Home » Recent articles » बाटोमा मकै पोल्ने अामा…

हस्पिटलबाट कोठातिर फर्कदै थिएँ। चर्को घाम र निथ्रुक्क भिजाउने पसिना, १० मिनटको बाटो पनि आज किन किन लामो लागिरहेको थियो।

“ल आउनुस, तात्तातो मकै, ताजा मकै” बाटोको पारीपट्टी एउटा कुनामा बुढी बज्यै बर्बराउदैथिइन। ओहो, मकै खाने बेला पो हो क्यारे है आजभोलि त। घरबाट टाढा बसेपछि यस्ता कुराहरु पत्तै नहुने। सानो छँदा बारीबाट मकैका घोगा आफै भाँचेर ल्याइन्थ्यो। अँगेनामा ढुङ्ग्रोले फू फू गर्दै चिम्टाले ओल्टाई पोल्टाई आफै पोलेर खाइन्थ्यो।

समय र परिस्थतिसंगै सबै कुरा बदलिदो रहेछ, ति सम्झनाहरु त केवल अब स्मृतिका पानाहरुमा मात्र सिमित छन्। मनमनै सोच्दै बाटो पारी गएँ।

“मकै खाने हो छोरा? बिहान भर्खर बारीबाट ल्याएको, ताजा मकै।” बज्यैले आफ्नै छोराझैँ बोलाएको देखेर मनमा कता कता वर्षौ देखिको परिचित आवाजले बोलाएझैँ लाग्यो।

“खाने हो बज्यै, दुईओटा दिनुहोस त”

बज्यैले पहिल्यैदेखि पिल्साइराखेको दुई घोगालाई कोइलामा राखेर कार्डबोर्डले हम्किन लागिन।

“के सारो गर्मी बढेको है बज्यै”, मैले नजिकैको पर्खालमा आड लगाउदै भनें।

“त्यै त बाबु, यसपाली त असार लाग्न लाग्दा पनि वर्खा सुरु भएन, यसो पानी परे अलीक शितल हुन्थ्यो कि।”

“बज्यैको घर कता नि?”

“पर्वत हो बाबु, ऐले ऊ पर डेरामा बस्छु”

मैले अरु केहि यस्तै सामान्य प्रश्नहरु गरें।

“ल लिउ बाबु” बज्यैले दुई घोगा मकै पत्रिकामा बेरेर म भएतिर लम्किइन। नुन खुर्सानीको धुलो पनि अर्को कागजमा पोको पार्दिइन । एउटा त्यहि बसेर छोडाउदै खान लागेँ। धेरै पछि खाएको पोलेको मकै, औधी मिठो मानेर खाएँ।
बज्यैले पनि कता बस्ने के गर्ने भनेर सोध्न थालिन। गफ गर्न सिपालु रहीछिन। बोलिमा पश्चिमेली लवज प्रष्ट झल्किन्थ्यो।

“मेरो पनि बाबु जस्तै नाति छ एउटा, ऐले काठमाण्डौमा पढ्छ।” बज्यैले आफ्नो नाति सम्झीइन।

“गफ पनि मकै जस्तै मिठो गर्नुहुदों रहेछ, ल त ऐले लागेँ है बज्यै।”

पैसा दिएर अर्को मकै छोडाउदै म कोठातिर लागेँ ।

भोलिपल्ट पनि बज्यैसंग त्यहि बाटोमा भेट भयो। मकै खाएँ, गफ गरें अनि फर्किएँ। ति बुढी बज्यैमा किन हो मैले आफ्नै कोहि नजिकको मान्छे झैँ आभास पाएँ। निकै पुरानो नाता जसरी ति बज्यैसंग कुरा हुदै गयो। सायद बज्यै पनि एक्लै बस्ने र आफ्नो नातिको नियास्रोले होला, मलाई आफ्नो नातिको रुपले हेर्न थालिन।

अरु दीनहरु पनि हस्पिटलबाट फर्कदा बज्यैसंग एकछिन गफ गर्थें, अनि मकै खादै फर्कन्थें। बज्यैसंग एक प्रकारको मित्रता नै गाँसीइसकेको थियो।

बज्यैलाई दम र सास फेर्न गाह्रो हुने रोग रहेछ। नहोस पनि कसरी, दीनभरी बाटोको छेउमा धुँवाधुलो, त्यो पनि यस्तो चर्को घाममा। उनको चुरोट खाने वानी पनि रहेछ। सानो छँदा बुबाले सुल्फामा तमाखु सल्काएर ल्याईज भन्दा तान्न सिकेको अरे। पछि गएर चुरोटकै वानी परेछ।

“चुरोट छोड्नुस बज्यै, यसरी त गाह्रो हुन्छ तपाईलाई।”

“क्यार्ने बाबु, तलतल लागिरहन्छ। छोरा, नातिनातिना छोड्न सकियो बरु, यो छोड्न सकिएन।”

पहिले-पहिले त दीनको एक बट्टा सकाउन्थिन अरे, आजकाल मैले भन्न थालेपछि अलिक कम गरेको छु भन्दैथिइन।
फाइनल इयरको पढाइ सकिएकाले विदा भयो। अव कोठामै बसेर परीक्षाको तयारी गर्नुपर्ने थियो। एक दुई दीन यसो घरतिर गएर फ्रेस भएर आउनुपर्ला भनेर काठमाण्डौ तिर लागेँ।

एक हप्तापछि फेरि पोखरा फर्किएँ। भोलिपल्ट हस्पिटलबाट फर्कदै गर्दा ति बुढी बज्यै बस्ने ठाँउमा कोहि थिएन । मनमनै कहाँ गइछिन ति बुढी बज्यै भनेर सोचें।

हुन त आजकाल मकै पाउन नि छोड्यो क्यारे, अन्तै कतै केहि गर्न लागिन भन्ने लाग्यो। त्यसपछि दश पन्ध्र दीन लगातार त्यो बाटो हिड्दा पनि बज्यैलाई कहिल्यै देखिन।

एकदीन हस्पिटलको लाइब्रेरी बसेर पढ्दैथिएँ। यसो केहि नयाँ केसहरु छ कि भनेर साथीले वार्ड डुल्न जाउँ भन्यो।
आ इ सीयुको कुनाको बेडमा एउटा परिचित अनुहार स्थिर भएर पल्टिरहेको थियो।

एकजना बुढी आमै, मुखमा अक्सिजनको मास्क अनि देव्रे हातमा सलाइन को सुइ। नजिकैको स्ट्याण्डबाट औसधीको थोपा तप्प तप्प चुहिदै थिए र ति पाइप र सुइ हुदै ति बुढी आमैकोको शरीरमा पसी उनलाई जीवित तुल्याउदैथिए। उनी अरु कोहि नभएर उही बुढी बज्यै थिइन।

बज्यै गहिरो निन्द्रामा हुनुहुन्थ्यो। हात, खुट्टा र पुरै शरीर सुन्निएको थियो। धन्न मोनिटरमा मान्छेलाई जीवित देखाउने धर्साहरु तल माथी गर्दैथिए। मेसिनको टीट्- टिट् आवाजले मेरो मुटुको ढुकढुकीको गति बढाएको थियो । मलाई एक्कासी भाउन्न भयो।

फाइल पल्टाएर हेरें। रोगको नाममा लेखिएको थियो – “सि. ओ. पी. डी. विद राइट हर्ट फेलर” । दम बढेर मुटुले पनि काम गर्न नसक्ने अवस्थामा पुगेको रहेछ। आइ सी यु मा भर्ना भएको तेस्रो दीनसम्म पनि खासै उल्लेखनीय प्रगति भएको रहेनछ।

लामो सास फेर्दै बज्यैको हात समाएँ। उनले बिस्तारै आँखा खोलिन र म भएतिर हेरिन। केहि बोल्ने कोशिस गरिन, तर उनको वाक्य फुटेन। आँखा रसिलो बनाउदै उनि केहिवेर मलाई हेरेर टोलाईरहिन र मुस्कुराउन खोजिन।

मान्छेहरु विरलै पिडामा पनि मुस्कुराउन सक्छन, साच्चै मनमा आँशुको भंगालो लिएर ओठमा मुस्कुराउन ठुलै साहस चाहिन्छ। वास्तवमै ति बुढी बज्यै साहासी थिइन। म भक्कानिएर वाहिर निस्कें।

भोलिपल्ट बिहान आइ सी यु जाँदा त्यो बेड खाली थियो। हतारहतार यताउति हेरें। एउटा सेतो कपडाले छोपिएको शव अस्पताल बाहिर निकालिदै थियो। नर्सलाई सोधेर थाहा पाएँ, त्यो तिनै बज्यैको भौतिक शरीर थियो। मैले गह्रौं मनका साथ ति बज्यैलाई सदाको लागि बिदाइ गरें।

जिन्दगीमा भेटिने कतिपय मानिसहरु आफूबाट टाढा भए पनि मानसपटलमा उनीहरुको स्मृति सधै ताजा रहिरहन्छन, सायद मनको एउटा कुनाको सानो ठाँउमा तिनै स्मृतिहरु अमिट छाप बनेर कहिल्यै नमेटिने गरि बसेका हुन्छन।

Post Tagged with , , ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com