Home » Old Blog » सपना लिलामीमा छ….(भाग २)

story
(Smoking is injurious to health)

भाग १ पढ्नुभो? छैन भने यहाँ क्लिक गर्नुहोला!

आँखा खुल्यो, कुनै लामो निन्द्राबाट व्युझेझैँ भान भयो । टाउको भारी थियो, निधारमा पट्टीहरु वाधिएका थिए भने हातमा पनि सेता व्याण्डेज कसिएको थियो । म कुनै जेलमा निर्ममतापुर्वक यातना दिइएको कैदी झैँ लाचार भएर अस्पतालको शैयामा पल्टिरहेको थिएँ । नजिकै स्ट्याण्डबाट सलाइनका थोपा तप्प तप्प चुहिदै थिए, ति पाइप र सुइ हुदै म भित्र पसिरहेका थिए र मलाई जीवित तुल्याईरहेका थिए । म शरिरको जीउदो थिएँ, तर मेरो हंसले ठाउँ छोडिसकेको थियो । म आफै आफुलाई जीवित भएको पत्त्याईरहेको थिइन, तर मेरो मुटु धड्किरहेको थियो, श्वासप्रश्वास चलिरहेको थियो । हो म जीउदो थिएँ, म मा जीवन थियो ।

“बाबु”

माइजुको आवाजमा केहि उत्साह थियो ।

“हजुर”

म मलिनो स्वरमा बोलें ।

“कस्तो छ तपाईलाई ?”

“ठिकै छ”

मैले पुलुक्क उहाँको अनुहारमा हेरें, मामा पनि नजिकै हुनुहुन्थ्यो ।

“अहिले विरामीलाई धरै बोल्न नलगाउनुहोला” नर्सले भनिन, “ तपाईहरु एकछिन वाहिर गईदिनुहुन्छ कि”

मामा, माइजु वाहिर निस्कनुभयो ।

पल्लो बेडमा आयशा उठेर म तिर हेर्दै टोलाइरहेकी थिइ । ऊ तिर फर्केर हेरें, मधुर मुस्कानले मुस्कुराईरहेकी थिइ । उनको त्यो मुस्कानमा खुसी भन्दा पनि पिडा प्रष्ट झल्कन्थ्यो । मान्छेहरु विरलै पिडामा पनि मुस्कुराउन सक्छन, साच्चै मनमा आँशुको भंगालो लिएर ओठमा मुस्कुराउन ठुलै साहस चाहिन्छ । वास्तवमै आयशा साहासी थिइन ।

अस्पताल भर्ना भएको चौथो दिनमा म डिस्चार्ज भएँ । थप १५ दिन घरमै आराम गर्ने डाक्टरहरुको सुझाव थियो । आयशा दुई दिन अघि नै डिस्चार्ज भएकी थिइ । अब १५ दिन मैले घरमै विताउनुपर्ने थियो । यो मेरो लागि ठुलै संकट थियो ।

मसंग नोकिया ६३०० मोडलको मोबाइल थियो, स्कुलमा छात्रवृति पाएको पैसाले किनेको । मेरो आफ्नै मेहिनतको कमाई, मेरो आफ्नै परिश्रमको फल । कलेजमा मोबाइल लान पाइन्थेन, घरबाट कहिलेकहिँ फोन आउथ्यो, अरुबेला खासै प्रयोग हुन्थेन । यो बेला टाइम पास गर्न भने यसले ठुलै मद्दत गर्यो ।

म सानै देखि रेडियोको पारखी थिएँ । स्कुल पढ्दा रेडियो नेपालबाट आउने “साथी संग मनका कुरा” नछुटाई सुन्थें । पछि पोखराबाट एफ. एम. पनि बज्न थाल्यो, रेडियो अन्नपूर्ण, रेडियो बाराही आदि आदि । पाल्पाको रेडियो मदनपोखरा र चितवनको सीनार्जी एफ. एम. पनि टिप्थ्यो गाउँमा ।
भुराबेलामा म पनि पछि गएर यसरी नै रेडियोमा बोल्छु भनेर सोच्थें । फगत, ति सोचाई मै सिमित भए, म कहिले रेडियोमा वोल्न सक्ने भइन ।

यो १५ दिन मलाई काठमान्डौको एफ. एम. ले राम्रै साथ दियो । पल्पसा क्याफे पनि पढें । पल्पसाको ठाउँमा आयशालाई राखें, अनि म त्यो चित्रकार । ओहो, हाम्रो त्यस्तो बिछोड नहोस भनेर मनमनै भगवान पुकारें ।

मोबाइलमा “गेट वेल सुन” भनेर एस. एम. एस. पठाइरहन्थी । ऊ भने सन्चो भएर कलेज जान थालीसकेकी थिइ । यस्तै गर्दा गर्दै १५ दिन मुस्किलले कट्यो । निधारमा घाउका खतहरु अझै सन्चो भइसकेका थिएनन । अझै एक हप्ता म घरै वसें ।

आयशा संग भेट नभएको पनि १ महिना हुन लागिसकेको थियो । लामो आराम पछि म लगवग सन्चो भएँ र फेरि कलेज जान लागेँ ।

आज १ महिना पछि म फेरि कलेज जान लाग्दैछु । आयशालाई एस. एम. एस. पठाएँ, “ बि इन बालाजु स्टप एट सिक्स, एम कमिंग टुडे ।” माइक्रो चढेर बालाजु पुग्दा ऊ कुरीरहेकी थिइ । मलाई गाडीबाट ओर्लने इसारा गरी । म अक्क न वक्क परें । अनि गाडीबाट ओर्लिएँ । हात समातेर अलिक पर लगी । हामी रिंगरोडको गाडी चढ्यौं, अनि लगनखेल पुगेर ओर्लियौं । त्यहाँबाट फेरि अर्को गाडी चढेर गोदावरी पुग्यौं । ऊ मलाई डोहोराइरहेकी थिइ र म पछिपछि लागिरहेकी थिएँ ।

हामी दुवै चुप थियौं, उसको आँखामा आशु टिलपिल गरिरहेका थिए । अलिक पर एकान्तमा पुगेपछि उ मेरो अँगालोमा वाधिई, र आँशु झार्दै भनी,

“आकाश, आइ लभ यु !!!!!”

उसले मसंग टाढिएको एक महिनाको मनको वह पुरै एकै सासमा पोखी ।

एक्कासी सन्नाटा छायो । चराको चिरविर पनि सुनिन छाड्यो । झरिरहेका रुखका पातहरु पनि रोकिएका झैँ भए । हावा वहन छोडे झैँ भयो । भर्खरै आँधीवेरीले उडाएर लगेको वस्ती झैँ उजाड भयो, सुनसान छायो । म पनि अवाक भएँ ।

मैले मौनता तोड्दै भनें,

“आई लभ यु टू आयशा, आइ लभ यु टु”

शांसारिक प्रेमको अन्तिम रुप आखिरीमा शारीरिक नै हुदो रहेछ । हो, मैले आयशाको ओठमा आफ्नो ओठ स्पर्श गरें । प्रेमको चुम्वकीय शक्तिले दुई मनलाई जोड्ने सबैभन्दा आत्मीय माध्यम चुम्वन रहेछ । मैले अनुभव गरें । त्यो पल मेरो लागि जिन्दगीको सबैभन्दा उत्कृस्ट पल थियो ।

अघिको त्यो सन्नाटा क्षणभरमै प्रेमिल वातावरणमा परिणत भयो, कुनै नाइन्टीज तिरका सिनेमाका रोमान्टिक दृश्य जस्तै । त्यो दिन हामीले प्रेमका रंगिन आयामहरु एक आपसमा साट्यौं । दिनभर मिठा मिठा गफ गर्दै यता उता डुलीरह्यौं । भविष्यका सुन्दर सपना सजाउदै कल्पनाको सागरमा संगसंगै डुबुल्की मार्यौं ।

अर्को दिनदेखि हामी पहिले जस्तै कलेज आउने जाने गर्यौं । छुटेको कोर्स कभर गर्न अलिक समय लाग्यो । आयाशाले साथीहरुसंग नोटहरू मागेर सबै सारिसकेको रहिछे । मैले उसकोबाट नोटहरु लिएँ ।

त्यो दिनपछि प्राय शनिवार हामी कतै न कतै घुम्न गइरहेका हुन्थ्यौं । काठमान्डौ नजिकैका ठाउँहरु धुलिखेल, चोभार, दक्षिणकाली, ककनी प्राय सबै हामी पुगीसकेका थियौं ।

कलेजमा पढाइ पनि धमाधम भईरहेको थियो । म धेरै समय पढाइको लागि दिन सकिरहेको थिइन । अझै एक महिनाको छुटेको कोर्स पनि कभर गर्नु थियो । मेरो लागि आयशा जति महत्वपूर्ण थिइ मेरो जीवनका लक्षहरु पनि उतिनै महत्वको थिए । हो, म प्रेममा वहकिएर आफ्नो भविष्य र सपनाहरुलाई तिलान्जली दिने पक्षमा थिईन । प्रेमलाई अभिसाप रुपमा होइन, उर्जाको रुपमा प्रयोग गर्नु मेरो लागि पक्कै पनि ठुलै चुनौती थियो ।

समय वित्दै थियो । हेर्दाहेर्दै कक्षा ११ को बोर्ड परिक्षा पनि आयो । कलेजमा परिक्षाको तयारीको लागि छुट्टी भयो । म घरै बसेर पढाइको गतिलाई अघि बढाउन थालें । आयशालाई पनि त्यहि सुझाएँ ।

परिक्षाको दिन आयो । अलिअलि डर र धेरै आत्मविश्वासलाई सँगैसँगै अँगालेर परिक्षा दिएँ । सबै पेपर राम्रै भयो । एक्जाम पछिको छुट्टीमा म घर आएँ । यसरी मेरो काठमान्डौ वसाइको एक वर्ष पुरा भयो ।

*****

साँझ झमक्कै परिसकेको थियो । पानी पनि झन झन दर्कीरहेको थियो भने मेघ गर्जने र विजुली चम्कने पनि भईरहेको थियो । ती पल्लो हटमा रहेका दुई जोडी कुइरे र गाइड आ-आफ्नो रुकस्याक बोकी बाटो लागिसकेका थिए । हाइवेमा गाडी उही रफ्तारले गुडीरहेका थिए । पारी धम्पुसको डाँडो पनि झिलीमिली भइसकेको थियो । कपको पिंधमा अलिकति कफि सेलाइरहेको थियो । म तेस्रो सुर्य वाल्ने तयारी गर्दै थिएँ ।

“आकाश, तिमी???”

एक परिचित आवाजले वोलायो । मैले पछाडी फर्केर हेरें…….

क्रमश:

One Response so far.

  1. […] भाग २ पढ्नुभयो? छैन भने यहाँ क्लिक गर्नुहोस !! […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com