Home » Recent articles » सरकार, के जाजरकोट देश हैन?

क्लासमा आँखाको पढाइ हुदै थियो । आँखाको पावर माइनस छ भन्दा पनि कम भएसी लेजर प्रविधीबाट कसरी सुल्टाउन सकिन्छ, र विश्वमा यसमा भएका प्रगति एवं नेपालमा यसको संभावनाको बारेमा सरले पढाउनु भयो । कक्षा सकियो । लन्च ब्रेकमा खाना खान होस्टल पुगियो, मोबाइलमा यसो समाचार पढ्दा थाहा पाएँ, जाजरकोटमा फैलिएको फ्लुको कारण मर्नेको संख्या १८ पुगेछ, एक स्वास्थ्यकर्मी नि विरामी परेछन । विश्वमा स्वास्थ्य जगतमा मारिरहेको छलांग र प्रगतिको विषयमा पढिरहदा आफ्नै देशको दुर्गम गाउँका जनताहरु भने महामारीको चपेटामा परेको र अनाहाकमा ज्यान गुमाईरहेको खबरले मन चिसो भयो । परन्तु, जाजरकोटले हाम्रो स्वास्थ्य क्षेत्र र महामारी नियन्त्रणको क्षमतामाथि ठाडो प्रश्न उठाएको यो पहिलोपल्ट भने हैन । किन त जाजरकोट सधै नेपाली स्वास्थ्य जगतको निम्ति चुनौती बनिरहन्छ ? जाजरकोटका आम मानिसहरुले अकालमै मरिरहनुपर्ने कहिलेसम्म? यसको जवाफ खोज्ने बेला आएको छ ।

अचानक जाजरकोटका केहि दुर्गम गाँउहरुमा अनौठो रोग देखियो । टाउको, छाती र हातखुट्टा दुख्ने, वाकवाकी लाग्ने र ज्वरो आउने लक्षणको “अज्ञात” भनिएको रोगले दुई सातामा ११ को ज्यान लियो र सयौं विरामी परे । दिवास्वप्नमा रमिरहेको काठमान्डौको बल्ल होस् खुल्यो । अनि स्वास्थ्यमन्त्री, केहि बहालवाला सांसद र विशेशज्ञ डाक्टरको टोली लिएर हेलीकप्टर जाजरकोटको लागि उड्यो । सदरमुकाम पुगेपछि डाक्टरको टोलीलाई ओरालियो, र केहि स्थानीय नेताहरुको उड्ने रहर पुरा गर्दै हेलिकप्टर रोगग्रस्त गाउँतर्फ उड्यो । त्यहाँ पुगेपछि स्वास्थ्यमन्त्रीले पत्रकार सम्मेलन मार्फत रोग नियन्त्रण गर्न आफू सक्षम रहेको उल्लेख गर्नुभयो र फर्कनुभयो । तर ठिक उल्टो, यो लेख लेख्दैगर्दा सम्म, करिव २१ जनाको ज्यान गइसकेको छ भने हजारौं सिकिस्त बिरामी भएको खबर आएको छ । काठमाण्डौको जनस्वास्थ्य प्रयोगशालामा विरामीहरुको नमुना परिक्षण गर्दा स्वाइन फ्लुको जीवाणु भेटिए पनि स्वाइन फ्लुले मात्र यसको कारण नभएको बिज्ञहरुको ठम्म्याई छ ।  हो, यो कहालीलाग्दो घटनाक्रम हामीसमक्ष उभिएको तितो यथार्थ हो, अकाट्य सत्य हो । जसले सरकार र समग्र स्वास्थ्य क्षेत्रलाई कुरीकुरी गर्दै गिज्जाईरहेको छ ।

सन् १८५४ मा बेलायती डाक्टर जोन स्नोले लन्डनमा संक्रमित पानीको पम्पबाट हैजाको महामारी मानिसमा सरेको पत्ता लगाए । त्यो खोज महामारी नियन्त्रणको इतिहासमा एउटा कोसेढुंगा थियो । जीवाणु, वातावरण र मानव शरीरको चक्रिय माध्यमले फैलिने महामारीको रोकथामका सम्वन्धमा यो डेढ सय वर्षको अवधीमा धेरै प्रगति भए । पानी, हावा आदिको माध्यमबाट सर्ने सरुवा रोगहरु  पश्चिमा र विकसित देशहरुमा लगाबग उन्मुलनको स्थितिमा पुगिसके । तर हामी अझै पनि यीनै रोगहरुसंग संघर्ष गरिरहेका छौं । अझ जाजरकोट नेपालमा महामारीको पर्याय नै बन्ने गरेको छ । महामारी नियन्त्रणको विषय पक्कै पनि चिकित्सकीय विधाको चुनौतीपूर्ण र गाह्रो विषय हो । स्रोतको पहिचान, त्यसको निर्मूलन, विरामीहरुको उचित व्यस्थापन र थप सर्नबाट रोक्न तथा आगामी दीनहरूमा महामारी फैलन नदिन चालिने कदम महामारी नियन्त्रणका खुड्किलाहरु हुन् । तर, जाजरकोटमा रोग नियन्त्रणका खास के काम भईरहेको छ, रोगको स्थिति के छ भन्ने कुरा सरकारी निकायबाट अझै औपचारिक रुपमा आएको छैन ।

कुनै पनि देशका नागरिकको स्वास्थ्यको सबैभन्दा ठूलो जिम्मेवारी त्यहाँको सरकारको हुन्छ । महामारी रोगको नियन्त्रण र उचित व्यवस्थापनको निम्ति स्वास्थ्य मन्त्रालय अन्तर्गतको छुट्टै महाशाखा नै छ, जसको काम देशको जुन ठाँउमा महामारी देखिएपनि त्यसको व्यवस्थापनको निम्ति तुरुन्त उचित कदम चाल्ने र चाडो रोग नियन्त्रणमा लिने हुन्छ । पर्याप्त औषधी र विशेषज्ञको टोली परिचालन गरेर महामारीको क्षती कम गर्ने जिम्मेवारी पाएको निकाय किन ढुलमूल गरिरहेको छ ? के यो रोग यसरी नियन्त्रणबाहिर गइरहनु त्यो निकाय र सरकारको असफलता हैन?

देश ऐले पुर्व प्रधानमन्त्री सुर्य वहादुर थापाको निधनको शोकमा छ । उहाँको योगदानको मुल्यांकन सायद अर्को पाटो होला, किन्चित सरकारले त्यो पदलाई दिएको सम्मानपूर्ण अन्त्यष्टिप्रति कुनै गुनासो छैन । तर, यहाँ भन्नैपर्ने कुरा के हो भने जीवन र मृत्यु सबैको एकै हो । फगत उनीहरुको आवाज कमजोर होला, तर जाजरकोटका ति अबोध नागरिकहरुको पनि बाँच्न पाउने अधिकार उति नै छ । उनीहरुलाई एयर एम्बुलेन्स र मेदान्त अस्पतालको सुविधा चाहिएको हैन, केवल आफ्नै गाँउमा फैलिएको फ्लुको महामारीबाट बच्न प्रभावकारी औषधीउपचार  र आगामी दिनमा यो स्थिती आउनबाट रोक्न के गर्ने भन्ने जनचेतना मात्र चाहिएको हो ।

सरकार,

जाजरकोट पनि देश नै हो र जाजरकोटबासी पनि यहि देशका नागरिक हुन् । अझ भन्नुपर्दा सरकार आफ्नो हरेक नागरिकको संरक्षक हो । एकातिर दूरदराजमा अशिक्षा र गरिवीबाट पिल्सिएका अबोध जनता आधारभुत स्वास्थ्यउपचार नपाएर अकालमै ज्यान गुमाईरहदा त्यसबाट नीतिगत र कार्यकारी पदमा बसेकाहरु तथा आम सरोकारवालाहरुलाई अलिकति पनि हिनताबोध हुन्छ ? हुन्छ भने स्थिति अझै बिग्रन नदिन यथाशिघ्र गम्भिर पहलकदमी चालिहाल्ने कि ???

 

यो लेख सेतोपाटी अनलाइनमा बैशाख ४, २०७२ गते प्रकाशित भएको थियो ।

http://archive.setopati.com/blog/27036/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com