Home » Old Blog » परिवर्तन…
आँखुखोला अनि सुकौरा फांटको अवलोकन गर्दै

आँखुखोला अनि सुकौरा फांटको अवलोकन गर्दै

यो दिनको धेरै लामो समयदेखि पर्खाइ हुन्थ्यो । हरेक दिन स्कुल जानु अगाडी दशैँ आउन यति दिन बाँकी छ भनेर औला भाँचिन्थ्यो । विहान ७ वजे धादिंग वसपार्कबाट खहरेको लागि गाडी छुट्थ्यो । अरु सबैठाउ जाने गाडी गोंगबुको नयाँ बसपार्कबाट छुट्ने भए पनि धादिंग जाने गाडी माछापोखरीबाट छुट्थ्यो । आफ्नो गाउँलाई चै किन हेलाँ गरेर छुट्टै राखेको भनेर त्योवेला खुव चित्त दुख्थ्यो । हरेक वर्ष मनभरी हर्ष र खुसीका पोकाहरु संगालेर दशैंमा यसरीनै काठमान्डौ छोडिन्थ्यो, आफ्नो जन्मथलोको लागि, आफ्नै प्यारो गाउँको लागि ।

धादिंगवेसीबाट पनि गाडीमा कच्ची बाटो हुदै ४ घण्टा लाग्थ्यो खहरे पुग्न । अलिक चाँडो दशैँ भएको बेलामा पानी परिरह्यो भने बाटो चिप्लो भएर गाडी जान्थेन । अनि खुट्टैले हिड्नुपर्थ्यो त्यो बाटो । गाउँ नजिकै आँखुखोला थियो, अनि टारीवेशी भन्ने ठाउँमा त्यो खोला तर्नुपर्थ्यो । पक्की पुल नभएको कारण एक पटक तुइनमा चढेर त्यो खोला तरिएको थियो । खोलामाथिबाट डोरीमा वाधिएको टोकरीमा वसेर खोला तर्दा कम्ता डर लागेको थिएन । त्यतिखेर गाउँमा मोबाइल को त के कुरा ल्यान्डलाइन फोन भेट्टाउन नि मुस्किल पर्थ्यो । टिभी पनि खासै थिएन । दशैँ ताका वेलुकीपख हाई स्कुल अगाडीको चौतारीमा जेनेरेटर चलाएर सी. डी. बाट टीभीमा नेपाली फिल्म देखाउने चलन पनि थियो । वच्चादेखि बुढासम्म फिल्म हेर्न ठूलो चौर नै खचाखच भरिएको दृश्य हेर्नलायक हुन्थ्यो । ठूलो भए पछि गाउँमा एउटा फिल्म हल त जसरी पनि बनाउछु भन्ने लागेको थियो ।

गाउँमा त्यतिवेला खच्चडहरु निकै हुन्थ्यो, मैले खहरेको “ख” खच्चडबाटै राखेको होला भनेर सोच्थें । लेकतिर बाटो नपुगेकोले सबै सामानहरु खच्चडले नै बोकेर लैजान्थ्यो । नुन देखि चामलसम्म बोक्ने यातायातको भरपर्दो साधन त्यहि खच्चड थियो । खच्चडहरुको हलमा एउटा नाइके खच्चड हुन्थ्यो, उसको टाउकोमा श्रीपेच जस्तो लगाइएको हुन्थ्यो भने अनुहार पनि सिंगारिएको हुन्थ्यो । खच्चडले लात्ताले हान्छ अरे भनेर पर पर भएर हिड्थें । धन्न खच्चडको लात्तो कहिले खानुपरेन । 🙂

शशस्त्र युद्द ताका साउँ डाँडामा आर्मीको क्याम्प थियो । त्यहाँ वेलावेलामा हेलीकप्टर आइरहन्थ्यो । दशैँ-तिहार ताका युद्दविराम हुन्थ्यो, खासै घटनाहरु हुन्थेन । तर पनि मनमा डर लागिरहन्थ्यो । घरका भित्ताहरुमा, चौतारीमा, ठूला-ठूला ढुंगामा हसिया-हथौडा अनि क्रान्तिकारी नाराहरु पोतिएका हुन्थे । माओबादीहरु भनेका कस्ता होलान, बन्दुक पड्काउदै आए भने कता भाग्ने होला, सुतेको वेलामा पो केहि हुने हो कि भन्ने डर सधै भैरहन्थ्यो ।
जीवनयात्राका दुई दशक पार गर्दै गर्दा करिव २० दशैँ गाउँमा मनाइयो । अहिलेसम्म हरेक दशैँ मैले गाउँमै मनाएको छु । हरेक दशैंमा गाउँमा विभिन्न परिवर्तनहरु देख्थें । परिवर्तन प्रकृतिको नियम हो, शास्वत सत्य पनि हो । अन्तिम पल्ट ७० सालको दशैँ मनाउदै गर्दा गाउँको परिवर्तनलाई नजिकबाट नियाल्ने मौका पाएँ । हो मेरो गाउँ, म जन्मेको थलो त निकै परिवर्तन भएछ, गाउँले साँचिकै काँचुली फेरेछ ।

मैले तुइनबाट तरेको टारीवेशीमा आँखुखोलामाथि मोटर हिड्ने पक्की पुल छ । सबैको हातहातमा मोबाइल छ । खरवारीमा मोबाइलमा गीत सुन्दै घाँस काटेको दृश्य होस् वा वाटोमा गीत सुन्दै हिडेको दृश्य, यी सबै सामान्य भएका छन् । विजुलीका खम्बाहरु छन्, अनि प्राय घरका छानामा डिसहोमका रिसिभरहरु छन् । गाउमा खच्चडहरु छैनन, खच्चडको काम चारपांग्रे मोटर गाडीहरुले गर्न थालेको छन् । विहान खच्चडको घाँटीमा बाधेको घण्टाले निन्द्रा व्युझाउने गाउँमा आजकाल मोटरवाइकको भटभटले एकाविहानै निन्द्रा भंग गराउदो रहेछ । गाउमा न त आर्मी क्याम्प, न त माओबादीका बन्दुकहरुनै छन् । ति भित्तामा पोतिएका क्रान्तिकारी नाराहरु पनि फिक्का भएका छन्, मधुरा भएका छन् । सायद अव तिनका अस्तित्व पनि मेटिए होलान, सार्थकता पनि मेटिए होलान । ति नाराहरु केवल नारामै सिमित रहे, नाराभन्दा माथि उठ्न सकेनन ।

तर सबैथोक फेरिएका छैनन, कलकल बगीरहने आँखुखोला अझै नि उस्तै सुसाइरहेकी छिन, एकतमासले, आफ्नै भाकामा, आफ्नै लयमा । चौतारीका वर-पिपल उस्तै छन्, शितल छाहारी उस्तै छन् । मन्द बहने हावामा उही सुवाश छ, उहि मिठास छ ।

मेरो गाउँ प्रतिको माया पनि फेरिएको छैन, झन अझै बढेको छ । हरेक पटक गाउँ जाँदा अझै त्यहि गीत सम्झन्छु,
उकाली ओराली गर्दै,
आँखाभरि रहर भर्दै,
आँधिबेरी संग लड्दै,
खोला, नदि, सागर तर्दै,
दुख पिडा विर्सदै म आएँ,
परदेशबाट फर्की आएँ,
आफ्नै गाउँ फर्की आएँ,
नयाँ नयाँ सपना ल्याएँ….. 🙂

टारीवेशीको पुल

टारीवेशीको पुल

आँखुखोला हाइड्रोपावर

आँखुखोला हाइड्रोपावर

खहरे वजार

खहरे वजार

साउ डाँडा

%d bloggers like this:
www.000webhost.com