Home » Recent articles » अस्पताल र मृगौला: हाम्रो हलुका टिप्पणी

यो लेख कसैको पक्ष वा विपक्ष लिएर लेखिएको हैन । मनमोहन मेमोरियल मेडिकल कलेजमा घटेको प्रतिनिधी घटना र त्यसबाट सृजना भएको परिस्थिति, अनलाइन, पत्रपत्रिका तथा सामाजिक संजालमा आएका प्रतिक्रियाहरु देखेर चिकित्साक्षेत्रको एक विध्यार्थीको नाताले यस विषयमा केहि कुरा आम मानिसहरुमाझ राख्न जरुरी लागेर यो लेख लेखिएको हो । यो लेखमा राखिएको विचारहरु समाचारहरुमा आएका सामाग्री र अस्पतालको विज्ञप्तिलाई आधार तयार पारिएको हो र थप तथ्य र यथार्थ सम्बन्धित निकायको छानविन पछि प्रस्ट होला भन्ने विश्वास लिइएको छ । निज विरामीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै आफुलाई आफ्नो उपचारमा कुनै कमीकमजोरी भएको शंका लागेमा सम्बन्धित निकायमा गइ कानुनी प्रक्रियाबाट अघि बढ्न र छानविन मार्फत सत्यतथ्य बाहिर ल्याउन पहल गर्न अनुरोध गर्दछु ।

घटनाक्रम:
मनमोहन मेमोरियल मेडिकल कलेजमा घटेको यस घटनाको सत्यतथ्य र यथार्थ विवरण छानविन पछि मात्रा बाहिर आउला । अस्पतालको विज्ञप्ति र मिडियाहरुमा आएको समचार हेर्दा विरामीको मृगौलामा रहेको पत्थरी निकाल्ने क्रममा अत्याधिक रक्तश्राव भएको र अनेक उपायहरु अपनाउदा पनि त्यसलाई रोकथाम गर्न नसकिएकोले अन्तिम विकल्पको रुपमा मृगौला झिकिएको भनिएको छ । समाचारहरुमा आए अनुसार अपरेसनपछि विरामीका आफन्त र अस्पतालबीच केहि बुंधाहरुमा सम्झौता भएको र गुपचुपमा आफ्नो परिवारलाई प्रभावमा पारेर सम्झौता गर्न लगाएको आरोप अहिले विरामीले लगाएका छन् ।

बुझ्नुपर्ने केहि कुरा:
हरेक अपरेसनको आफ्नै जटिलताहरु हुन्छन, जुन अपरेसन गर्दा गर्दै वा पछि लामो समयपछि पनि देखिन सक्छ । पत्थरीको स्थिति, आकार, मृगौलाको अवस्थिति आदि विभीन्न कारणले यो अपरेसन गर्दा पनि रगतनलीमा चोट लाग्न गइ रक्तश्राव हुने र त्यसलाई रोक्न विभिन्न उपायहरुले कोशिस गर्दा पनि नसकिएमा ज्यान बचाउनको निम्ती मृगौला नै झिक्नुपर्ने हुन सक्छ । त्यस्तै पाठेघरको अपरेसन वा बच्चा निकाल्नको निम्ती गरिने सिजेरियन सेक्सन गर्दा पनि रक्तश्राव अन्य विधीले रोक्न नसकिएमा वा त्यसले गर्दा ज्यान नै जाने जोखिम भएमा अन्तिम विकल्पको रुपमा पाठेगर नै निकाल्ने पनि गरिन्छ । यी जटिलताहरु अपरेसन गरेको थोरैमा देखिने तर हुनसक्ने सम्भावाना भएको जटिलता हो ।

गल्ती कहाँनेर भयो ?
अस्पतालमा विरामीमा कुनै उपचार थाल्नु अघि त्यस उपचारका फाइदा बेफाइदा, अन्य उपचार विधीहरु, उपचार नगरेमा हुने हानीहरु, उपचारका संभावित जटिलताहरुको वारेमा विरामीलाई राम्रोसंग जानकारी गराइनुपर्छ । अपरेसन गर्नु अघि पनि अपरेसनको क्रममा आउन सक्ने समस्याहरु र हुनसक्ने थप जटिलताको बारेमा विरामी र विरामीका आफन्तहरुलाई जानकारी गराइनुको साथसाथै लिखित मन्जुरीनामा पनि हस्ताक्षर गर्नुपर्छ । अपरेसन गर्दागर्दै आएको त्यो समस्या र जटिलताको बारेमा पनि विरामीका आफन्तलाई तुरुन्त जानकारी गराइनुपर्ने थियो । यो पाटोमा अस्पतालका चिकित्स्सकहरुले आफ्नो जिम्मेवारी निभाए कि निभाएनन वा त्यहि राम्रोसंग बुझाउन नसकेको कारणले अहिले यो समस्या आएको पनि हुनसक्छ । उपचार प्रक्रियामा बिरामीलाई गरिने “काउन्सिलिंग”को भाग कति महत्वपूर्ण हुन्छ भन्ने कुरा यो एउटा प्रतिनिधी घटनाले हामी चिकित्सक समाजलाई एउटा पाठ सिकाएको छ ।
अस्पतालको विज्ञप्तिमा भनीए झैँ अत्याधिक रक्तश्रावबाट बिरामीलाई बचाउन कै निम्ती मृगौला झिकिएको हो भने त्यहाँ चिकित्सकको लापरवाही वा कमजोरी भन्ने देखिदैन । संसारभरी गरिने उपचारको प्रोटोकल नै यहि हो । यस बारेमा थप कुराहरु अनुसन्धान र छानविन गरिएपछि पक्कै पनि प्रस्ट हुनेछ ।

अस्पतालको कमजोरी:
अपरेसनपछि विरामीका आफन्त र अस्पतालबीच गरिएको भनेको सम्झौता भने अस्पतालबाट गरिएको गल्ती वा कमजोरी हो । यस्ता घटनाहरुमा कानुनी प्रक्रिया, छानविन, अनुसन्धान भन्दा पनि आफन्त र अस्पताल प्रशासन एउटा बन्द कोठामा बसेर क्षतिपूर्तिको मोलमोलाई गर्नाले नै अहिले चिकित्सा क्षेत्रमा यो चरम विकृति देखा परेको छ । यसले बसालेको गलत नजिरका कारण नै अस्पताल तोडफोड हुने, भिड र हुलदंगाबाट स्वास्थ्यकर्मी माथि आक्रमण हुने र तेस्रो पक्षले आफ्नो फाइदाको निम्ती विरामी र आफन्तको संवेदनालाई प्रयोग गर्ने क्रम बढ्दै गएको छ । यसले क्षणिक रुपमा एउटा पक्षलाई फाइदा पुगेपनि कालान्तरमा आम मानिस, अस्पताल र स्वास्थ्यकर्मी सबैलाई हानी गर्छ । चिकित्सक र विरामीविचको दुरीलाई बढाएर यसले संबेदनशिल र अन्तिम अवस्थाको विरामीलाई चिकित्सकको पहुँचसम्म पुग्न र उपचार पाउन अफ्ट्यारो पार्ने सम्म स्थितिमा नपुराउला भन्न सकिन्न ।
तसर्थ, यस घटना पनि अस्पताल प्रसाशनले गरेको त्यो सम्झौतापत्रको कारण के थियो, आफ्नो कुनै गल्ती नभएको भए सम्झौता गर्नुको तात्पर्य के थियो प्रस्ट पार्नुपर्ने एकदमै जरुरी देखिन्छ ।

मिडियाको भूमिका:
यस्ता घटनाहरुमा मिडियाको भूमिका सन्तुलित र पूर्वाग्रह रहित हुनुपर्नेमा त्यसो भएको पाइदैन। “सनसनीपूर्ण खुलासा” गर्ने नाममा भड्काउ शिर्षक राखेर प्रासरण गरिने समाचारले अनलाइन पोर्टल वा पत्रपत्रिकाको भिजिटर संख्या त बढाउला तर यसले गर्दा आम मानिसमा पर्न जाने गलत सन्देशले समाजलाई सहि दिशामा डोहोराउन सक्दैन । यहि घटनामा हेर्ने हो भने पनि “पत्थरीको अपरेसन गर्दा मृगौला निकालियो” भन्ने शिर्षकले अपरेसन गर्दा जटिलता आएकाले विरामीको ज्यान बचाउन मृगौला निकालिएको तथ्यलाई बंग्याएर गलत प्रयोजनको लागि मृगौला झिकिएको आशय दर्शाएको छ । समाचारको यस्तो शिर्षकले आम मानिसमा नकारात्मक सन्देश मात्र जादैन यसले अस्पताल, चिकित्सकप्रति वितृष्णा पैदा गरिदिन्छ र विश्वासमा पनि कमी ल्याइदिन्छ, जुन हामी सबै र स्वास्थ्य क्षेत्रकै लागि एउटा नराम्रो वातावरण सृजना हुनु हो ।

पत्रकारिता आफैमा एउटा सन्तुलित पेशा हो, खवरदारी गर्ने पेशा हो, जनतालाई सहि सुचनाले सुसुचित गर्ने पेशा हो । कुनै शिर्षक र त्यस भित्रको समाचारले सहि सुचना दिनुको साँटो उत्तेजना फैलाउने, मरमसला प्रयोग गरेर तथ्यलाई बंग्याउने र मानिसलाई गलत सन्देश प्रवाह गरियो भने त्यसले पत्रकारिताको धर्म निभाउन सक्दैन ।

मृगौला चोरीको कुरा :
यो घटनापछि सामाजिक संजालमा केहि प्रतिष्ठित अनलाइनका सम्पादक, पत्रकार र अन्य केहिले अस्पतालले मृगौला चोरेको भनेर पोस्ट गर्नुभएको कुरा आफैमा हास्यास्पद छ । अन्य देशहरुमा यदाकता सुनिने र हुनसक्ने भए पनि नेपालका अस्पतालहरुमा यस्तो घटना हुनसक्ने संभावना ज्यादै न्यून छ । मृगौला प्रत्यारोपण गर्नलाई मृगौला निकालेको केहि समयमै अर्को शरीरमा प्रत्यारोपण गरिसक्नुपर्ने हुन्छ । एउटा मानिसको मृगौला जो कोहिले लिन मिल्दैन, त्यस्सको निम्ती विशेष जांचहरु जस्तै “एचएलए टाइपिंग” आदि गरेपछि त्यो मेल खाएमा मात्र मृगौला लिने मान्छे योग्य हुन्छ । त्यसमाथि पत्थरी भएको मृगौला चोरेको भनेर जसरी कुनै ठोस प्रमाणविना हलुका टिप्पणी गरिएको छ त्यो आफै गैरजिम्मेवार छ ।

अन्त्यमा,
यो लेख लेखिरहदा मैले कोहि दोषी र कोहि निर्दोष भनेर औल्याइरहेको छैन । हामी सबैले आ-आफ्नो ठाउबाट आत्ममूल्यांकन गर्न जरुरी छ । कमजोरी हामी सबैमा छ, विरामीलाई पर्याप्त समय नचाहेर वा चाहेर पनि दीन नसक्ने चिकित्सक, सनसनीपूर्ण न्युज बनाएर ब्रेक गर्ने पत्रकार र यथार्थ नबुझिकनै आरोप-प्रत्यारोपमा उत्रिने आम सर्वसाधारण ।

हामी सबैले पेशागत मर्यादा र इमानदारीलाई नभुलीकन, एक-आपसलाई खवरदारी गर्दै सन्तुलित रुपमा अघि बढे स्वास्थ्य क्षेत्रमा देखिने यस्ता समस्याहरु निराकरण गर्न केहि हदसम्म भएपनि सहयोग पुग्थ्यो कि ।

यो लेख सेतोपाटी अनलाइनमा असार १३, २०७४ मा प्रकाशित भएको थियो ।

अस्पताल र मृगौला: हाम्रो हलुका टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com