Home » Recent articles » भोको राष्ट्रियता

बिहानको साँढे सात बजिसकेको थियो । मोबाइलको घन्टी बज्यो ।
“हेल्लो”
“रमेश, आज ९ बजे कलेज आइज है । समसामयिक विषयमा छलफल र अन्तरक्रिया छ । माथिबाट पनि मान्छेहरु आउने भनेकाछन ।”
“मेरो अर्कै काम छ फेरि, आउनै पर्ने हो र ?”
“मिलाएर आइज न, पार्टीको अबको कार्यक्रमको बारेमा नि छलफल हुन्छ होला ।”
“ल ल मिलेसम्म आउँला ।”मन नलागी नलागी पनि सिरक पल्टाउदै रमेश उठ्यो । एकफेर रुद्रघण्टी देखिनेगरि ठूलो हाई गर्यो ।
“शनिवारको दिन पनि सुख दिदैनन असत्तिहरु” सानो स्वरले मुरमुरियो । हातमुख धोईहोरी कलेज जान तयार भयो ।
साँची, आज त ग्यास बाड्ने दिन पो हो क्यारे । दुई हप्ता भयो कुपन लिएर लाइनमा राखेको । आज त जसरी नि लिनुपर्छ । समाचारमा दिनदिनै, यति बुलेट आयो भनेर भन्छ, कता लादारैछन कुन्नि । सबै नेता, ठुलाबडाको घरमा भाग पुराउने त होला नि । फेरि आफु नि तिनैका पछि लागेर भरौटे बनेर हिड्नुपर्याछ ।

दोश्रो सिलिन्डर पनि सकिएको आज दुई दिन भएको थियो । आधा सिलिन्डर नै भएपनि आज चैं जसरी पनि ल्याउनु छ । आफुले जसोतसो बाहिरै खाए पनि भयो । भाइको ११ को परिक्षा आउदै छ । पढ्ने बेलामा सधै बाहिर जाउ पनि कसरी भन्नु । उसैको लागि भए पनि आज ग्यासको जोहो नगरी भएको थिएन ।

यसो पुगेर फर्किहाल्ने मनासायले ऊ कलेजतिर लाग्यो । १५ मिनट कुर्दा पनि बस आएन । उसै त कम गाडी चल्ने यो रुट, अहिले बेला नि यस्तो छ ।

एकछिन पछि बल्ल एउटा गाडी आयो । भित्र खुट्टा टेक्ने ठाँउ थिएन । त्यै पनि गाडीवाला मान्छे धेकेल्दै भित्र पठाउदै थियो । ऊ छतमा चढ्यो ।

रमेश कलेज पुग्दा सबै जम्मा भइसकेका रहेछन । केहि माथिल्ला तहका विद्यार्थी नेताहरु नि आएका रहेछन । समसामयिक राजनीति, नाकाबन्दी र अहिले सिर्जित समस्याको विषयमा छलफल गर्ने कार्यक्रम रहेछ । सबैले आ-आफ्ना कुरा राख्ने भनेबमोजिम पालैपालो बोल्दै गए । हरेकले चर्का देशभक्तिको नारा निकाले ।

रमेशको बोल्ने पालो आयो । उसले पनि आफु भित्र रहेको राष्ट्रियताको भावलाई छरपस्ट पार्यो । देशलाई यो स्थितिमा पुराउन देशकै नेताहरुको पनि लाचारीपन र अयोग्यता रहेको कुरा बतायो । अब हामी आफै स्वावलम्बी बनेर देशलाई नयाँ उचाइमा लानुपर्ने कुरा उसले जोड दियो । नयाँ नयाँ कलकारखाना खोलेर देशमा रोजगारीको सिर्जना मात्रै हैन, निर्यात गरेर व्यापारमा अहिले भईरहेको घाटा कम गर्ने समेत भन्यो ।

इन्धनको लागि पनि अरु छिमेकी र तेस्रो देशसंग पनि सम्झौता गर्नुपर्ने कुरा बतायो । तर देशको सार्वभौमिकतामा बाह्य हस्तक्षेप अस्वीकार्य रहेको र कसैको सामु पनि झुक्न नहुने कुरामा जोड दियो ।

तर ति सबै कोरा भाषण मात्रै थिए । उनिहरुसंग त्यो तहमा पुग्न न त कुनै योजना थियो न त कुनै कार्यक्रम । उनीहरु केवल भाषणका लागि मात्र भाषण गर्दैथिए ।

कार्यक्रम सकिदा १ बजीसकेको थियो । कलेजकै क्यान्टिनमा खाना खाएर ऊ कोठातिर लाग्यो ।
कोठामा पुगेपछि सिलिन्डर लिएर डिपोतिर गयो । जति नै ठुला भाषण गरे पनि, जति नै चर्का देशभक्तिका नारा लगाएपनि आखिर भोको पेटलाई राष्ट्रियताको भोजनले भर्न नमिल्ने रहेछ । न टुडीखेलबाट साइकल चढ्छु भनेर भाषण गर्नेले साइकल चढे न अव हामे स्वावलम्बी बन्नुपर्छ भन्ने रमेशले त्यतातिरको बाटोबारे सोच्यो ।

कुपन नं ४३ म उसको नाम थियो । अघिल्लोपटक ४० जना पछाडी परेकाले उसले ग्यास पाएको थिएन । त्यहिबेलामा उसलाई यो कुपन दिइएको थियो । आज त्यो डिपोबाट २०० सिलिन्डर वितरण हुने जानकारी उसले हिजो नै थाहा पाएको थियो ।

डिपोमा पुग्दा ऊ अचम्ममा पर्यो । ऊ त्यहाँ पुग्दा त न त कुनै लाम थियो, न कुनै भिडभाड । भित्र डिपोको साहुनीलाई सोध्न गयो । हिजो बेलुकीनै ग्यास झारिसकेको र हिजै राती बाडेर सकिएको कुरा उनले बताइन ।
ऊ तीनछक पर्यो, र भाउन्न भयो । आज बाडिने भनेर सूचना समेत निकालिएको ग्यास हिजै बाडेर सकिनु, अगाडी उसको कुपनको भाग अकैले लैजानु । आखिर यो देशमा जसले जे गरे नि चल्नेरहेछ ।

उसले आफ्नो कुपन देखायो, तर अव त्यसको कुनै अर्थ थिएन । उसको भागको ग्यास त अर्कैले लागिसकेको थियो ।
ठुलालाई सधै चैन र मस्ती हामी सानालाई सधैको सास्ती । न त मधेसमा सयौ दिनदेखि लडिरहेका ति सोझासाझाले केहि पाउछन न त यस्तो दुख कस्ट सहिरहेका काठमान्डौका जनताले । आखिर सबै यी नेताहरुकै कुर्सीको लडाई त हो नि । कति आन्दोलन भए, कति जनता मरे, ति सबैलाई नेताहरुले कुर्सीमा जाने भर्यांगशिवाय के नै बनाए र । मनमनै सोच्दै ऊ गह्रौं मन र हिनताबोधको साथ रित्तो सिलिन्डर काँधमा बोकेर कोठातिर फर्कियो ।

स्टोभ बाल्न बन्देज गरेको घरपेटीले दाउरा बाल्न दिने त कुरै भएन । यस्तो संकट र महंगीको बेलामा बाहिर होटलमा खान पनि निकै गाह्रो थियो । आफु त जसोतसो खाइएला । उसलाई परिक्षा नजिकिदै गरेको भाइलाई पनि खुवाउनु थियो ।
घर फर्कदा ४ बज्न लागेको थियो । हिजो देखि हराएको बत्ती अझै कैले फिर्ने हो टुंगो थिएन । अर्को टोलमा ट्रान्सफर्मर पड्केको छ अरे । समस्या नै समस्याको थुप्रोमा उ हराएको थियो, बाटो बिराएर अनकन्टार जंगलमा अलमल परेको यात्री झैँ ।

धारामा पानी आउने पालो पनि आजै थियो । तीन दिनमा आज आउने पानी । ऊ पानी थाप्न गयो ।
भाइ मधुरो प्रकाशमा पढिरहेको थियो । उसले दिनभरीको आफ्नो दिनचर्या सम्झ्यो । दिउसो कलेजमा गरेका ठुला गफहरु, आत्मनिर्भर बन्ने सपना, तर न कुनै योजना न कुनै कार्यक्रम । आखिर ति नेताहरु र हामी युवामा के फरक रह्यो र । हाम्रो देशको प्रगति नहुनुमा हामी आफै सबैभन्दा ठूलो जिम्म्मेवार हौँ ।

कुनै पार्टीको पछाडी लागेर त्यसको राम्रो नाराम्रो सबै कार्यहरुमा एकोहोरो सही थाप्छौँ । भ्रस्टाचार, दण्डहिनता, गैरजिम्मेवारीपन आदि सबैलाई प्रशय त हामीले नै दिईराखेका छौं । केहि सानो काम गर्नलाई भनसुन, घुसखोरीको पछि त हामी नै लागिरहेका छौं । मेरो चिनजानमा कोहि प्रहरी वा ठुला मान्छे भएका भए त मैले हिजो नै ग्यास पाईहाल्थें ।

हामीले केवल गफ गर्यौ, सपना देख्यौं तर काम गर्नेबेला नै हामी चिर निन्द्रामा निदायौं । हो. दोषी हामी नै हौँ । उसले मनमनै सोच्यो ।

खाटमा पल्टदै कानमा इयरफोन लगायो अनि एफ. एम. खोल्यो । आज हुने भएको वार्ता पनि सकारात्मक तर विना निष्कर्ष टुंगिएछ ।

थोरै चार्ज बाकि रहेको मोवाइलामा फेसबुक खोल्यो । उसगै प्लस टु पढेका साथीहरु विदेशमा झिलीमिली बत्ती र क्रिसमस ट्रीको अगाडी क्रिसमस मनाउदै गरेको फोटो राखेका थिए ।

उसलाई पनि भिसा एप्लाई गर्न धेरैले कर गरेका थिए । तर उसले आफ्नो गाँउ ठाँउ चटक्क छोडेर जानुभन्दा यतै केहि प्रगति गरेर उदाहरण बन्ने लक्ष्य लिएको थियो । तर आजको घटनाक्रमले आफ्नो त्यो निर्णय सहि थियो या गलत एकपटक फेरि सोच्न बाध्य बनायो ।

सुत्नु अगाडी मैनबत्तीको मधुरो प्रकाशमा साथीको झिलीमीली फोटोमा कमेन्ट गर्यो, “मेरी क्रिस्टमस यार” ।
कालो अन्धकारपछि अवश्य नै उज्यालो विहानी आउछ भन्ने विश्वास राख्ने रमेश भोलिको छाकको जोहो कसरी गर्ने भन्ने सोच्दा सोच्दै निदायो ।

 

यो लेखा सेतोपाटी अनलाइनमा पौष १३,२०७२ मा प्रकाशित भएको थियो ।

http://archive.setopati.com/sahityapati/38742/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com