Home » Recent articles » यस्तो देख्न नपरोस

कतै टाढा रहेको एउटा घना जंगल । जंगलमा विभिन्न जनावर, चरा चुरुंगी, किरा फट्यांग्रा आदिमकाल देखि बसीआएका । सबैमा एक किसिमको मेलमिलाप थियो । शान्त र सुन्दर त्यस जंगलमा कुनै किसिमको समस्या थिएन ।

त्यहाँ सबैकुराको आफ्नै नीति, नियम र पद्दति थियो । जंगलको राजा सिंह थियो र उसको आफ्नै मन्त्रीमण्डल थियो । कसैलाई केहि समस्या पर्यो भने सबै सिंहकहाँ जान्थे, सबैले छलफल गरेर कुनै न कुनै समाधान निकाल्थे । एक आपसमा सबै मिलनसार थिए, दुख सुख पर्दा सबैले एक अर्कालाई सहयोग गर्थे ।

अझै भन्नुपर्दा आफ्नो अधिकार, कर्तव्य र दायित्वप्रति सबै सचेत थिए । आफ्नो अधिकार खोज्दा सबैले अरुको अधिकारको पनि ख्याल राख्थे । आफुले गर्नुपर्ने कर्तव्य र आफ्नो दायित्व सबैले निभाउथे । हात्तीहरु बाटोमा हिड्दा ख्याल गरेर हिड्थे, रुखका हाँगा भाच्दा त्यहाँ चराको गुड लगाएको छ कि छैन ख्याल गर्थे । किरा फट्यांग्राहरु पनि आफुलाई सुरक्षित महसुस गर्थे । कोहि कसैसंग भयवित हुनुपर्ने स्थिति थिएन । निकै सौहार्दपूर्ण वातावरण थियो ।
सबैमा मेलमिलाप थियो भने कसैमा द्वेश र हेयभाव थिएन । बास्तबमै त्यो जंगल एउटा नमुना थीयो र त्यसले कुनै एउटा विकसित राज्यमा रहेको सभ्य समाजको झल्को दिन्थ्यो ।

निकै पहिले कुनै समय यस जंगलमा बस्ती बसाउन र जंगल हडप्न मानवजातिले ठूलो प्रयास गरेका थिए तर तिनीहरु सफल भएनन रे । जंगलमा निकै पहिले देखि बस्दै आएकाहरुको एकता र उनीहरुले आफ्नो बासस्थान जोगाउन देखाएको तत्परतासंग ति मानवजातिको केहि सिप लागेन अरे । सबैले आफ्नो वासस्थान बचाउन ठूलो त्याग गरे, सकेको योगदान गरे । त्यहाँ देखि सबैको मेलमिलाप र एकता झन प्रगाड भएको थियो ।

एक समय हिउदमा ठूलो खडेरी पर्यो । जंगलका खोला-नाला, तलाउ, पोखरीहरु सबै सुके । आकासबाट पनि पानी परेन । ठुलै संकट आइलायो । सबै प्याकप्याक भएर मर्नलागे । कति त मरे पनि ।

एक्कासी आइपरेको यस्तो विकराल समस्याको कसरी समाधान निकाल्ने भनेर भेला बोलाइयो । जंगलका सबै जनावर, चराचुरुंगी भेला भए । कसैले भने ठूलो पुजाआजा गर्नुपर्छ र इन्द्रलाई खुसी बनाउनुपर्छ, कसैले भने जंगलको बिचमा इनार खन्नुपर्छ, कसैले भने जंगलको एउटा छेउमा रहेको ठूलो तालबाट सुरुंग खनेर ल्याउनुपर्छ । अन्त्यमा सबैले एउटा कुरामा सहमति जनाए र एउटा निस्कर्ष निस्कियो ।

जंगलको एउटा छेउमा रहेको तालबाट ठूलो कुलो बनाएर पानी ल्याउने र जंगलको विच भागमा स्थाई नहर बनाएर पानी त्यहाँ जम्मा गर्ने । यो नै अहिलेको तत्कालको समस्याको लागि समाधान र भविष्यको लागि पनि यस्तै समस्या आइपरेमा उपयोगी हुने भएकाले सबैले सहमति जनाए ।

नहर बनाउन सबै दत्तचित्त भएर लागे । जंगलका राजा सिंह देखि बाघ, भालु, मृग, जरायो, चराचुरुंगी सबैले आ-आफ्नो भागमा परेको काम गरे । गैडा, हात्ती मिलेर कुलो खने, चराचुरुंगीहरुले छेउछेउमा बार लगाए, सबैले आफ्नो बल र बुताले भ्याएसम्म सहयोग गरे । अन्त्यमा लामो मेहिनत र परिश्रम पछि काम सफल भयो र जंगलमा नहर बन्यो ।

खडेरी र पानीको समस्या अहिलेलाई मात्र हैन सधैको लागि समाधान भयो । आखिर सबै मिलेर एउटा लक्ष्य जसरी पनि पुरा गर्ने अठोटका साथ लागे पुरा नहुने के नै रहेछ र । एकतानै बल हो भन्ने नैतिक उक्तिलाई उनीहरुले चरितार्थ गरेर देखाइदिए ।

समय बित्दै थियो । कहिलेकाँही चराचुरुंगीको भिडमा केहि बाहिर अर्को जंगलबाट आएका हुलहरु पनि मिसिन्थे । कहिलेकाँही अर्को जंगलबाट आएका केहि हिंस्रक जनावरहरुले यहाँको स्थानीयलाई आक्रमण गर्थे । बिस्तारै हरेकको समूह समूहबीच नै तिक्तता देखिन थाल्यो । एउटा समुह र अर्को समूहबीच मनमुटाव र झैझगडा देखिन थाल्यो । चराचुरुंगीको समूहले आफु बाँदर र अरुहरुबाट हेपिएको भने । विषालु सर्पले आफ्नो बच्चा खाइदिने र गुड पनि भत्काइदिने भनेर रुस्ट भए ।

मृग, जरायो आदिले पनि आफुहरुको बथानलाई वाघ र सिंहहरुले लखेट्ने र दुख दिने गरेको दुखेसो गरे । बाघ र सिंह नै को शक्तिशाली भन्ने विषयमा झगडा गर्न लागे । राजा बन्नको लागि यी दुई नै एक आपसमा लड्न लागे ।
यसरी वर्षौसम्म मिलेर बसेका प्राणीहरुबीच एक्कासी फाटो पैदा भयो । विषेश ठूलो कारण केहि नभए पनि केहि बाहिरी तत्वहरुको प्रभाव र भित्रकै केहि भड्काउहरुले गर्दा त्यहाँ अशान्ति मच्चियो । उनीहरु समूह समूह बनाएर हिड्ने र आफ्नै समूहबीचको राजनीति गर्ने र एक आपसबीच फुट ल्याउने गर्न थाले ।

अन्त्यमा जे नहोस भनेर कल्पना गरिएको थियो त्यहि भयो । एक प्रजाती र अर्को प्रजातिबिच भिडन्त कै स्थिति सिर्जना भयो । आफ्नै साझा वासस्थान तोडफोड गर्न लागे । उनीहरुले रुख लडाउन लागे । घाँस बुट्यान उखेल्न लागे । आगो लाउन लागे । उनीहरुको त्यत्रो परिश्रम र एकताले बनेको नहर पनि भत्काउन र पूर्न लागे ।

तर, आखिर त्यो सबै उनीहरुकै साझा सम्पति थियो, साझा घर थियो । त्यस जंगलको हरेक बस्तुमा उनीहरुको रगत र पसिना जोडिएको थियो, बाबुबाजेको मेहिनेतको फल थियो । तर उनीहरुले ति सब ध्वस्त बनाउन लागे । अब कसैलाई केहि नचाहिने झैँ गर्न लागे । आखिर उनीहरुलाई फेरि पनि बस्नु त त्यहि नै थियो । जंगलको राजा सिंहले स्थिति बिग्रदै गएको देखेर बृहत भेला गराउने निर्णय गरे । तर, भेलामा कोहि गएनन । स्थिति सुध्रने भन्दा नि झन झन् विग्रदै गयो ।

कसैले अव हाम्रो जाति बेग्लै बस्छौं भने । कसैले अर्को जातिलाई निकाल्छौं भने । एक आपसको हिंसाले विकराल रुप लिन लाग्यो । कतिले त जंगल छोडे पनि, कति अरु पनि छोड्ने तयारी गर्न लागे । “भाइ फुटे, गवार लुटे” भन्ने उखान उनीहरुले भुले ।

त्यहाँ भइरहेको द्वन्द र कलह नजिकै रहेको मानव समुदायले पनि थाह पाए । तिनीहरु एक आपसमा नै लडेर बसेका छन्, कमजोर भएका छन र मेलमिलाप सब भाडिएको छ भन्ने कुरा सुने । अव जंगल हडप्ने, ठूलो उद्योग कलकारखाना खोल्ने र मानव बस्ती बसाउने योजना बनाए ।

उनीहरु त्यहि योजना अनुरुप बन्दुक, गोला बारुद लिएर आए । कति आपसी हिंसामै मारीइसकेका थिए, कतिले जंगल छोडिसकेका थिए । बचेखुचेका थोरैले आधुनिक हातहतियारसहित आएका मानिसहरुसंग लड्न सक्ने सामर्थ्य थिएन ।
मानिसहरुले सबैलाई गोली हान्न लागे, कसैलाई पासोमा पारेर लान लागे ।
ढ्वाSSSSSSSSSग!!!

“आइSSSSSSSSSSSया” आफैलाई छातीमा लागेझैँ भयो ।

झसङ्ग ब्युझिए । चारैतिर अन्धकार र सुनसान थियो । भित्तेघडीको टिक टिक आवाज बाहेक केहि सुनिएको थिएन । ओर टेवलमा रहेको मोबाइल खोलेर हेरें २ बजेको रहेछ । शरीर पुरै पसिनाले भिजेको थियो । धत्त कस्तो नराम्रो सपना देखिएछ । हिजो मात्र टिकापुरमा घटेको त्यो कहालीलाग्दो घटनाले अवेरसम्म निन्द्रा लागेन । के के सोच्दै सुतिएछ । अहिले यस्तो पो सपना देखियो । पंखाको स्पीड अझै बढाएर खाटमा कोल्टे फर्किएँ अनि मनमनै सोचे, भगवान यस्तो स्थिति देशमा कहिल्यै देख्न नपरोस ।

 

यो लेख सेतोपाटी अनलाइनमा भाद्र १२, २०७२ मा प्रकाशित भएको थियो

http://archive.setopati.com/sahityapati/33049/

Post Tagged with , , ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com