Home » Old Blog » पोखरा हाइकिंग #०१

“द वर्ल्ड इज अ बुक, एण्ड दोज हु डन्ट ट्राभल रीड अन्ली वन पेज ।” अलिक पहिले कुनै विद्वानको उद्दगार एउटा कपीको अन्तिम पानामा देखेको थिएँ । त्यसैबेला देखि नयाँ ठाउ घुम्ने र नयाँ परिवेशमा भुल्ने म भित्रको भुत थप जुर्मुराएको थियो । यात्रामा हरेक पाइलाले नयाँ कुरा सिकाउछ, बुझाउछ र आफैलाई भुलाउछ । तर यो यात्रा नितान्त नौलो थियो । किनकी, यात्राको सहयात्रीहरु आपसमा प्रत्यक्ष चिनजान र देखभेट थिएन । भए पनि कमै थियो, सबै केवल भर्च्युअल संसारका साथीहरु थिए ।

करिव १ हप्ता अघि अर्घेलो थापाले डी. एम. पठाए ।

“हेलो साथी, यो शनिवार भदौ ७ गते हाइकिंग जाने योजना बन्दैछ (हल्लनचोकबाट मेथ्लांग), फुर्सद भए यो शनिवार विहान ८ बजेभित्र हल्लनचोक आउनुहोला ।”

ट्वीटरमा काठमान्डौका साथीहरु हरेक महिनाको अन्तिम शनिवार हाइकिंगमा रमाएका ट्विट र ब्लगहरु पढ्न पाइन्थ्यो । आफु पोखरामा भएकोले त्यसमा सहभागी हुन संभव भएको थिएन । पोखरामै ट्वीटरमा सक्रिय साथीको यो प्रस्ताव सुनेर मन फुरुंग र उत्साहित भएको थियो ।

“म शुक्रवार खवर गर्छु भनेर रीप्लाई गरें ।”

सधै उहि पढाइ र होस्टेलको एकै वातावरणबाट उकुसमुकुसिएको म मन बहकाउने पृथक माध्यम खोज्दै थिएँ । ढुंगा खोज्दा देउता मिल्यो भनेझै त्यो हाइकिंग मेरो लगी गतिलो बहाना बन्यो । फरक फरक विधाका नौला साथीहरुसंगको भेटघाट, अन्तरक्रिया र घुमघामले धेरै नयाँ कुरा सिकिने र दिमाग पनि चंगा हुने कुरामा दुइमत थिएन ।

शनिवार विहान ८ बजेतिर म होस्टेलबाट निस्किएँ । आकाश त्यति सफा त थिएन, तैपनि पानी परिहाल्ने छाटकाट पनि थिएन । ३ वर्षे पोखरामा वसाइमा मैले यहाँको मौसम कहिल्यै अड्कल लाउन सकिन । घाम लागीरहँदा बाहिर निस्कियो, फर्कदा निथ्रुक्क भिजिन्थ्यो । आज पनि छाता बोक्ने झन्झट गरिन, किनकी आज म भिज्नैपरे भिज्ने मुडमा थिएँ । आज नौलो उत्साह र जोश म भित्र पलाएको थियो । पृथ्वीचोकबाट गाडी चढी सोझै हल्लनचोकमा पुगेर ओर्लिएँ ।

पोखरेली टुइटेहरुको ठूलै समुह त्यहाँ उपस्थित भैसकेको रहेछ । करिव २० जनाको टुकडी भेला भएपछी एकापसमा सामान्य चिनापरिचय भयो । फेवा ताललाई दृश्यमा छोड्दै करिव ९ वजे मेथ्लांगको डाँडा पुग्नको निम्ती पदयात्रा सुरु गर्यौं ।

हाइकिंगको सुरुवातमा ग्रुप फोटो

हाइकिंगको सुरुवातमा ग्रुप फोटो

हाइकिंग भन्दै डाँडाकाँडा चढ्नु भन्दा बरु फेवातालमा उम्रेको जलकुम्बी झार उखेल्न लाग्ने कि भन्ने कुरा समिर कट्टेलजी ले निकाल्नुभयो । कुनै दिन फुर्सद मिलाएर त्यो पनि गर्ने भन्दै हामी अघि बढ्यौं ।

एकाविहानै घरबाट निस्केको र ठूलै डाँडो चढ्नुपर्ने कुरालाई मध्यनजर राख्दै पहिले चिया-विस्कुट खाएर मात्रै उभो लाग्ने कुरा भयो । नजिकैको होटलमा लहरै दाँयाबाँया बसेर चिया विस्कुटको साथमा मिठा मिठा गफले स्वादमा थप मिठास थपेको थियो । टेवलमा रहेको साप्ताहिक पत्रिकामा हेर्दा ५-६ जना पोखरेली टुइटेहरुको ट्विट छापिएकोले पोखरेलीहरुको पनि ट्विटरमा बलियो पकड रहेको निस्कर्ष त्यतिवेला एक विद्वान ट्वीटेले निकालीहाले ।

चिया बिस्कुट खादै

चिया बिस्कुट खादै

सुन्दर नगरी पोखरा र फेवाताललाई क्यानभासमा छोड्दै चिया विस्कुटले थपेको जोश र जाँगरसाथ हामी लस्करै उकालो चढ्न लाग्यौं । समसामयिक राजनैतिक, सामाजिक विषयमा साथी कोशिस ओझाको विवेचानात्मक गफले हिडाइमा थप उर्जा थपेको थियो । विच विचमा हुने ठट्यौली जोकहरुमा हुने गलल्ल हाँसोले त माहोल झन् तताइरहेको थियो । उमेरमा सबै साथीहरु लगबग गधेपच्चिस हाराहारीकै थिए, त्यसै माथी सबै पुरुष मात्रै । सबैका कुरा उस्तै उस्तै हुन्थे, चुट्किला र उरन्ठेउला गफ छाँटन कोहि भन्दा कोहि कम थिएन ।

उकालो लाग्दै

उकालो लाग्दै

कतिपय टुइटेहरुको गुनासो भने बरिस्ठ बनिटोपलिएकाहरुको फलो ब्याक नपाइएको भन्ने हुन्थ्यो । अरु बरिस्ठहरुले गरुन नगरुन, यहाँ उपस्थितहरुमा भने सबैले फलो आदानप्रदान गर्ने सहमती सर्वसम्मतीले भयो ।

अघि लागेका उरन्ठेउला साथीहरु मुलबाटो छोडेर पहिरोबाट डाँडो चढ्न लागे । त्यो अक्करबाट चिप्लिदै, घिस्रीदै र लडीबुडी खेल्दै माथि चढ्नुको अनुभव पनि निकै रोमान्चक रह्यो ।

पहिरो चढ्दै

पहिरो चढ्दै

फेरि अलि माथि पुगेपछि एक हुल साथीहरु मुलबाटो छोडेर झाडी हुँदै मास्तिर लागे । बाटो पहिल्याईसकिएको थिएन । अलिक हिडेपछि वल्ल सानो गोरेटो फेला पर्यो, तैपनि साउन-भदौको घाँसले निमिट्यान पारेर बाटो छोपेको थियो । मुस्किलले उकालीमा शिरुका घाँस र बुट्ट्यानसंग पैठेजोरी खेल्दै अघि लाग्यौं । अरु साथीहरु भने मुलबाटोबाटै उभो लागे । धेरै नै माथि पुगिसकेकाले उनीहरुसंग अव डाँडामै भेट्ने कुरो भयो । अरु साथीहरु हामीबाट छुटेकाले पहिलो हाइकिंगमै हाइकिंग पार्टी फुटेको ठट्टा पनि भयो । मेथ्लांगको टुप्पोमा पुगेपछि फेरि हामी सबै भेट भयौं र हाम्रो एकता भयो ।

काठमान्डौका टुइटेहरुको हाइकिंगमा एकपटक खाना ककनीबाट नगरकोट ल्याउनुपरेको किस्सा यस्तै ब्लगमा पढिएको थियो । हाइकिंगमा खानाको ठूलै समस्या पर्नेरैछ भन्ने त्यतिबेला थाहा भयो, जतिवेला हामी खानाको खोजीमा मेथ्लांगको डाँडा हुदै सरांगकोट जाने बाटोसम्म पुग्यौं । बल्ल बल्ल सरांगकोट जाने बाटोबाट अलिक माथि एउटा होटल भेटियो । रमाइला ठट्याउली, सांगीतिक, साहित्यिक माहोलले मन त तृप्त थियो, तर पेटको मुसो मार्न केहि चारो हाल्नैपर्दोरहेछ । कास, गफ र रमाइलो माहोलले पेट पनि भर्ने भए यो संसारमा कसैलाई भोकभोकै बस्नपर्ने थिएन होला ।

खानाको लागि कुर्दै

खानाको लागि कुर्दै

करिव २ वजे खानाको अर्डर दिएर हामी औपचारिक परिचयात्मक र प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम तिर लाग्यौं । सबैले आ-आफ्नो प्रेम कहानी देखिन जीवनका आरोह अवरोह र उकाली ओराली सम्मका कुरा खोतल्न भ्याए । हन्टर बुढाको कविता र अर्घेलोथापाको अभिनयले वाहवाही बटुल्यो । अरु साथीहरुको गजल, मुक्तक र अन्य खुराकहरु पनि प्रसंशायोग्य थियो । साँच्चै हरेक मानिस अनेकन प्रतिभाको खानी हो । विश्वमा कहलिएकाहरुले आफ्नो प्रतिभा चिन्न सके, आफुलाई फुल बनाएर फुलाउन सके, तर विडम्वना यहाँ कति प्रतिभावान फूलहरु फुल्न नपाइकन ओइलाईरहेका छन । तिनको लेखाजोखा कसले गर्ने !

भोको पेटमा लोकल कुखुराको झोलसंग दुई थाल भात दन्काइएको पत्तो भएन । त्यस्तो अलौकिक स्वादको भोजन अव फेरि भलै खान पाइएला । वास्तवमै भोजन भन्दा भोक मिठो, अझ त्यो भन्दा पनि साथीहरुको विच विचको जोक मिठो । 😀

लेखनाथ र पारी काहुँडाँडाबाट पानी पोखरातिर आइरहेको थियो । साँझ पनि पर्नै लागेकाले हामी मन नलागी नलागी पनि ओरालो लाग्नुको विकल्प थिएन । बाटोमा ठाँउ ठाँउमा फोटो सेसन भइरह्यो । तल हाइवे पुग्ने लाग्दा पानी पर्यो । त्यो पानीमा भिज्नुको पनि वेग्लै रमाइलो थियो किनकी म विहानै पानीमा भिज्ने मुडमा होस्टलबाट निस्केको थिएँ । पर्स्यांग पुगेपछि हामी चाडै नै अर्को हाइकिंगमा यसरी नै फेरि भेट हुने र भरपुर रमाइलो गर्ने बाचा गर्दै एक-आपसबाट छुट्टियौ ।

भर्चुअल संसारका यी साथीहरुसंग वास्तविक जीवनमा भएको हाइकिंग निकै अविष्मरणिय रह्यो । टाढा टाढाका अपरिचित मनहरुलाई जोड्न सहयोग पुराउने ति सामाजिक संजालका प्रणेताहरु साधुवादका पात्र हुन् ।

गफ आ आफ्नै..

गफ आ आफ्नै..

डाँडा चढ्दै

डाँडा चढ्दै

नेपालको झन्डा :)

नेपालको झन्डा 🙂

भिन्दै भिन्दै पोज

भिन्दै भिन्दै पोज

रमाइलो

रमाइलो

सुन्दर पोखरा उपत्यका

सुन्दर पोखरा उपत्यका

सबै आ आफ्नै पारामा

सबै आ आफ्नै पारामा

एक जोडी प्याराग्लाइडिंग ;)

एक जोडी प्याराग्लाइडिंग 😉

हाम्रो पोखरा, राम्रो पोखरा

हाम्रो पोखरा, राम्रो पोखरा

ओरालो लाग्दै

ओरालो लाग्दै

हाइकिंगम सहभागी ट्विटेहरु:

@puruad @ArgheloThapa @Sameerkatel @koshisojha @PreMantry @iprithak @Lionel_Anup @Is_aryal @gobinthe @hunter0buda @AshishKunwar @AjayAnamol @Lucky_cmp @anish_prati @ranjit_karki @m_w8ing4u @Allaaree

 

2 Responses so far.

  1. गज्जबको लेखन शैली ब्रो । सोंचेभन्दा धेरै राम्रो । भविष्यको डाक्टर मात्र हैन लेखक पनि हुन सक्ने सम्भावना रैछ । 😀

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com