Home » Recent articles » ती गुरूङ दाइ र बुढी बज्यैको मुहारको खुसी!

घटना १:

वैसाख १२ को भुकम्प पछिको चौथो दिनमा गोरखाबाट हेलीकप्टरमा उद्दार गरेर पोखरा ल्याइएका गुरुङ थरका एक युवक अस्पतालको बेडमा पल्टिरहेका थिए । निधारमा घाउको खत र हातमा प्लास्टर लगाएका उनको अनुहार निन्याउरो थियो ।

बाख्रा चराउन जाँदा कम्पनले ल्याएको ढिस्कोले पुरिएका उनि कुन स्थितिमा पोखरासम्म आइपुगे सम्झन सकिरहेका थिएनन । आफ्नै आँखा अगाडी भूकम्पले विध्वंस पारेको आफ्नो गाँउको सचित्र तस्विर देखेका उनि अपरेसनपछि भने विस्तारै फिर्दैथिए ।चाँडै सन्चो भएर फेरि गाँउ फर्कने र आफ्नो गाँउलाई पहिलेको जस्तै बनाउन लागिपर्ने उनको धोको थियो ।

घटना २:

“भुइचालोले त बाचियो, अव भोकमरीले मरिएला जस्तो छ बाबु, धान मकै भएभरको अन्न जति सबै त्यहाँ करेसामा उम्रिरहेको छ ।” बज्यैले निन्याउरो अनुहार पार्दै पर देखाइन ।
उनको कुरा सुनेर म त्यो भत्किएको घरको पछाडीपट्टि लागेँ । नभन्दै करेसामा धान, मकै भर्खरै टुसाउदै रहेछ ।
“चिन्ता नलिनुस आमा । सरकार छ, हामी छौं केहि गरिहाल्छौं नि ।” बज्यैलाई केहि ढाडस दिदै म अर्को घर लागेको थिएँ ।
करिव ४० घरधुरी रहेको अचनेटार गाँउमा कुनै घर सग्लो थिएनन, त्यस गाँउमा मात्रै ४ जनाको मृत्यु भएको थियो । गम्भिर घाइते कोहि नभएपनि केहीलाई साधारण चोटपटक लागेको थियो । गाँउलेहरु आउनै लागेको वर्षा र हावाहुरीले त्यो भएको पाल पनि उडाउने त्रासमा थिए । कोहि भने भत्केको घरको जस्तापाताले अस्थाई टहरा बनाउदैथिए ।
भूकम्प गएको करिव एक महिना पछि म आफ्नो जन्मथलो त्रिपुरेश्वर, धादिंग पुग्दा त्यति सुन्दर त्यो गाँउ खण्डहर बनेको थियो । यो दृश्य केवल अचनेटारको मात्र थिएन, भूकम्प प्रभावित जिल्लाहरुको अधिकांश गाँउहरुको स्थिति एकै थियो ।

***

वैसाख १२ को विनासकारी महाभूकम्प पछि एक वर्ष वितिसकेको छ । अहिले सम्झदा त्यतिखेरका यी केवल प्रतिनिधी घटनाहरु मात्र हुन् । यस्ता कयौ घटनाक्रमहरु हरेक नेपालीको मानसपटलमा अझैँ पनि ताजा बनेर बसेका छन ।

भूकम्प पछिको एक वर्ष वितिसक्दा ति गुरुङ युवक र बुढी बज्यैले आरामको सास फेर्न पाएका छन् त ? अहँ, भूकम्पले बनाएको कहिल्यै निको नहुने त्यो घाउमा अझै पनि खाटा बस्न सकेको छैन ।

यो भूकम्प यो हाम्रो पुस्ताको निम्ती नै एउटा दुखद अविष्मरणीय घटना रह्यो । धेरैले आफन्त र पुर्खौ देखि वस्दै आएको घरवार र वासस्थान गुमाउनु पर्यो ।

हामीले पुर्खाहरुको नासोको रुपमा पुरातात्विक महत्वका संरचना गुमाउन पुग्यौं । धरहरा ढल्यो । कति सुन्दर गाँउहरु कुरूप र उजाड बने । पानीका मुहानहरु सुके, पहिरो गए । विगतको एक वर्षका घटनाक्रमहरु वास्तवमै हामी हरेकको मनमा कहिल्यै निको नहुने घाउको रुपमा वसेको छ ।

भूकम्पले दिएको पिडा त छदै छ, त्यसपछिका दीनमा हुनुपर्ने राहत र पुनर्निर्माण जुन गतिले हुनपर्ने हो, त्यो हुन सकेन । जाडोमा न्यानो लुगाको अभावमा पनि कति भूकम्पपिडितले कठ्यांग्रिएर ज्यान गुमाउनु पर्यो । राजनैतिक अस्थिरता र नाकाबन्दीको मारमा भूकम्पपिडितहरुले कहिल्यै नगरेका सजायका भागीदार बन्न पुगे ।

अझै पनि भूकम्पपिडितहरुको अवस्था उस्तै दयनीय छ । अस्थाई टहराबाट स्थाई वासस्थानमा कहिलेसम्म सर्न सकिन्छ केहि टुंगो छैन । सरकारले दिने भनेको सहुलियत ऋण र प्राविधिक सहयोग भूकम्पपिडितले उपयोग गर्न पाएका छैनन । दाता सम्मेलनबाट घोषणा भएको विदेशी सहायता वास्तविक भूकम्पपिडितमाझ पुग्न सकेको छैन ।
यहि रफ्तारले अघि बढ्ने हो भने यी समस्याका गुजुल्टोहरुबाट फुत्कदै फेरि पहिलेको स्थितिमा फर्कन हामीलाई निकै वर्ष लाग्नेछ ।

भूकम्प पछिका दीनहरुमा विशेष गरि युवा जमातले जुन पहल कदमी देखाएर उद्दार र राहतमा एकजुट भएर लागे, त्यसको भने प्रसंशा गर्नैपर्छ । विश्वभर छरिएर रहेका नेपालीहरुको सहानुभूति र सहयोगले भूकम्पपिडितको घाउमा थोरै भए मलम लगाउन सहयोग गर्यो । देश भित्र र देश बाहिरका सबैले आफ्नो तवरले आफ्नो ठाँउबाट सक्ने सहयोग गरे, त्यो निश्चय नै सराहनीय छ ।

भूकम्पले विनाशमात्रै हैन, हामीलाई गतिलो पाठ पनि सिकाएर गएको छ । हाम्रो पुस्ताले सिकेको यो पाठले आगामी पुस्ताका सन्ततीहरुको लागि एउटा सुनौलो उपहार हुन सक्छ । भूकम्प प्रतिरोधात्मक भौतिक संरचना, व्यवस्थित शहरीकरण, भूकम्पको पूर्वतयारी र आम जनचेतना हामीले सिकेका पाठ र अवलम्वन गर्नैपर्ने उपायहरु हुन् ।
कमजोर भौतिक संरचना र के नै भइहाल्छ र भन्ने मानसिकताबाट हामी सुध्रिएनौ भने आगामी पुस्ताले यो भन्दा बढी क्षति व्यहोर्नुपर्ने कुरा प्रस्ट छ ।

अझै पनि ढिला भैसकेको छैन । पुननिर्माणको कार्यलाई रफ्तारले अगाडी बढाउने, विदेशी सहायताको सहि सदुपयोग, नियमन गर्ने र आमा जनताले त्यसको खबरदारी गरिरहने हो भने भूकम्प व्यवस्थित विकास निर्माण र शहरीकरणको लागि नयाँ सुरुवात हुन सक्छ ।

पुननिर्माणलाई अवसरको रुपमा प्रयोग गर्न सकियो भने भूकम्पले खुसी हराएको त्यो गुरुङ दाइ र ति बुढी बज्यैको मुहारमा चाँडो हाँसो फिर्ता ल्याउन सकिन्छ ।

यो लेख सेतोपाटी अनलाइनमा बैसाख १२, २०७३ मा प्रकाशित भएको थियो ।

http://archive.setopati.com/blog/45601/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com