Home » Recent articles » ति भर्खर जन्मिएकी छोरी….

सधैझै प्रसुति कक्षको अगाडी आज पनि उस्तै भिडभाड थियो । नौ बज्न केहि समय बाकि थियो, प्रसुति वार्डमा हिजो भर्ना भएका विरामीहरुको अवस्था खरर हेरेर भ्याएँ ।

सवा नौ बजेतिर बिहानको राउण्ड भयो । विरामीहरुको अवस्था हेरेर कसैलाई कुनै औसधी चलाउने, कसैलाई डिस्चार्ज गरेर घर पठाउने, कसैलाई भिडियो एक्स रे पठाउने निर्णय भयो । राउण्ड सकिएपछि म फेरि एकपटक सबै विरामीको फाइल फेरि हेर्न थालें ।

प्रसुती वार्डमा सबैलाई सधै हतार भइरहेकोहुन्छ । सुत्केरीहरु भर्ना हुने, बच्चा जन्माउने र अर्को वार्डमा सरिहाल्ने भएर विरामीहरुको आउने जाने भईरहन्छ । पेटमा बच्चा रहेको आमाहरुलाई बच्चा जन्माउनको हतार, बुबाहरुलाई आफ्नो छोराछोरीको हाँसो देख्न हतार भने हजुरआमाहरुलाई नाति नातिनाको अनुहार कोसंग मेल खाने पत्ता लगाउनको हतार ।

अनि डाक्टर-नर्सहरुलाई विरामीको अवस्था ठिक भए नभएको जाँचीरहन हतार र कुनै समस्या देखिए वा तुरुन्त अपरेसन गर्नुपर्ने भए त्यसको तयारीको हतार ।

“सिस्टर, बेड नम्बर ६ को विरामीको आज फेरि सिन्टो स्टार्ट छ है” मैले जानकारी गराएँ ।

“हवस्, डाक्टर” उताबाट जवाफ आयो ।

बेड नम्बर ६ को विरामीलाई हिजो बिहान व्यथा बढाउने औसधी सुरु गरेर बेलुका रोकिएको थियो । बिहान जाँच गरेपछि म्याडमले आज फेरि त्यो औसधी सुरु गर्ने भन्नुभएको थियो । म त्यहि बेडतिर लागेँ ।

“दीदी, अहिले कस्तो छ तपाइँलाई ?”

“ठिकै छ”, उहाँले सानो आवाजले मलिनो स्वरमा जवाफ फर्काउनुभयो, “पेट अच्चकाली दुखिरहेको छ ।”

सिक्लेस नजिकैको गुरुङ गाँउबाट आउनुभएको उहाँको अनुहारमा त्यति चमक थिएन । हिजो देखिको पेट दुखाइले उहाँको मुहारको कान्ति हराएको थियो । रगतको कमी भएर होला, अनुहार पनि सेतो थियो ।

प्रसवको दुखाइ हामीलाई अनुभव हुने असह्य दुखाइहरू मध्यको एक हो । नौ महिनासम्म गर्भमा राखेर असह्य पिडापछि जन्म दिएको बच्चाको मुहार देखेपछि हरेक आमाहरु खुसीले भावविह्वल हुन्छन । अघिसम्म झरेको पीडाको आँशु त्यतिबेला खुसीको आँशुमा बदलिन्छ । त्यसैले हरेक आमाहरु महान छन, जसले सृष्टिको यस शास्वत सत्यलाई आदिम कालदेखि सहर्ष शिरोपर गरिरहेका छन् ।

म त्यहि बेड नम्बर ६ को विरामीको फाईल पल्टाएर हिस्ट्री हेर्न थालें । ३५ वर्ष हुनुभएको उहाँको घरमा तीनओटी छोरी रहेछन, पहिलो दश, दोश्रो सात र तेस्रो चार वर्षको ।

घरमा तीनबटा छोरीहरु हुँदाहुँदै फेरि चौथो बच्चा जन्माउन खोज्नु हाम्रो जस्तो समाजमा अझै पनि त्यति अनौठो कुरा भएन । चार वर्षपछि फेरि प्रसव पिडामा जानुभएकी उहाँको मुहारमा एउटा वेग्लै थकान प्रष्ट झल्किन्थ्यो ।

दिउसो खाना खाइओरी फर्किएँ । मेरो आँखा सोझै बेड नम्बर ६ तिर गयो । बेड खाली थियो । विरामीलाई प्रसुती गराउने कोठामा भर्खरै लगिएको रहेछ । हतार हतार म पनि कोठाभित्र छिरें ।

प्रसुति कक्षमा हुने चिच्चाहट र त्यो भिन्दै माहोलसंग म अभ्यस्त हुन थालीसकेको थिएँ । प्रसवको एउटा स्थितिमा पुगेपछि कतिपयले हार मान्छन र अपरेसनमा लैजान अनुनय गर्छन । तर सृष्टिको अनुपम खेल भन्ने कि प्रकृतिको नियम यहि स्थितिलाई चिरेर प्राय नारीहरु अघि बढेका हुन्छन ।

नजिकै उभिरहेको मलाई उनले बेस्सरी समातिन र अन्तिम चोटि बल गरिन ।

“च्याssssssssss…….”

एउटा नयाँ जीवनको सुरुवात भयो । यहि पहिलो सास र अन्तिम सास विचको त्यो उतारचढाव नै त जीन्दगी हो ।

“बधाई छ दीदी” मैले उनीतिर हेर्दै भनें, “अव त सकिहाल्यो नि, अघि त्यसै आत्तिनुभएर”
उनले जवाफ फर्काइनन ।

“के भयो?” उनको प्रश्नले मेरो मन झसङ्ग बनायो ।

मेरो भन्दा पहिल्यै उनको आँखा हिटरको न्यानोमा रोइरहेको बच्चातिर गइसकेको थियो ।

“बधाई छ दिदि, तपाइको छोरी भएको छ” उताबाट सिस्टरको आवाज आयो ।

यो वाक्यभन्दा पहिले नै उनले त्यो सत्य थाहा पाइसकेकी थिइन् । कुनै प्रतिक्रिया नजनाई उनि उता फर्केर आँखा टिलपिल पार्न थालिन ।

म अवाक भएँ । प्रसुति कक्षमा रहेका हामी सबै चुप भयौं । आफूजस्तै अर्को छोरीलाई जन्म दिँदा कुनै आमा यतिसम्म दुखी भएको पहिलोपल्ट देख्दैथिएँ ।

हामी त्यहाँ रहेका सबैले उनलाई सम्झाउन लाग्यौं । तर उनि आँखाबाट आँशु झार्दै रुन थालिन् । त्यो खुसीको आँशु थिएन । नौ महिना सम्म आफूभित्र रहेर भर्खरै संसार देखेको आफ्नै छोरीसंग उनि खुसी हुन सकिनन् । समाज र परिवारको बन्धनले बाधिएकी उनको यो बाध्यता थियो वा आफ्नै कुनै रहर, मैले ठम्याउन सकिन ।

म भाउन्न भएर बाहिर निस्किएँ । बाहिर कुरिरहेका उनको श्रीमान र सासुले एकै सासमा सोधे, “ डाक्टरसाब, के भयो?”
म अचम्मित भएँ । आमा र बच्चाको स्थिति भन्दा पनि छोरा वा छोरी के भयो भनेर चिन्तित रहेका उनीहरुलाई

फर्काउने जवाफ मसंग केहि थिएन ।

“आमा र बच्चा दुबैलाई ठिक छ, छोरा वा छोरी हुनु अहिलेको महत्वपूर्ण कुरा हैन”

यति भनेर म प्रसुति कक्षबाट बाहिर निस्किएँ ।

बाहिर निस्कदै गर्दा मनमा धेरै कुरा खेल्न थाल्यो । जीन्दगीको पहिलो सासमै आफ्नै परिवारबाट तिरस्कृत ति छोरीको भविष्य के होला । अझै पनि समाजमा छोरा र छोरीबीच रहेको त्यो सामजिक कुरीतिको पर्खाल भत्काउन उनले जीवनमा कति संघर्स गर्नुपर्ला ।

पोखरा जस्तो शहरको अस्पतालमा त यस्ता घटना देखिन्छन भने दुरदराजका गाउँमा स्थिति कस्तो होला । कति छोरीहरुको जीन्दगी भर्खर मुटुको धड्कन सुरु नहुदै गर्भमै अन्त्य हुन्छ होला ।

आफ्नो रोग देखाउन र जाँच गराउन महिला डाक्टर खोज्ने नारी जातिले जन्मिने छोरीको अस्तित्व स्वीकार गर्न अझै कति समय लाग्ला ?

यी यस्तै कुराहरु लामो समयसम्म मनमा खेल्दै रह्यो ।

यो लेख सेतोपाटी अनलाइनमा चैत २३, २०७३ गते प्रकाशित भएको थियो ।

http://archive.setopati.com/sahityapati/65301/

 

Post Tagged with , ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com