Home » Old Blog » दशैँ ’ ६३
source : google

source : google

म लगबग १३ वर्षको थिएँ । हरेक वर्षझैँ दशैँ मनाउन काठमान्डौबाट आफ्नै गाँउ धादिंग गएको थिएँ । त्यतिवेला दशैँ एउटा खुसीको पोको थियो, धेरै दिन देखिको रमाउने धोको थियो । शहरमा पढ्ने, अनि दुई चार दिन मात्र गाँउ बस्ने भएकाले म सानोतिनो “हिरो” नै कहलिन्थें ।

फूलपातीको दिन थियो ।  “आउ जाम बाहिर डुल्न”, सन्तोषले तलबाट बोलायो । ऊ मेरो मिल्ने साथी  थियो ।  म दलिनमा बसेर यसो यताउति चियाउदै थिएँ ।  खासै काम पनि थिएन ।  दशैँमै किनेको नयाँ  पाइन्ट लगाएँ, अनि तल झरें ।   हामी दुई बजार डुल्न लाग्यौं ।

खहरे बजार खासै ठूलो छैन । विचमा मोटर गुड्ने सडक र दाँयावाँया लस्करै मिलेका घरहरु, कुनै चित्रकारले क्यानभासमा उतारेको सुन्दर वस्ती जस्तै छ खहरे । बेशी झरेकाहरु दशैँ मनाउन गाउँ नै लागिसकेका छन् ।  यहिँका रैथाने र स्थाई बसोबास भएकाहरु मात्र छन् ।  केहि पसल खुलेका छन् ।  म हरेक पटक दशैँ मनाउन गाँउ आँउदा केहि नयाँ परिवर्तन भएकै हुन्छ ।  योपाली आँखुखोलामाथि नयाँ झोलुंगे पुल बनेछ । चिसो हावाको मन्द वेगसंग खोलाको सुसाइमा हराउदै पुलबाट कंचन पानी बगीरहेको हेर्दा छुट्टै आनन्द आउछ ।

हामी दुई त्यतैतिर लम्कियौं ।   पुलको जिपनेर मान्छेहरुको हुल थियो, बीचमा एकजना कराइरहेको थियो।   ए, त्यहाँ त लंगुरबुर्जा खेलाइरहेको रहेछ ।  हामी पनि त्यहि हुलमा मिसीयौं ।

“पान तेव्वरSSSSSSSS, अरु बात छैन” खेलाउने मान्छे करायो ।

हेर्दा हेर्दै एउटा मान्छेले ५० को १५० कमायो । अरु खालमा राखेको पैसा भने सबै खेलाउनेले नै सोहोर्यो ।

मलाई पनि कुनैमा थापम थापम झैँ भयो । तर आफुसंग पैसा थिएन ।  कसो गर्ने के गर्ने भयो । सन्तोषलाई भने, “ओइ पख है, म घर गएर पैसा लिएर आउछु ।”

उसलाई त्यहिँ वस्न लगाएर म घरतिर लागेँ ।  घरमा कोहि थिएनन ।  बुबा खसी लिन पल्लो गाँउ जानुभएको थियो, आमा पारी मिलमा ।  लौ पर्यो फसाद, कसो गर्ने त । घरमा एक-दुई रूपयाँको सिक्का यता उति झरीरहेको हुन्थ्यो ।  छ कि भनेर खोजें ।  तर कतै केहि भेटिन ।

झट्ट आँखा भित्ता झुण्डीरहेको हजुरबुबाको इस्टकोटमा गयो । ढुंगा खोज्दा देउता मिलेझै भयो ।  मनमा पाप पलायो ।  धत्त्, त्यस्तो काम गर्न हुन्न झैँ लाग्यो । तर, आ जे पर्ला पर्ला, कसरी थाह पाउलान र । हात भित्री गोजीमा छिराएँ र २०, २० को दुइटा नोट झिकें । हो, म जिन्दगीमा पहिलोपल्ट चोर बने, हजुरबुबाको खल्तीको ४० रुपयाँ चोर ।

त्यसपछि फिलीली कुदेर उहि ठाँउमा पुगें ।  मान्छेको भिड अलिक कम भएछ ।  सन्तोष भने त्यहिँ रहेछ ।

“ल्यायौ ?” उसले सोध्यो ।

“अँ, मुन्टो हल्लाएँ ।”

ल पख एकछिन दाउ हेरम ।  खालमा १-२ रुपयाँका सिक्का देखि १०० रुपयाँ राख्ने सम्म थिए । गट्टी गुर्क्याउने एकजना र पैसा सोहोर्ने अर्कै थियो ।  जम्मा पारेको पैसाको चुली नै बनिसकेको थियो ।   अघिदेखि दाउ पारिरहेको त्यो मान्छेले इटामा राखेर दोव्वर खायो । उसैको सिको गर्दै जता राख्यो उतै राख्ने बिचार गरें ।

जे पर्ला पर्ला, ल पानमा २०, मैले २० रुपयाँ पानको खालमा फालिदिएँ ।

“झण्डी चौवरSSSSSS”

“ज्या, थुइक्क झण्डीमा राख्नु पर्ने रैछ ।” अनिल सुसायो, “हेर, ऐले ठाँउको ठाँउ ८० रुपयाँ हात लाग्थ्यो ।”

अव बाकि २० रुपयाँ थियो । चोक्टा खान गाको बुढी, झोलमा डुवेर मरी भने झैँ होला जस्तो भयो ।  आ, जे पर्ला पर्ला, गए बाउको, आए साउको ।

“ल झण्डीमा २० ।” मैले झण्डीको खालमा २० रुपयाँ फालिदिएँ ।

“पान तेव्वरSSSSSS”

तैट, पानमा राख्याबेला झण्डीमा पर्यो, झण्डीमा राख्याबेला पानामा । आज दाउ नै रहेनछ । त्यसरी ल्याएको पैसा, सबै हारियो, मन खिन्न मात्र भयो ।

“ल हिड जाउँ, पारी चौतारातिर पिंग खेल्न ।” सन्तोषले भन्यो ।

अव त्यहाँ वसिरहेर काम थिएन । घर जान मन पनि थिएन ।  हामी उतै चौतारातिर लाग्यौं ।

सधै मान्छेहरुको भिड हुने पिंग आज भने खाली रहेछ ।  सबैलाई दशैँ लागेछ क्यारे । पहिले सन्तोष खेल्यो, उसले उभिएर आफै मच्चायो ।

“चह चह हुइSSSSSSSSSS” ऊ चिच्यायो ।

म भने आफै मच्चाउन सक्दैनथें । सन्तोषले भोटेसाल लाइदियो ।  मलाई कहाली लाग्यो, तर बल गरेर अझै मच्चाउन खोजें ।  ऊ जस्तै उभिएर आफैं मच्चाउन खोजें । पिंग बाङ्गो मच्चियो । आकस्मात कापे चिप्लियो र खुट्टाले ठाँउ छोड्यो । म पिंगबाट उछिट्टीएँ र तल बङ्लङ्ग बजारिएँ ।

ढुंगामा ठोकिएकाले निधारमा चोट लाग्यो, अलि अलि रगत पनि बग्न थाल्यो ।  सन्तोष आएर हत्तपत्त उठाइहाल्यो ।  म रुन थालें ।

मुलबाटो हुदै पल्लो गाउँको ढकाल काका आए । उनि मलाई राम्रोसंग चिन्थे । बिहान बिहान हाम्रो घरमा दुध पुराउन आउथे । सबै कुरा थाह पाएसी मलाई काँधमा बोकेर घर लगे ।

घरमा मेरो नै खोजी हुदैरहेछ । निधारबाट रगत बग्न रोकिसकेको थियो । बुबाले मलम लगाइदिनुभयो । एक दुई दिनमा घाउ खाटा बस्यो र निको भयो । त्यो दशैमा त्यसपछि मैले पिंग खेलिन, अँ साँची लंगुरबुर्जा नि खेलिन । 😀

आजभोलि पनि पिंग देख्नेबित्तिकै यो घटना मानसपटलमा ताजा स्मृति बनेर आउछ । घाउ त निको भयो तर त्यो दिनको खत निधारमा बसिरह्यो, अनि मनमा पनि, बाल्यकालको दशैँको एउटा अमिट छाप बनेर । 🙂

खहरे बजार

खहरे बजार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com