Home » Old Blog » गोल….

२०५९ साल, कक्षा ४ मा पढिन्थ्यो । रवि सर आज स्कुल आउनुभएको थिएन, त्यसैले अन्तिम घन्टी भएन । स्कुल अलिक चाढै नै छुट्टी भयो । राम, गोपाल र म संगै घरतिर लाग्यौं । असारको मौसम, फाट्टफुट्ट पानी छिटाइरहेको थियो । पारी डाँडामा भने ठूलै पानी दर्कीरहेको थियो । बिहान घाम लागेकोले ओढ्नलाई प्लास्टिक ल्याएको थिएनौं । यो वर्खामासको पनि भरै नहुने, कहिले घाम, कहिले पानी । आज वित्यासै पार्ला जस्तो छ नि, म मनमनै सोच्दै थिएँ ।

भन्ज्यांग पुगेसी पल्ला घरे काकी भेट भयो । फाँटबाट मेला सकेर उकालो लाग्दैथिन ।

“चाढै लम्क है बाबु हो, बेशी फाँटबाट ठुलै पानी आउदैछ यता ।” उनले पनि छिटो बाटो लाग्न सुझाव दिईन ।

लौ पानीले गोद्नेभयो भन्दै हामी वित्तातोडले कुद्न लाग्यौं । अलिक पर पुगेसी खुट्टा ढुंगामा अल्झेर चप्पलको तना चुड्यो । ओहो कसो लडिएन । एकहातले चप्पल र अर्को हातले किताव काखीमा च्यापेर म पनि पछिपछि कुदें । घर पुगुन्जेलसम्म पानीले ठूलै रुप लिईसकेको थियो । रामे र गोपालको घर अलिक ओरै थियो ।

“छिटो तयार भएर वस है । हामी खाजा खाइहोरी आइहाल्छौं, ढिला गर्नुहुन्न्न, फेरि भ्याइन्न ।” रामले छुट्टिनुअघि भनेको थियो । म मुन्टो हल्लाउदै आफ्नो घरतिर लागेँ ।

“आमा, खाजा के छ आज?”

घर पुग्ने वित्तिकै कितावकापी फ्यात्त खाटमा फाल्दै आमालाई सोधें । चुडिएको चप्पललाई खाटमुनि मिल्काएँ ।

“लुगा फुकालेर भित्र आइज बाबु” आमाले मायालु पाराले बोलाउनुभयो । भित्र धुवाँले कुइरीमण्डल भएको थियो । आमा खयाक्क र खुक्क खोक्दै अगेनामा फू फू गर्दै हुनुहुन्थ्यो । म हतार हतार भित्र छिरें, अनि थालको मकै भटमास बाहिर ल्याएर खाटमा बस्दै कर्याम कर्याम चपाउन थालें ।

“ल हेर त, लुगा पनि नफुकाली, हातगोडा पनि नधोईकन यत्तिकै खान वसेको, खुट्टा पनि हिलै हिलो छ।“ आमा भित्रबाट मुर्मुरिदै हुनुहुन्थ्यो ।

“आज अलिक हतार छ । पल्ला गाम जानु छ ।”

“किन जाने नि पल्ला गाम यस्तो पानी परीराको वेलामा? खुरुक्क घरै नवसेर ।” आमा भित्रैबाट च्याठीदै हुनुहुन्थ्यो ।

मैले सुनेको नसुनेझै गरेर मकै भटमास चपाईरहें । निकै भोक लाग्यारैछ क्यारे, ठेट्ना पनि बाँकी नराखी सिनित्त पारें । मकै भटमास पहिले यस्तो मिठो मलाई कहिल्यै भएको थिएन ।

“बा कता जानुभाछ ?”

“खेतमा जानुभाछ, पानी लाउन । अस्तिभर्खर खनेको कुलो पनि थुन्दीसकेछन असत्तीहरुले, गरिखाको त कसैले देखिनसक्ने भए नि ।”
आमा अझै के के बोल्दै हुनुहुन्थ्यो, म भने दलिनतिर लागेँ । दराज खोलेर पोहोर दशैंमा किनेको सर्ट र पाइन्ट झिकेर लगाएँ । ऐनामा हेर्दै कपाल कोरें र अस्ति बा ले बजारबाट ल्याइदिनुभएको सानो भकुण्डो गोजीमा हालें । आफुलाई कुनै फिल्मको हिरोझैँ सम्झें । आकासे निलो सर्ट, खैरो पाइन्ट, साँचै म गीतमा हिरोइनसंग नाच्ने र गुण्डालाई कुटेर भगाउने हिरोभन्दा कम थिइन ।

पानी अझै दर्किदै थियो, भित्तामा किलामा झुण्डाइराखेको ओड्ने प्लास्टिक पनि झिकें ।

“ओइ किस्ने !”

तलबाट बोलाएको आवाज आयो । म छिटोछिटो भर्यांगबाट तल झरें, राम र गोपाल आइसकेका रहेछन ।

“ल हिड केटो, ढिलो हुन आँटीसक्यो ।” उनीहरुले हिड्न इशारा गरे ।

“आमा, म गएँ है, अलिक ढिलो हुन्छ होला” आमा अझै पनि भित्र अगेंनामा फू फू गर्दै हुनुहुन्थ्यो, सायद दाउरा पानीले भिजेर नवल्ने भएको थियो ।
पल्लो गाम जान लगवग एक घण्टा लाग्थ्यो । वेशी झरेर फेरि उकालो लाग्नुपर्थ्यो । खेतखेतै जाने हो भने चै पौने घण्टामा पुगिन्थ्यो ।
समीको फेदबाट ओरालो लाग्नै लाग्दा साने काकासंग भेट भयो । एक हल गोरु र हलो-जुवा काँधमा हालेर बुढा घरतिर उकालो लाग्दैथे ।

“कता हो केटाहो?”

“हामी पल्लो गाउ जान लाग्या काका ।”

“यस्तो पानीमा । विस्तारै जाओ, चौतारा नेर पैरो गाकोछ, बाटो चिप्लो छ लडौला ।”

“हुन्छ काका ।”

हामी बुट्यानहरुको आड लिदै ओरालो लाग्यौं । नभन्दै चौताराभन्दा अलिक मुनि पैरो गारैछ, बाटो पनि कटेको रैछ । घुमेर अलिक माथिबाट अगाडी लाग्यौं ।

छोटो बाटो रोज्दै हामी खेतको आली-आली दगुर्दै थियौं । वर्खामास, पानी परिरहेको समय, त्यसमाथि हतार हतार हिडिरहेको हामी । खेत रोप्नलाई भर्खर लगाएको आली थियो । घाँस उम्रेर माटोलाई समाएको थिएन । तैपनि धन्न खुट्टाले ठाउमै टेकिरहेको थियो ।

खेत सकिनै लागेर उकालो आउन लागेको थियो । एउटा अग्लो काँन्ध्लोबाट आली कटाएर तल्लो गरामा पानी लाइरहेको थियो । फड्किन खोज्दा मेरो खुट्टाले ठाउ छोड्यो । आलीको डिलमा गएर खुट्टा टेकियो । अनि म चिप्लिएर तल्लो गरामा वजारिन पुगें । तल पुग्दा पाइताला गएर मकैको ढोडमा विझ्यो र छेस्कोले खुट्टै छेडेजस्तो भएर बेस्मेरी दुख्यो । म खेतको कुनामा उत्तानो परेर पल्टिएँ ।

“आइया” वेस्मेरी चिच्याएँ ।

राम र गोपाल हत्त न पत्त मलाई उठाउन आए । तानेर माथि डिलमा लगेर राखे । खुट्टामा छेस्का विझेको ठाउमा छाला उप्केको थियो भने बाँया खुट्टा पनि मर्केको थियो । हातमा र पुरै कपडामा हिलैहिलो लागेको थियो ।

“दुखेको छ ? हिड्न सक्छस ?” गोपालले सोध्यो ।

“सक्छु” म वल गरेर उठेँ र खुट्टा खोच्याउदै हिड्न खोजें ।

“नसक्ने भए फर्किउ घर, म बुइमा बोकेर लान्छु ।” रामले शान्त्वना दियो ।
तर मलाइ जसरी भए पनि जानुनै थियो । आफ्नो निर्णयबाट पछि हट्ने पक्षमा म थिइन ।

“वरु एकछिन आराम गरौँ, अनि त्यसपछि कुदौंला ।” गोपालले नयाँ उपाय सुझायो ।

एकछिन आराम गर्न लागियो । म भने खुट्टा खोच्याउदै अलिक पर कुलोनेर हातमा र लुगामा लागेको हिलो पखाल्न लागेँ । परबाट एकजना अधवैशें पुरुष आकृति हामीभए तिरै आउदैथियो । यस्तो पानी परिराको वेलामा, त्यो पनि खेतमा, को हुन सक्ला त । हामी तिनै जना गम खायौं । नजिक आएसी

वल्ल थाहा पाइयो, बा पो हुनुहुदोरहेछ । अँ, अघि आमाले त बा खेतमा जानुभाछ भन्नुभाथ्यो ।
बालाई सव कुरा वेलीविस्तार लगायौं । उहाँ पनि हामीसंगै पल्लो गाम जाने हुनुभो । एकछिन पछि हामी सबै उकालो लाग्यौं, बाले मलाई काँधमा बोक्नुभयो । म अझै सानो छंदा कहिलेकाहि बजार जाँदा बाले मलाई काँधमा बोक्नुहुन्थ्यो । अहिले भने ठूलो भैसकेकोले म आफै हिडेरै जान्थें । म फेरि बाको काँधमा चढ्न पाएँ, मेरो खुसीको सिमा रहेन । पानी पर्न भने अझै पनि रोकिएको थिएन ।

ऊकालो हिड्दा हिड्दै हामी पल्लोगाम नजिकै पुग्यौं । त्यहाँसम्म पुग्दा भने पानी अलिअलि थामीइसकेको थियो । पुछार घरबाट सिधै मुखियाबाको घरतिर
तेर्सै लाग्यौं । मुखियाबाको घरको आगनमा ठुलै भिड थियो । भुराभुरी, तन्नेरी बुढा बुढी सबै जम्मा भएका थिए । हामी पुग्ने वित्तिकै एक्कासी सबै चिच्याए ।

“गोओओओओल”

रोनाल्डोले ब्राजिलको लागि दोश्रो गोल गरेको थियो ।

हामी तिन जना पर्खालमा वसेर खेल हेर्न लाग्यौं । बा भने कोको संग गफ गर्न लाग्नुभयो । खेल सकिन लाग्दा भने कहिल्यै नसकिए नि हुने झैँ लाग्दैथियो । रेफ्रीले ९० मिनटको सिठी वजाए । ब्राजिलले खेल २-० ले जित्यो र विश्वकपको ट्रफी उचाल्यो । रोनाल्डोले सबैभन्दा धेरै गोल गरेबापत सुनको जुत्ता पनि पायो ।

ब्राजिलले जितेसी र रोनाल्डोले सुनको जुत्ता पाएसी मेरो मन चंगा जस्तै भयो, कता कता उड्न थाल्यो । खेल सकिएसी वेलुकी ७ बजेतिर हामी घर फर्कियौं । फर्कदा पनि बाले मलाइ काँधमै बोकेर घर पुराउनुभयो । त्यसपछि धेरै दिनसम्म घरको आगनमा बाले ल्याइदिनुभएको बल खेल्दा आफुलाई रोनाल्डो सम्झेर गोल हानीरहें । सोचें, कुनैदिन म पनि साँचिकै रोनाल्डो जस्तै बन्छु र नेपाललाई विश्वकपमा पुराएर त्यसरीनै गोल हान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com