Home » Old Blog » पत्रकारहरुलाई खुला पत्र

यो लेख अनलाइन डिजिटल पत्रिका “सेतोपाटीमा” छापिएको थियो!!

आदरणीय पत्रकार बन्धुहरु,

नमस्ते !

म एक आम सर्वसाधारण नेपाली। हजुरहरुको पत्रिका, समाचार र रिपोर्टहरुको नियमित पाठक पनि । समाचार सम्प्रेषण, प्रसारण र प्रकाशन सम्बन्धी केहि गुनासा र सुझावहरु भएकाले यो पत्र लेख्दैछु। म पत्रकारिताको विद्यार्थी नभएकाले यस विषयवारेमा मेरो बुझाई, ज्ञान र चेतना कतिसम्म सहि या गलत रहेछ यसको मुल्यांकन हुनेछ भन्ने विश्वास लिएको छु ।

सामान्यतया, समाजमा कुनै घटना घट्छ । राजनीतिक, सामाजिक, आर्थिक, खेलकुद, स्वास्थ्य, मनोरंजन आदि विभिन्न विधाका घटनाहरु सार्वजनिक चासोको विषय भएमा फिल्ड रिपोर्टरहरुले त्यसलाई खेस्रा वनाएर टिप्छन । अनि आवश्यक सम्पादन पछि रेडियो, टेलीभिजन, पत्रिका, अनलाइन तथा संचारका अन्य विभिन्न माध्यमबाट त्यो समाचार प्रकाशन र प्रसारण गरिन्छ र आम जनता सामु आइपुग्छ। वास्तवमा पत्रकारिता पेशा भनेको नदीका दुई किनाराका रुपमा रहेको “समाजमा घटेका घटना” र “आम जनता” लाई जोड्ने एउटा पुलजस्तै हो। म लगायत धेरै मानिसहरुको यस प्रक्रियाका बारेमा बुझाई पनि यहि हो ।

आम जनतासँग प्रत्यक्ष जोडिएका विषयवस्तु र घटनाहरुलाई जस्ताको तस्तै जनताकै माझमा पुराइने पेशा पत्रकारिता हो । यसै कारणले र राज्यका तीनओटै निकायले गर्ने काम-कारबाहीको पहरेदारको भूमिका निर्वाह गर्ने भएकाले पनि यो क्षेत्रलाई राज्यको चौथो अंगको रुपमा तुलना गर्दै आइएको छ । अरु क्षेत्रलाई नियमन र खबरदारी गर्नुपर्ने पेशा पत्रकारिता आफै चै कतिको इमानदार छ त। के साँचै पत्रकारहरुले आफूलाई ऐनाको रुपमा उभाएर सामाजिक विसंगती, विकृति र कुरीतिहरुलाई आम जनताको माज छर्लंग पारिदिने काम गरेका छन् त । यी प्रश्नहरुको जवाफ खोज्नु अहिलेको टड्कारो आवश्यकता देखिएको छ । यसै विषयमा चुरो खोतल्न मैले केहि सवालहरुलाई बुँदागत रुपमा उल्लेख गरेको छु ।

१.पत्रकारिता र इमानादारिता:
इमानदारिता भनेको पत्रकारिताको मुटु हो। यो विनाको पत्रकारिता मृत पत्रकारिता वन्छ । के पत्रकारहरु आफ्नो पेशा र कर्तव्य प्रति साँचै इमान्दार छन् त ? के हाम्रो पत्रकारिता साँच्चै कुनै राजनैतिक पार्टीको गोटी वा व्यापारिक घरानाको दास वन्नबाट उन्मुक्त छ त ? आर्थिक प्रलोभन, राजनैतिक दलप्रतिको झुकाव, डर, त्रास र धम्कीबाट प्रभावित भएर भन्दा नि आम मानिसको सहि सूचना पाउने नैसर्गिक अधिकारलाई कतिसम्म न्याय गर्न सकेका छन् पत्रकार मित्रहरुले । त्यसैले आफू भित्रको पत्रकारलाई जीवन्त राख्नको निम्ती भए पनि एक पत्रकारले इमानदारिता नभुल्नुको विकल्प छैन ।

२.पत्रकारिता र सत्यता:
मैले रेडियो, टीभी, पत्रपत्रिका वा अनलाइनमा कुनै समाचार सुनें वा पढें। के म त्यो समाचार सत प्रतिशत सत्य छ भनेर ढुक्क बन्न सक्छु ? मैले कालोलाई कालो र सेतोलाई सेतो नै भनेको पढिरहेको वा सुनिरहेको छु, वा ठिक उल्टो ? पत्रकारिताको उदेश्य जनतालाई सहि सूचनाले सूसुचित गर्ने हो, तर पत्रकारिता यहिं चुक्यो भने? हो, हामी आम मानिसहरु सत्य र तथ्य युक्त समाचारका भोका हौँ । तर प्रतिस्पर्धाको वा सस्तो लोकप्रियताको नाममा पस्किएका आलोकाँचो समाचारका भुक्तभोगी भने हुन सक्दैनौं ।

३.पत्रकारिता र प्राथमिकता
प्राथमिकता र आवश्यकता पत्रकारिताका अर्का महत्वपूर्ण पाटाहरु हुन्। एउटा उदाहरण, हुम्लामा र मुगुमा मानिसले चामल र नुन नपाएको समाचार प्राथमिकतामा राख्ने कि काठमाडौंमा कुनै एउटा पाँचतारे होटलमा भएको सम्मलेन र भोजको समाचार। रुकुम र जाजरकोटमा जनताले न्युनतम स्वास्थ्य सेवा नपाएर छटपटाइरहेको समाचार प्राथमिकतामा राख्ने कि कुनै दलका एक नेता स्वास्थ्योपचारको लागि विदेश लागेको समाचार। कुन समाचारले विशेष महत्व पाउनुपर्छ, र यो खबर आम मानिसले थाहा पाएमा कतिलाई प्रोत्साहन र मिल्छ र कति नराम्रा कामहरु निरुत्साहित हुन्छन । घटनाक्रमहरुलाई त्यसै अनुरुप प्रकाशन र प्रसारण गरे पत्रकारितामा थप सुगन्ध थपिन जान्छ।

४.पत्रकारिता र जिम्मेवारी
निश्चय नै पत्रकारिता एउटा जिम्मेवार पेशा हो । जनताले कसैलाई ताली र हाईहाइ अथवा गाली र वाई वाई दिने संचार माध्यमको समाचारमै भर पर्छ । गलत बाटोमा लागेकालाई सहि बाटोमा ल्याउन तथा सहि बाटोमा लागेकालाई अझै प्रोत्साहन दिने वातावरण मिलाउन पत्रकारहरुको अहम् भूमिका रहेको हुन्छ । अनि यति जिम्मेवार क्षेत्रमा रहनुभएका पत्रकारहरु के आफ्नो जिम्मेवारी गहन रुपले निर्वाह गरिरहनुभएको छ त ? खोजी पत्रकारिता, परोपकारी पत्रकारिता आदि जस्ता यस क्षेत्रका विविध आयामहरूलाई आफ्नो व्यावसायिक जीवनमा कतिको लागु गर्नुभएको छ त्यो पनि मननयोग्य छ ।

वास्तवमा पत्रकारिता एउटा जटिल पेशा पनि हो । सत्य तथ्य बाहिर निकाल्न खोज्दा एकथरी पक्षलाई त्यसमा चित्त नबुझ्न पनि सक्छ। समाचार लेखेकै भरमा कति पत्रकारहरु माथि भौतिक आक्रमण भएको र आफ्नो व्यतिगत जीवनयापनमा समेत असुरक्षा बढेको कुरा पनि सर्वविदितै छ । विगतका युद्दकालमा होस् वा अन्य विसम परिस्थितिमा पत्रकारहरुले भोग्नु परेको असहजतालाई हामीले विर्सनु हुदैन। विभिन्न कालखण्डमा भएका राजनैतिक परिवर्तनमा पनि पत्रकारहरु अतुलनीय योगदान रहेको छ। पारिश्रमिक, सामाजिक सुरक्षा लगायत अनेकन प्रतिकुलतामा पनि आफ्नो व्यक्तिगत स्वार्थलाई तिलान्जली दिएर, एक सच्चा, कर्मनिस्ठ र इमानदार पत्रकारिताको धर्म निभाइराहनुभएका पत्रकार वन्धुहरुलाई हार्दिक नमन नगरिरहन सकिन्न ।

अन्त्यमा,
पत्रकारहरु भनेका समाज परिवर्तनका संवाहक पनि हुन् । देशको राजनीतिक, आर्थिक र सामाजिक स्थिति उकास्न पत्रकारहरुको पनि ठूलो भूमिका रहेको हुन्छ। त्यसैले व्यावसायिकता, सस्तो लोकप्रियता र कुनै किसिमको प्रलोभनमा परि आम जनताको सहि सूचना र समाचारले सुसुचित हुने अधिकारबाट कुण्ठित नगरियोस । वरु एक जिम्मेवार पेशाकर्मीको नाताले पेशागत धर्म, इमानदारीता र न्युनतम मूल्य र मान्यता नभुली सदा आफ्नो कर्तव्यपथमा लागिरहनुहोस्। शुभकामना ।
पुरुषोत्तम अधिकारी
आम नेपाली जनताको तर्फबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com