईयो । यी झोलाका प्रमाणपत्रहरु, जसलाई म विगत तिन महिनादेखि बोकेर शहरका गल्ली गल्ली चहारीरहेको छु ।
के मेरो अहिलेसम्मको परिचय यहि हो ?

अहँ, म यो हुँदै हैन । मेरो परिचय यसले निर्धारण गर्दै गर्दैन् । म केवल यी कागजका पानाहरुमा सिमित हुने कागजी आकृति हैन । म यो भन्दा धेरै केहि हुँ । मैले जीवनलाई भिन्न तरिकाले बुझेको छु । कयौं रात खाली पेट सुतेको छु, काठमान्डौका गल्लीहरुमा खाली खल्ती डुलेको छु ।

झोला खोलेर म मेरा हरेक प्रमाणपत्रका पानाहरु एक एक गरेर चियाउन थालें । आखिर के दियो त यसले मलाई ? अव यसको कुनै महत्व छैन ।

तिनै पत्रहरुबीचबाट एउटा तस्विर खस्यो । गाडीको सीटको मुनि उल्टो परेर बस्यो ।
त्यो तस्विर टिपें र हेरें । मधुर मुस्कानका साथ हाँसीरहेको एउटा फोटो । धुलो लागेछ, अर्को हातले टक्टकाएँ । ए साँचै म कुनै जमानामा प्रेममा पनि परेको थिएँ है ।

ति बिगतका स्मृतिहरु एक एक गरेर मानसपटलमा खेल्न थाले । जति नै कोशिश गरे पनि एकपटक मनको कुनामा सजाइसकेको मानिसलाई निकाल्न नसकिने रहेछ । मलाई आयशाले कहिल्यै बसन्त नआउने गरि शिशिरमा उजाडिएको नाङ्गो पाखो बनाएर गएको थिइ, त्यसपछि न म फक्रिएर फुल्न सकें, न त ओइलाएर झर्न नै सकें ।
मलाई भाउन्न भयो ।

गाडी गौशाला चोकबाट ठिक अघि बढ्न लागेको रहेछ । रोक्न लगाएँ र झरें । फटाफट पशुपतितिर लागे ।
हो आर्यघाट, जहाँ धेरै सपनाहरुको अन्त्य भएको छ, जल्दा जल्दै धुवाँ भएको छ, खरानी भएको छ । मेरा पनि केहि सपनाहरु थिए: एउटा भरपर्दो जागिर, सानो परिवार र सुन्दर घर बसाउने । मेरा यी सबै सपनाहरु अव केवल मिठो कल्पना शिवाय केहि रहेन ।

म अव भिन्न तरिकाले जींउछु । यी सबै सांसारिक मोहबाट म अव मुक्त हुन्छु । आखिर जति उचाईमा पुगे पनि एकदीन झर्नु नै छ, अन्त्यमा यहि माटोमा मिल्नु नै छ ।

नजिकै एउटा जिन्दगी जल्दैथियो । मैले झोलाबाट आफ्ना सपनाका पोकाहरु एक एक गर्दै निकालें । अनि तिनै सपनाहरुलाई दागबत्ती दिए । हो मेरा सपनाहरु आगोको लप्कोसंगै खरानी भए । मेरा सपनाहरुको अन्त्यष्टिमा मलाई पश्चाताप थिएन र म अलिकति पनि दुखी भइन ।

भोलि बिहान पहेंलो पिताम्बर ओडेर एउटा हातमा कमण्डलु र अर्को हातमा त्रिशुल लिएर आफ्नो भेष बदलें । अनि चर्को स्वरमा कराउदै हिडें, “अलक निरन्जन, बम बम भोले……….”

 

यो लेख सेतोपाटी अनलाइनमा फाल्गुन २२, २०७२ मा प्रकाशित भएको थियो ।

http://archive.setopati.com/sahityapati/42688/

Post Tagged with , ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com