Home » Recent articles » छाता

“सुन्नुस त, सुशिला जीको मान्छे तपाईहरु हो?”

आवाज ले एक्कासी झस्कायो । मुटुको चाल बढायो ।

“हजुर हो” म अघि बढें । दाइ र आमा पनि ठाँउबाट उठ्नुभयो ।

“कस्तो छ ऐले दिदीलाई?” मैले हतास हुदै सोधीहालें ।

“अप्रेसन सफल भएको छ । आमा र बच्चा दुबैलाई ठिक छ । ब्लिडिंग अलिक धेरै भएकोले २ पिन्ट रगतको व्यवस्था गरेर आउनुहोला । सकेसम्म चांडो ।“

उनले एउटा पुर्जी थमाइन र आफ्नो बाटो लागिन । म वाल्ल परें ।

दिदीको ब्लड ग्रुप ए नेगेटिभ । त्यहाँ हामी कसैको पनि मिल्थेन । अव ब्लड बैंक जानुपर्ने भयो, भृकुटीमण्डप । दाइ र आमाले पुलुक्क मलाई हेर्नुभयो । मलाई जान संकेत गर्नुभयो ।

म विनायक अस्पतालको पहिलो तलाबाट बाहिर निस्किएँ । गह्रौ मन र छटपटी लिएर । करिव दिउसोको ३ बजेको थियो । भर्खरै पानी परेर रोकिएको थियो । आकासमा अझै बादल थियो । असारको महिना अनि यो काठमान्डौको मौसम, केहि भर थिएन । पानी फेरि पर्ने छाँटकाँट देखिन्थ्यो ।

ट्याक्सी समातम ? आ, भैहाल्यो माइक्रोमै पुगीहालिन्छ नि छिट्टै, यतिबेला जाम हुने बेला पनि त हैन । पानी पर्यो भने ट्याक्सीमा फर्कनुपर्ला ।

म बसपार्क गेटमा पुगें र २३ नम्बर रुटको माइक्रो चढें । लास्ट सीटमा गएर बसें । मनमा एक तमासको हतास र छटपटी थियो । केवल भाउजु र हाम्रो परिवारमा प्रवेश गरेको नयाँ सदस्यको हाँसो खेलिरहेको थियो । म छिटोभन्दा छिटो उसको मुहारमा हाम्रो पारिवारिक गुण खोज्न आतुर थिएँ । माइक्रो मिडियामा बजिरहेको मनोज गजुरेलको कमेडीले पनि हाँसो उठाएन । मनमा छटपटी र अशान्ति छ भने बाहिरका सब चीज फिक्का लाग्दोरहेछन । हिजोसम्म रमाइलो लाग्ने ति ठट्यौली टुक्काहरु आज मलाई निरस लागीरहेछ ।

यो रुटको माइक्रो चढ्दा गाडी कहिल्यै खाली भएर गुडेको देख्नुपरेन । ऐले पनि तुरुन्तै भरिहाल्यो ।

“सोह्रखुट्टे, लैनचौर, रत्नपार्क……” गाडीमा खुट्टा राख्ने ठाँउ नभए पनि उसले भट्ट्याउन छोडेन । बाइपासमा ५ मिनट रोकेपछि माइक्रो बल्ल गुड्यो । मानिसहरु सबै हतारमा छन, सबैलाई गन्तव्यमा पुग्नै छ, सबैको आ-आफ्नै बाध्यता छ । बाध्यताले धकेल्दै धकेल्दै करिव ५ बर्ष अघि मलाई यस शहरमा छिराएको थियो । यो शहरमा मैले कसैलाई दील खोलेर हाँसेको देखेको छैन, सबै हाँस्नको लागि मात्र हाँस्दैथिए, केवल ओठको हाँसो ।

सोह्रखुट्टे पुगियो । अव यहाँ फेरि कतिन्जेल रोक्ने हो । जे नहोस भनेको थिएँ, आखिर त्यहि भयो । सिमसिम पानी पर्नथाल्यो । लौ पर्यो फसाद । छाता ल्याइएन, गाडीबाट ओर्लेर ब्लड बैंकसम्म कसरी पुग्ने अव । आ, ओर्लेर ट्याक्सी चढेर जान्छु । गाडीमा मान्छेको भिडले ओर्लने जाँगर पनि आएन ।

हतार भएको बेलामा यो गाडी पनि कति रोकेको । भरिसक्यो त ।

“जाउ न हो गुरुजी” मैले पछाडीबाट कराएँ । सबैलाई हतार छ, तर अरु चुप छन । किनकी हामीलाई सहने वानी परेको छ । चलेकै छ र चलीरहन्छ भन्ने सिद्दान्तबाट हामी कहिल्यै माथि उठ्न सकेनौं । र हामीले जे भोग्यौ, भावी पुस्तालाई पनि त्यहि बाटोमा डोहोराइरह्यौं ।

लैनचौर पुग्दा झन् ठूलो पानी पर्नलाग्यो । जमलमा सडकमा पनि सानोतिनो रानीपोखरी बनिसकेको थियो । रोक्ने ठाउ नभएर गाडी अलिक तलै पुर्यायो ।

सबै झर्नलागे । गाडी खाली भयो । म अन्तिम सीटबाट अलिक ओर सरेर बसें । भ्रीकुटीमण्डप पुग्दा पानीले निकै ठूलो आकार लिइसकेको थियो । बाहिर निक्लेर जान सक्ने अवस्था थिएन । म के गर्ने कसो गर्ने अलमलमा परें ।

जसको साथ कोहि हुदैन, उसलाई भगवानले हेर्छन, पहिले कतै सुनेको थिएँ । भनेजस्तै भयो । म बसेको सीटको उतापट्टी कुनामा एउटा रातो छाता भेटियो । एउटा मेरै उमेरको देखिने केटी थिइ साइडमा । सायद जमलमा झरेको थिइ । मैले अनुहार सम्म राम्रोसंग ख्याल गरेर हेर्न पाएको थिइन ।

मैले उही छाता टिपे, अनि झरें । छाता रातो रंगको थियो । मुसलधारे पानीमा रातै छाता ओडेर म भृकुटीमण्डप लागेँ । त्यो दीन मेरो भाग्य राम्रै रहेछ । चाहिएकै ग्रुपको ब्लड सजिलै पाइयो । फर्कनेबेला पानी थोरै भए पनि कम भएको थियो । म ट्याक्सीमा फर्किएँ ।

पछि अस्पताल फर्कदा भाउजुलाई भेट्न दाइ र आमा गइसक्नुभएको रहेछ । रगतको मात्रा अलिक कम भए पनि अरु सबै ठिकै रहेछ । भतिजी ठ्याक्कै दाइ जस्तै । ४ दीनपछि अस्पतालले डिस्चार्ज गर्यो ।

मैले त्यो छातालाई मैले दाइकै झोलामा राखिदिएछु । पछि उहाँकै घरमै लानुभएछ ।

*******

म अस्ति दाइको घर जाँदा त्यहि रातो छाता छतमा सुकिरहेको देखें । छोरी तीन वर्षको भइसकेकी थिइ ।  त्यो समयको याद ताजा गरायो । लाग्यो, त्यो छाता जसको हो उसैलाई लगेर मुरीमुरी धन्यबाद दिदै  फर्काइदिऊ । तर त्यो सम्भव थिएन । मलाई त्यो मान्छेको आकृतिसम्म याद थिएन ।

छोरी खेल्दै मतिर आइ ।

 

यो लेख सेतोपाटी अनलाइनमा आषाढ १९, २०७२ मा प्रकाशित भएको थियो  ।

http://archive.setopati.com/pathak-bichar/30393/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com