Home » Old Blog » सपना लिलामीमा छ…. (भाग १ )

story

(धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ)

सिमसिम पानी परिरहेको छ । भण्डारी रेस्टुरेन्ट एण्ड खाजा घर आइपुग्दा म गाडीबाट ओर्लिएँ । रोडको डीलमा रहेको रेस्टुरेन्टकै खरले छाएको हटमा गएँ । नजिकै अर्को हटमा दुई जोडी कुइरे र एक नेपाली गाइड पनि सुस्ताईरहेका छन । ठ्याकै नाम ठम्याउन सकिन तर कुनै इम्पोर्टेड व्राण्डको वाईनको चुस्की लगाइरहेका थिए । वेदरले नि तिनीहरुलाई साथ दिइरहेको थियो, न ठिहिराउने चिसो न त उखरमाउलो गर्मी नै । खरको छानोबाट टेवलमा तप्प तप्प पानी चुहिदै थियो, नजिकै रहेको एस्ट्रे र सलाईलाई पानीबाट जोगाउन अलिक ओर सारें ।

“अ कप मिल्क कफी एण्ड अ सिगरेट प्लिज” मैले अर्डर गरें ।

मौसम खुला रहेको वेला यहाँबाट माछापुछ्रे, अन्नपूर्ण र धवलागिरी प्रस्टै देख्न सकिन्छ । अहिले पानी परेकाले पुरै वादल मात्र देखिएको छ । साँझ पर्न लागेकाले रिमरिम अध्यारो भइसकेको छ । पारी धम्पुसको डाँडामा रहेका टुरिस्ट लजमा वत्ती वल्न थालीसकेका छन् । सायद शरुभक्तका “पागल वस्ती” का अवशेषहरु तिनै डाँडा मुन्तिर छन् । विचमा रहेको घट्टेखोला सुसाएको त्यति सुनिन्न । ए साँची सानै पो छ त है त्यो खोला, तैपनि वर्षामा त भेल आएर बढ्नुपर्ने हो । हाइवेमा वाग्लुंग र कुश्माबाट छुटेका रात्री वसहरू आफ्नै वेगमा गन्तव्य तर्फ हुइकिरहेका छन्, नाउडाँडा, हेम्जा हुदै पोखरा अनि काठमान्डौसम्म ।

कफी र सिगरेट आइपुग्यो । सलाई कोरें, सल्काएँ अनि कफीको चुस्कीसंगै सम्झन थालें विगतका स्मृतिहरु जो मेरो मानसपटलमा आज पनि उस्तै सलवलाईरहेछ, खेलीरहेछ र कहिले नमेटिने अमिट छाप वनेर मनमा तिखो वाण हानिरहेछ ।

******

मेरो घर पोखरा नजिकै लुम्लेमा थियो । घरमा आमा, बुबा म र बहिनी गरी ४ जना थियौं । बुवा कृषी अनुसन्धान केन्द्रमा जागिरे हुनुहुन्थ्यो । मध्यम वर्गिय परिवार थियो हाम्रो । लाउन खान त्यति ठूलो समस्या थिएन ।

यसपाली मेरो एस. एल. सी. सकियो । म्याथ अलिकति विग्रियो, नत्र अरु सवै राम्रै भयो । अव काठमान्डौ जाने, व्रिज कोर्स पढ्ने, अनि प्लस टु पनि उतै पढ्ने । प्लस टु मा वायोलोजी लिने, अनि पछि गएर डाक्टर वन्ने, गाउँमै आएर एउटा अस्पताल खोल्ने गर्ने अनि यही सेवा गर्ने । यी फगत सपनाहरु मात्र थिएनन, मेरा लागि अघि बढ्ने साहस र आत्मविश्वास पनि थिए । यीनै कल्पनाका त्यान्द्राहरु बुन्दै म आफ्नो गन्तव्यपथमा लागेँ, भलै मेरो लागि यो एक साहसिक यात्रा भन्दा कुनै कम थिएन ।

मामाले हिजो फोन गरेर, भान्जालाई चाडो काठमान्डौ पठाइदिनु भन्नुभएको थियो । एस. एल. सी. सकिएको तेस्रो दिन म काठमान्डौ लागेँ लुम्लेबाट ।
काठमान्डौ नयाँ वसपार्क ओर्लिएँ । मेरा अनगिन्ती सपनाहरु र चुनौतीहरुले पनि मलाई पछ्याएका थिए, यो मानवता हराएको मान्छेहरुको शहरमा । भूपी शेरचनले उनको कवितामा सहि भनेका थिए, यहाँका मान्छेहरु उदाश छन् किनकी उनीहरुलाई दिनभरी रुपयाँले टोक्छ र रातभरी उपयाँले टोक्छ । मान्छेहरुको मुहारमा कुण्ठा र आवेग प्रस्ट झल्किन्थ्यो, कहिलेकाहि उनीहरु देखाओटी हाँसो हास्दैथिए ।

मामा लिन आउनुभएको थियो । त्यसपछि मामाको कोठा नेपालटार तिर लाग्यौं । मामा एउटा एन. जी. ओ. मा काम गर्नुहुन्थ्यो । दुई छोरा थिए, जेठो चै ८ क्लासमा पढ्दै थियो । उसंग मेरा प्राय गफहरु मिल्थ्यो । भोलिपल्ट उसंगै वालाजु वाइसधारा पार्क गएँ, ओरीपरी घुमघाम गरें । पर्सीपल्ट बागबजारको एउटा इन्स्टिच्युटमा व्रिज कोर्सको लागि भर्ना भएँ ।

क्लास मर्निंग शिफ्टमा थियो । विहान साढें ५ मै कोठाबाट हिड्नुपर्थ्यो । २३ नं रुटको माइक्रो, नेपालटारबाट वाइपास हुदै माछापोखरीसम्म आइपुग्दा खुट्टा राख्ने ठाउँ हुन्थेन । प्राय सबै कलेज पढ्ने विद्यार्थी हुन्थे । मलाई भने सुरुकै स्टपमा चढ्ने हुँदा खासै समस्या हुन्थेन, सीट पाइहालिन्थ्यो । दिन वित्दै गयो, क्लासमा पनि नयाँ साथीहरु वन्दै गए । क्लास सकेपछि समय मिलेमा काठमान्डौका ठाउँहरु घुम्न गइन्थ्यो । सुरुसुरुमा विरानो लागेपनि विस्तारै मेरो काठमान्डौ वसाई रमाइलो वन्दै थियो ।

“आज क्लास जानुहुन्न भान्जा वावु?”

माइजुको आवाजले म झसंग व्युझिएँ । घडी हेर्दा सवा ५ भइसकेछ । हतार हतार उठी मुख धोइहोरी कपडा लगाएर रेडी भएँ । माइक्रो स्टपमा पुग्दा पौने ६ भइसकेको थियो । गुड्नै लागेको गाडी फेला पर्यो र चढीहाँले । आज गाडी त्यती प्याक थिएन । अरुवेला ५ जना अटाइनअटाई राख्ने लास्ट सीटमा आज जम्मा ३ जना थिए । आज कुनै बिदा थियो र ? एकछिन गम खाएँ ।

वालाजु चोक आइपुगेसी एउटी केटी चढी, हेर्दा यसैपाली एस. एल. सी. दिएझैँ देखिन्थी । मेरो छेउमा सीट खाली थियो, त्यहि आएर वस्ली भनेर म झ्यालपट्टी सरेझै गरिदिएँ । सोचेजस्तै भयो, ऊ मेरै साइडमा आएर वसी । ऊ पनि अलि हतारिएझैँ देखिन्थी । म कर्के नजरले उनलाई हेर्ने कोशिश गर्दै थिएँ तर हेरिहाल्न भने सकेको थिइन ।

“दाइ, भाडा पाम त, अनि दिदीको नि”

म झसंग भए । झ्यालमा उही केटीको छायाँ हेर्दै टोलाईरहेको रहेछु । यी माइक्रोवालाहरु पनि जसलाई पनि दाई दिदी देख्छन, हेर्दा २ ओटा घोर्ले छोराको बाउ जस्तो छ, अझ दाई अरे, मनमनै सोचें ।

२० रुपयाँ दिएर दुई जनाको कटाउनु भन्न मन लागेको थियो, तर आँट आएन । आइडी कार्ड हेर्दा थाहा पाएँ उनी पनि मै पढ्ने इन्स्टिच्युटमा पढ्दै रहिछिन । नाम चै “आ…….” थुक्क ठम्म्याउनै सकिएन । भृकुटीमण्डपबाट ओर्लेर उनी छिटो छिटो गर्दै बागबजार तिर लागिन, म नि उनकै पछि पछि लागेँ । क्लास पुगेसी थाहा पाएँ उनि अर्कै सेक्सन कि रैछिन ।

हरेक दिन म माइक्रोमा चढ्दा उसलाई खोज्थें । वालाजु चोकमा आइपुगेसी घाँटी तन्काएर वाहिर हेर्थें, देखें भने बोलाउछु भन्ने आँट निकाल्थें । वालाजु चोकमा अरु रुटबाट आउने माइक्रोहरु नि हुन्थे, सायद अर्कैमा चढ्थी । त्यो एक दिन केवल एउटा संयोग थियो । इन्स्टिच्युटमा आक्कल झुक्कल मात्रै देख्थें ।

शनिवार सधै टेस्ट हुन्थ्यो । एक शनिवार म जाँच दिएर फर्कदै थिएँ । माइक्रो चढें र लास्ट सीटमा गएर वसें । झ्यालको छेउको सीटमा उहि केटी थिई । पेपर हेरेर मार्क गेस गर्दैथी । उसले नि मलाई देखी र अलिक अकमकाए झैँ गरी । म उसँग वोल्न चाहन्थें, सायद ऊ पनि त्यहि चाहन्थी । तर कसैको वोली फुट्न सकेन, सायद हामी केहि वन्धनले वाधिएका थियौं वा लाग्थ्यो हामीवीच एउटा ठूलै काँडेतार वारिएको थियो । वालाजु चोक पुगेसी ऊ माइक्रोबाट ओर्लिइ, म उसैलाई हेरीरहें । अलिक टाढा पुगेपछि पछाडी फर्केर हेरी, अनि मिठो मुस्कान दिएर गइ । म लाटिए झैँ भएँ, कसैलाई यति सुन्दर मुस्कानमा पहिलोपल्ट देखेको थिएँ । सायद भगवानले कसैकसैलाई फुर्सदमा बनाएका हुन्छन, कला भरेका हुन्छन, फूलबुट्टाले सिंगारेका हुन्छन, यीनी तिनै मध्य एक थिइन् ।

यस्तै गरि दिनहरु बित्दै गए । ३ महिनाको व्रिज कोर्स सकिएको पनि पत्तो भएन । अव त रिजल्ट आउने बेला पनि भयो । नभन्दै असारको अन्तिम साता रिजल्ट आयो । डिस्टिंकसन आएको रहेछ । म कक्षा प्रथम सहित स्कुलबाट अहिलेसम्मकै सर्वोत्कृष्ट अंक ल्याउने छात्र भएँ । खुसीको सिमा रहेन । रिजल्ट आएसी घर गएँ । स्कुलमा सम्मान तथा विदाई कार्यक्रम आयोजना गरिएको थियो । यसैपाली देखि सुरु भएको छात्रवृति अन्तर्गत मैले रु १० हजार छात्रवृति पनि पाएँ । सबैले सुन्दर र उज्ज्वल भविष्यको शुभकामना पनि दिए ।

काठमान्डौ आएँ । बागबजारमै एउटा नाम चलेको प्लस टु कलेजमा भर्ना भएँ । मेरो गन्तव्यको अर्को एउटा अध्याय थपियो । ११ कक्षाको पहिलो दिन,

“हे, तिमी पनि यहि एडमिसन भयौ?” पछाडी एउटा परिचित आवाजले वोलाईरहेको थियो ।

“ओ, तिमी??” मैले जवाफ फर्काएँ ।

“अँ म, मी आयशा” उसले हात अगाडी बढाई ।

“म आकाश” मैले पनि हात लम्काउदै जवाफ फर्काएँ ।

“नाउ वी आर फ्रेन्स ओके?”

“स्योर, भैहाल्छ नि”

“अनि हाउ वाज योर रिजल्ट?” ऊ प्राय प्रश्न अंग्रेजीमै गर्दैथी । म एक एक गरेर जवाफ फर्काउदैथें, यो दृश्य कतै जागिरका लागि दिएको इन्टरभ्यु जस्तो लाग्दैथ्यो ।

“एट्टी टु पर्सेन्ट, तिम्रो नि?”

“मेरो एट्टी फो, ल कंग्राच हामी दुवैलाई ”

गफ गर्दा गर्दै सर क्लासमा छिर्नुभो । म केटाहरुको ग्रुपमा गएँ, ऊ केटीहरुको हुलमा मिसीई ।

कलेज सकिएसी हामी दुवै संगै फर्कियौं । चाडै नै हामी दुई राम्रा साथी भइसकेका थियौं । कलेज आउने जाने सँगै गर्थ्यौं ।

एक दिन विहान माइक्रोमा हामी दुवै कलेज जादै थियौं । ड्राइभरले माइक्रो वेतोडले हाँकिरहेका थिए । माइक्रो प्याक नै थियो । विहान भएकाले रोडमा खासै गाडी पनि थिएन । शोह्रखुट्टेको उकालोमा पुग्दा गाडीले टर्निंग लिएन । उताबाट मिनीवस पनि हुइकिदै आइरहेको थियो । झर्याम्म ठोकियो, सिसाहरु फुटे र गाडी कोल्टे फर्कियो । सवै चिच्याए, आयशाले मलाई च्याप्प समाती । म अचेत झैँ भएँ । त्यसपछि के के भयो पत्तो पाइन…..

क्रमशः

2 Responses so far.

  1. Mukul Dhakal says:

    दोस्रो भागको अपेक्षामा 🙂

  2. […] भाग १ पढ्नुभो? छैन भने यहाँ क्लिक गर्नुहोला! […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com