Home » Recent articles » यो अन्त्य हैन, नयाँ सुरुवात हो…

अस्पतालको बेडमा गुरुङ थरका एक युवक कोल्टे फेरेर पल्टिरहेका छन । हिजो भन्दा उनको मुहार आज अलिक उज्यालो छ । निधारमा घाउको खत र हातमा प्लास्टरका साथ फिक्का हाँसो हाँस्दैछन । भुकम्प पछिको चौथो दिनमा उनि गोरखाबाट हेलीकप्टरमा उद्दार गरेर पोखरा ल्याइएका हुन् । बाख्रा चराउन जाँदा कम्पनले ल्याएको ढिस्कोले पुरिएका उनि आफु कुन हालतमा पोखरा आइपुगे सम्झन सक्दैनन् । हल न चलको अवस्थामा अस्पताल आइपुगेका उनि अपरेसन पछि बिस्तारै फिर्दैछन ।

आफ्नै आँखा अगाडी भुकम्पले विध्वंस परेको आफ्नो गाउँको सचित्र तस्विर देखेका उनको मनको पिडा लुकाएर पनि फिक्का हाँसो हास्दैछन । उनको त्यो मनको घाउ सायद अव कहिल्यै नपुरिएला, तर निधारको घाउ चाडै नै पुरिनेछ । अनि ति युवक ठिक भएर फेरि आफ्नो गाउँ फर्कनेछन, नयाँ जोश र जाँगर लिएर । अनि फेरि उस्तै बनाउनेछन् आफ्नो प्यारो गाउँलाई, आफु हुर्केको ठाँउलाई । त्यसपछि उनले त्यो आफ्नो मनको घाउ नि विर्सनेछन । अनि यो भूकम्प र यसले निम्त्याएको प्रलय केवल एउटा नमिठो इतिहास बन्नेछ ।

हामीले धेरै गुमाएका छौं । विश्वका अरु देशहरु घोडाको तालमा दौडदा हामी कछुवाको गतिमा छौं । विगतको एक शताब्दीमा हामीले थोरै पाएका छौं र धेरै गुमाएका छौं । केहि दशक अघिको द्वन्द र हालको राजनैतिक अस्थिरताले पछाडी धकेलेको हाम्रो देशलाई फेरि अर्को एउटा धक्का लागेको छ । हाम्रो जीवनभरको पसिना माटोमा मिलेको छ भने पुर्खाको नासो हाम्रा ऐतिहासिक धरोहरहरु भुइँमा लडेका छन् । एउटा ढुंगा, माटो र जस्ताले छाएको घर नै जीवनको सर्वस्व भएका कयौ गाउँका बस्तीहरु भग्नावशेषमा परिणत भएका छन् ।

हुन त यो समय धेरै भावनामा बग्ने बेला होइन । तर, त्यो भावुकतालाई जोश, जाँगर र शक्तिमा बदल्ने बेला हो । हामी सबै एक अर्काको हातमा हात मिलाएर अघि बढ्ने बेला हो । यतिखेर म एउटा स्वरुपराज आचार्यको आवाजको एउटा गीत सम्झन्छु,

पहाडमा जाडो बढे, तराईले सेक्नुपर्छ,
आँधी आए तराईमा, पहाडले छेक्नुपर्छ,
हैन भने देशभक्ति, छैन हाम्रो छातीभित्र,
माटोलाई चोट लाग्दा मुटुहरु रुनुपर्छ……

हामी तराई, पहाड र हिमालका सबै हालेमालो गर्दै अघि बढीयो भने हामीले भन्दै आएको सुन्दर, शान्त नेपाल फेरि कुनै टाढा छैन । अनेकन बहानामा केहि छुटिन र टाढिन लागेको हामी नेपालीहरुको संबन्धलाई फेरि एकपल्ट जोड्ने मौका मिलेको छ । हामी सबै एकै छातामुनी बसेर यो विपत्तीसंग लड़दैछौं, नेपालीको नाताले, एकै घरको परिवारको नाताले । ऐले हामी सबैको मुख्य उदेश्य एकै छ, भूकम्पबाट बिचलित भएको देश फेरि बनाउने, एउटा छिन्नभिन्न भएको फूलका थुंगाहरु फेरि जोडेर एउटा सुन्दर माला बनाउने ।

अहिले देश भत्किएको घर झैँ बनेको छ । ईटाहरु टुक्रा टुक्रा भएर सर्वत्र छरिएका छन् । सिमेन्ट र बालुवा धुलो बनेका छन् । अव बेला दह्रो जग बसाउने र बलियो घर बनाउने हो । हरेकले एक ईटा थप्दै जाने हो भने त्यो दीन टाढा छैन, जुन दिन फेरि एउटा सुन्दर घर बन्नेछ र हामी सबै त्यो घरमा अटाउने छौं । त्यो घर पहिलेको भन्दा बलियो र सानोतिनो कम्पनले नढल्ने हुनेछ । सायद हामीले कल्पना गरेको नयाँ नेपाल पनि त्यहि हुनेछ । र त्यहाँ ति गुरुङ दाइको आफ्नो सुन्दर गाँउ पनि हुनेछ ।

व्यवस्थित शहरीकरण, भूकम्पको पूर्वतयारी र आम जनचेतना अवको पुनर्निर्माणसंगैका हाम्रा अरु चुनौतीहरु हुन । विगतबाट पाठ सिकेर वर्तमानमा लागु गर्ने र भविष्यमा आउने भवितव्यबाट आफु पनि बच्ने र अरुलाई पनि बचाउने नै हाम्रो अहिलेको मूल मन्त्र हो । हामी अलिकति विवेकशील, इमानदार र जिम्मेवार भयौं भने यी कामहरु त्यति कठिन छैन । केवल आफ्नो ठाँउबाट हरेकले सुरुवात गर्नुपर्छ । यो विपदले हामीलाई सिकाएको पाठ पनि यहि हो ।

वास्तवमै बिजयकुमार दाइले भन्नुभए झैँ हामी हारेका छैनौ, केवल थाकेका छौं । र चाडै त्यो थकाईबाट फेरि उठ्नेछौ, गाउँगाउँबाट उठ्नेछौं, बस्तीबस्तीबाट उठ्नेछौ । भनिन्छ कालो बादलभित्र पनि चादीको घेरा लुकेको हुन्छ । अन्धकारको रातपछि पनि मिर्मिरे बिहानीसंगै सुर्य उदाउछ नै । त्यो कालो रातलाई बिदाइ गर्दै, हामी पनि फेरि उदाउनेछौ । हो, यो अन्त्य हैन, यो त केवल एउटा नयाँ सुरुवात हो, सुनौलो विहानीको सुरुवात, नविनतम संसारको सुरुवात ।

 

यो लेख सेतोपाटी अनलाइनमा बैशाख २०, २०७२ को दीन प्रकाशित भएको थियो ।  http://archive.setopati.com/pathak-bichar/27749/

Post Tagged with , ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com