Home » Old Blog » प्रकृति: अप्राकृतिक रुपहरु………….

दिनभरी एकदमै चर्को घाम लाग्यो । लेखनाथ, रिठ्ठेपानीमा त्यहि गर्मीको कारणले क्लासमा पढाइमा राम्रोसंग ध्यान दिन सकिएन । दिउसो पोस्ट लन्च क्लासमा पनि झुपुझुपू निन्द्रा लागिरह्यो । वेलुकी होस्टेल आएसी गड्यांगगुडुंगको साथ झमझम पानी पर्न थाल्यो । केहि शितलताको अनुभव भयो । प्रकृतिको नियम पनि अजीवको छ, एकैछिनमा मानिसलाई तड्पाईदिन्छ, एकैछिनमा आनन्द गराइदिन्छ । झट्ट याद आयो, अहिले आनन्द दिइरहेको यो गड्यांगगुडुंग र पानीले अस्ति राती २ घण्टासम्म निन्द्रा हराम गरेको थियो ।

प्रकृतिको अनुपम वरदानबाट सुसज्जित भएको देश हो हाम्रो नेपाल । यहि प्रकृतिको सुन्दरताको विकाउको कारण पर्यटन क्षेत्र आज हाम्रो देशको अर्थतन्त्रको एउटा महत्वपूर्ण हिस्सा हुन पुगेको छ, अथवा भनौं मागी खाने बाटो बनेको छ । त्यति मात्रै होइन वेलावेलामा बहस गर्दा यो प्रकृतिको वरदान नेपालाई विश्वमा चिनाउने एउटा वलियो हतियार पनि बनेको छ । र हामी नेपालीको लागि अहिलेको स्थितिमा गर्व गर्न लायक केहि छ भने यहि प्रकृति नै छ भन्दा अत्युक्ति नहोला ।

तर अफसोच वेलावेलामा यहि प्रकृतिको रुप हाम्रो लागि अभिसाप बनिरहेको छ ।  करिव ४-५ वर्ष अगाडी कोशी नदीमा आएका बाढी, १ वर्ष अघिको पोखरामा सेती नदीको वाढी र अहिले दार्चुला लगायात पश्चिमी क्षेत्रमा आएको बाढीले प्रकृतिको नरभक्षी रुपको झझल्को दिइरहेको छ । यी त मेरा मानसपटलमा रहेका केहि ताजा स्मरणहरु भए । मानव सभ्यताको विकाशक्रम देखि नै हेर्ने हो भने पनि प्रकृतिका यस्ता कुटिल रुपहरु कति मानव हृदयमा चहर्याउने घाउहरु बनेर बसीरहेका छन् ।

पोखराको सेती नदीमा आएको बाढी

पोखराको सेती नदीमा आएको बाढी(२०६९)

महाकाली नदीमा आएको बाढी

महाकाली नदीमा आएको बाढी(२०७०)

तर के साँचै प्रकृतिले दानवी रुप देखाएकै हों त? के प्रकृति वेलावेलामा निर्दयी बनेकै हो त? यी प्रश्नहरु आज हाम्रो सामु गम्भिर रुपले तेर्सिएका छन् ।

पानीको पर्ने काम हो परिदिन्छ, नदीको बग्ने काम हो बगिदिन्छ । यसमा प्रकृतिको के दोष ? फगत कहिलेकाहि पर्नुपर्ने भन्दा अलिक बढि परिदिन्छ र बग्नुपर्ने भन्दा बढि बगिदिन्छ । तर के प्रकृतिलाई नियन्त्रण गर्न खोज्ने मानव जातिको दोष छैन यसमा ? बाघको जुँगा चलाएसी बाघले चिथोर्न आयो भन्नु कहाँसम्म जायज कुरा हो । बगिरहेको नदीलाई ड्याम बनाएर थुन्नु, तापमान वृद्धिले गर्दा अतिवृस्टि हुनु यी सबै मानव जातिकै दुष्परिणामका फलहरु हुन् । प्रकृतिलाई मानव निर्मित जन्झिरमा कैद गर्न खोज्नु किमार्थ सहि हुन सक्दैन, यसलाई त आफ्नै वहमा बग्न दिनुपर्छ, खेल्न दिनुपर्छ । अनि मात्र हामी प्रकृतिमा रमाउन सक्छौं ।

त्यसैले एकपटक सोच्ने वेला आएको छ हामीले आफैले रोपेको विष वमन गर्ने कि वेलैमा वुद्दी पुराएर प्रकृतिलाई आफ्नै धारमा चल्न दिने!! 🙂

सेतीको बाढीको बारेमा मैले लेखेको अर्को लेख पढ्न यहाँ क्लिक गर्नुहोला: सेतीको बाढी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com