Home » Recent articles » भूकम्प पछिको स्वास्थ्य

धादिंगवेसी देखि करिव डेढ घण्टाको दुरीमा रहेको एउटा गाउँ – जुरेथुम । गुरुङ बस्तीको बाहुल्यता रहेको सो गाँउ सदरमुकाम नजिकै रहेर पनि बत्ती मुनिको अध्यारो झैँ रहेको छ । गत वैसाख १२ को विनासकारी भूकम्प गएको करिव १ महिना पछि पुग्दा त्यो सुन्दर गाँउ निकै अस्तव्यस्त रहेको थियो ।

केहि राहत सामाग्री र सामान्य प्राथमिक उपचारका औसधीहरु मात्र लिएर गएका हामी त्यहाँ पुगेपछि गाँउलेहरु ठूलो आश बोकेर भूकम्प अघि तथा पछिका विभिन्न स्वास्थ्य समस्याहरु लिएर उपचारको निम्ती आए । तीन दीनदेखि पेट दुख्ने र खान मन नलाग्ने समस्या बताएका एक १० वर्षका बालकले त्यसैबेला बान्ता गरे । उनको बान्तामा जुका देखियो । आवश्यक उपचारको निम्ती सो बालकलाई सदरमुकाममा रहेको जिल्ला अस्पताल पठाउने व्यवस्ता गरियो । भूकम्प पछि सरसफाईमा वेवास्ता र खानेपानीको स्रोतमा भएको संक्रमणले निम्त्याएको परिणाम हुनसक्ने हाम्रो ठम्म्याई थियो ।

सिमित स्रोत र साधनका साथ गएका हामीले त्यहाँ केहीबेरको बसाइले ल्याउन सक्ने ठुलै परिवर्तन त केहि थिएन । महामारी फैलने सक्ने पानीजन्य रोगहरुको बारेमा जानकारी र त्यसबाट बच्न अपनाउनुपर्ने विधीहरुका साथसाथै भूकम्प पछि आम मानिसहरुमा परेको मानसिक असर र त्यसबाट छुट्कारा पाउने तरिकाहरुको सम्बन्धी केहि जनचेतनामुलक शिक्षा दिएर फर्कियौं । साथसाथै जिल्ला अस्पताल लानुपर्ने दुइटा बिरामीहरुलाई त्यहाँसम्म लाने व्यवस्था मिलायौं ।

माथिको बस्तुस्थितिको वर्णन गरिरहदा यो देशैभरी देखिएको साझा समस्याको एउटा प्रतिनिधी घटनामात्र हो । निश्चय नै बैसाख १२ गतेको महाभूकम्पले देशको सम्पूर्ण संयन्त्रलाई असर परेको छ । स्वास्थ्य क्षेत्र पनि त्यसबाट अछुतो छैन । मानिसको जीवन र मरणसंग प्रत्यक्ष सरोकार राख्ने निकै संवेदनशील विषय भएर पनि स्वास्थ्य क्षेत्रमा परेको प्रभावको लेखाजोखा गर्न जरुरी देखिन्छ ।

भूकम्प पछि स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाको भौतिक संरचनामा भएको क्षतिले गर्दा त्यसले प्रदान गर्नु पर्ने सेवामा प्रत्यक्ष असर परिरहेको छ । अस्थाई पालबाट सेवा दिदा प्रभावकारी नहुने कुरा त छदैछ, औसधी लागायतका उपकरणहरुमा पनि यसले असर गरिरहेको छ । स्वास्थ्य संस्थाहरुको भौतिक संरचनाहरुको पुनर्निर्माण जुन तदारुकताका साथ हुनुपर्ने हो, त्यो पनि हुन सकेको छैन । जाडो मौसम सकिएसंगै अब चल्ने हावाहुरी र आउने वर्षायाममा आउनसक्ने स्थितिको पूर्वतयारी अहिलेनै गर्नुपर्ने देखिन्छ ।

भूकम्प प्रभावित धादिंग, नुवाकोट लगायतका जिल्लाहरुको भ्रमण र त्यहाँ सन्चालन गरिएका स्वास्थ्य शिविरमा जाँदा आम मानिसहरुको स्वास्थ्यमा यसले विकराल समस्या ल्याएको देखियो । विशेषत बृद्दवृद्दा, बालबालिका र गर्भवती महिलाहरुले सकस व्यहोरीरहनुपरेको छ । चिसोको कारणले केहि भूकम्पपिडितहरुको मृत्यु भएको समाचार समेत आइसकेको छ ।

बच्चा र बृद्दवृद्दाहरुमा रोगसंग लड्ने क्षमता कम हुने भएकाले र पहिलेदेखि भएका स्वासप्रस्वासका रोगहरु बल्झिने कारणले तथा न्यून तापक्रममा कठ्यांग्रिएर भूकम्पपिडितहरुले मृत्युवरण गर्न परिरहेको छ ।

भूकम्प र यसपछिको लगातारका परकम्पको कारणले आम मानिसहरुमा परेको मनोबैज्ञानिक त्रास र मानसिक असर पनि भूकम्प पछिको स्वास्थ्यमा पर्न गएको एउटा चुनौती हो । बालबालिकाहरुमा पर्न जाने यस्तो असरले पछि उनीहरुको व्यक्तित्व विकासमा नै नराम्रो असर पर्न सक्छ । भूकम्प लगायतका अन्य प्रकोप पछि आत्तिने, टोलाउने, डराउने, काप्ने, निन्द्रा नलाग्ने जस्ता मानसिक समस्याहरु देखिएमा मनोचिकित्सकसंग परामर्श लिएर सोहीअनुसार उपचार गर्न जरुरी हुन्छ ।

स्वास्थ्य शिविरकै क्रममा नुवाकोटको मदानपुर गा. वि. स. पुग्दा एकजना ६ बर्षको बालक जन्मजात हुने हर्नियाबाट पिडित रहेछन । चेतनाको कमी र हेलचेक्र्याईले गर्दा त्यस्तो समस्या हुँदा पनि स्वास्थ्य संस्थामा गएर जचाएका रहेनछन । भूकम्पबाट घर पूर्णरुपमा भत्केको र आयस्तर निकै निम्न रहेको उक्त दलित परिवारले आफ्नो छोराको स्वास्थ्यको वारेमा सोच्न भ्याएका थिएनन ।

शिविर आयोजकको पहलबाट उक्त बालकको काठमान्डौको एक अस्पतालमा सहुलियत शुल्कमा अपरेसनको व्यवस्था मिलाउदै गर्दा भूकम्पबाट भएको क्षतिले र अन्य कठिनाइँले स्वास्थ्यलाई प्राथमिकता भन्दा बाहिर पारेको कुरा प्रस्ट बुझ्न सकिन्थ्यो ।

भूकम्पपछि घाइतेहरुको उपचार र व्यवस्थापनको निम्ती अस्पताल, अन्य स्वास्थ्यसंग सरोकार राख्ने संस्थाहरु तथा स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको सबैले प्रशंसा गर्नैपर्छ । पूर्वतयारीको कमी भएता पनि थोरै स्रोत र साधनमा देशको स्वास्थ्य सेवा प्रदायिक संस्थाहरुको क्षमताले भ्याएसम्म योगदान गरेको कुरालाई नकार्न सकिदैन ।
समग्रमा भूकम्पले स्वास्थ्य क्षेत्रमा पारेको असरको मुल्यांकन गर्दै अहिले भएका कमीकमजोरीबाट शिक्षा लिएर अगाडी बढ्ने हो भने आउने दीनहरुमा यस्ता प्राकृतिक प्रकोपबाट मानव स्वास्थ्यमा हुने हानी कम गर्न सकिन्थ्यो । साथै अहिले भूकम्प पछि अस्तव्यस्त बनेको स्वास्थ्य क्षेत्र र यसका विभिन्न संयन्त्रहरुलाई पहिलेकै स्थितिमा पुराउन यस क्षेत्रसंग प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्नेहरुले जतिसक्दो चाडो पहलकदमी लिएर हातेमालो गर्दै अगाडी बढ्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com