Home » Old Blog » अधुरो यात्रा (भाग २)

(यो कथाका पात्र तथा घटनाहरु काल्पनिक हुन्, कसैका व्यक्तिगत जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ)

Statutory Directive : ‘Smoking is injurious to health’

amazing-boy-couple-girl-holding-hands-Favim.com-421599

भाग १ पढ्नुभयो? पढ्नको लागि यहाँ क्लिक गर्नुहोस 

जसोतसो रेस्टुराँको विल तिरेर त्यहाँबाट निस्किएँ । कोठा तिर लागें, ऊ किन त्यसरी निस्किएकी हो पत्तो भएन । बाटोमा अनि कोठामा आइपुगेपछि पनि निकै पल्ट फोन ट्राइ गरें, तर उठेन । कोठामा म छिरिंग सँग बस्न थालेको भर्खर २ हप्ता भएको थियो । मेरो टाढाको नाता पर्ने काकाको छोरा थियो ऊ, पढाइको शिलशिलामा पोखरानै बस्ने भएकाले मेरै कोठामा बस्न थालेको थियो । वेलुकी खाना पकाउने पालो मेरो थियो, तर जाँगर रत्तिभर थिएन, पुरै शरिर आलस्य भएको थियो । म ओइलाएको सागझैँ लत्रक्क परेको थिएँ । मनमा के गरौँ कसो गरौँ छट्पटी थियो, मट्याङग्रा लागेर रन्थनिएको भंगेरो झैँ जो आफ्नो घाइते शरिर लिएर लडिबुडी गरिरहेको थियो ।

साँझ परिसकेको थियो, कोठाको झ्याल खोलें अनि एउटा चुरोट सल्काएँ । भारी जिऊ अलिकति हलुका भयो अनि मनमा शान्ति पनि । मोबाइलमा म्यासेजको टोन बज्यो, हत्त न पत्त खोलि हेरें, छिरिंगले पठाएको रहेछ । साथीकोमा बर्थडे पार्टी छ अरे, उतै बस्ने रे आज । बेसै भयो, खाना बनाउने टेन्सन मात्रै भए नि घट्यो । पल्लो घरको पसलबाट एक पोका चाउचाउ किनेर ल्याएँ, र एक भल्को उमालें । धन्न आजको छाक त्यसैले टर्यो, मनमनै चाउचाउ आविस्कार गर्नेलाई धन्यबाद दिएँ । मनमा अनेक ताना खेलाउदै गर्दा कतिखेर भुसुक्क निदाइएछ पत्तो भएन ।

जोमसोमको लागि उडेको ८: १५ बजेको फ्लाइटले मेरो निन्द्रा भंग गर्यो । मोबाइल हेरें, दुइटा म्यासेज रहेछ, दुइटै सुलोचनाको ।

उसको बुबाको एक्सीडेन्ट भएको रहेछ, त्यसैले गर्दा हिजो हतारिदै जानुपरेको कुरा उसले बताई । गण्डकी मेडिकल कलेजमा उहाँको उपचार भैरहेको रहेछ । देब्रे खुट्टा फ्र्याकचर भएको र अझै २ दीन अस्पतालमै राखेर उपचार गर्नुपर्ने भएकाले ऊ आज र भोलि कलेज नआउने कुरा दोस्रो म्यासेजमा उल्लेख थियो । हिजोको घटनाको कारण थाहा पाइयो, केहि हदसम्म ढुक्क भएँ  ।

मन नलाई नलाई खाटबाट उठें । झ्यालबाट बाहिर हेरें, माछापुछ्रे सेतो दाँत देखाउदै हासिरहेको थियो । लाग्यो मलाई नै गिज्याईरहेको छ, अन्नपूर्ण र धौलागिरि पनि साथ दिदैथियो । म पनि के कम निच्च हाँसिदिएँ । पोखरा बसेको यत्तिका बर्ष भयो, यहाँ बसेर दिनहुँ हेर्दा पनि नअघाइएको कुरा केहि छ भने त्यो पक्कै पनि यहि हिमाल हो । न कुनै शोक न कुनै शुर्ता, दिनहुँ यसरीनै सेतो दाँत देखाउदै हाँसिरहेको छ । जीवन होस त यो हिमालको जस्तो ।

ढ्वाक ढ्वाक, ढोकाको आवाजले म झस्किएँ । छिरिंग आएको रहेछ । म हातमुख धुन तिर  लागें । ऊ हिजो साथीको बर्थडे पार्टीमा भएको रमाइलोको बारेमा बताउदै थियो । चिया तयार भयो, एकैछिनमा खाना पनि  ।

त्यस दिन क्लासमा खासै ध्यान दिन सकिएन । मनमा नानातरहका सोचाइहरु आउथ्यो । सुलोचनाले हिजोको मेरो प्रस्तावको वारेमा के सोची होली ? पक्कै पनि एस नै त होला नी । हिजै फेरि त्यस्तो हुनुपर्ने । कतै नो भनी भने त्यसपछिको हाम्रो संबन्ध के ? सोच्दा सोच्दै कति छिटो दिन बित्यो पत्तो भएन । भोलिपल्ट पनि दिन त्यसरी नै वित्यो ।

पर्सीपल्ट ऊ कलेज आई । ऊ खासै उत्साहित थिईन । दुई दिनको हस्पिटल बसाइले निकै थकित देखिन्थी । बाबाआमाको एक्ली छोरी भएकीले पनि उसको जिम्मेवारी अलिक भारी थियो । बाबा पररास्ट्रमा काम गर्नुहुन्थ्यो, अहिले बिदामा घर आउनुभएको रहेछ  ।

“कस्तो छ बाबालाई ?” मैले औपचारिकता निभाउदै सोधेँ ।

“अहिले ठिकै छ, डाक्टरले २ हप्ता आराम गर्नुपर्छ भन्नुभएको छ ।” मलिनो स्वरमा उसको जवाफ थियो ।

त्यस्तो उत्ताउलो र चन्चले उसको स्वभाव विल्कुल बदलिएको थियो । उसको मुहारमा एक किसिमको नैराश्यता थियो अनि सिथिलता पनि । रिमझिम गर्ने पुतली आज विल्कुल मौन थियो, मानौं पुतलीको पखेटा काटिएको थियो अथवा भनौ कुनै गहिरो चोट लागेको थियो ।

त्यो दिन त्यत्तिकै वित्यो । खासै खुल्न नसकेको उसको व्यवहार पछिल्लो दिनहरुमा विस्तारै सामान्य बन्दै गयो । हामी फेरि सँगै आउने जाने गर्न थाल्यौं । फाइनल एक्जाम नजिकिदै थियो । पुरै क्लास पढाईमा मग्न थियो । म पनि जसोतसो भएका नोट्सहरुको जोहो गरी पढ्दै थिएँ । पढाइमा म ऊ भन्दा अलिक अगाडी थिएँ । विचविचमा क्लास छुटेकाले केहि सब्जेट कभर गर्न गाह्रो भैरहेको थियो ।

“लेट्स ह्याब अ कम्बाइन्ड स्टडी” एक्जाम आउन केहि हप्ता बाकि रहँदा उसले भनी ।

म पनि किन नाइँ भन्थें र ! प्रेपरेसन लीभमा कलेजमै आएर कम्बाइन स्टडी गर्यौ । यसले धेरै फाइदा भयो ।

परीक्षा दिइयो, सोचेभन्दा राम्रै भयो । अब रिजल्टको पर्खाइ थियो । पोस्ट एक्जाम ब्रेकमा म काठमान्डौ गएँ, बालाजुमा दिदी-भिनाजुकोमा बसेँ । घरमा जिद्दी गरी गरी पछि सुलोचना पनि आइछे घुम्ने बहानाले । ऊ अंकलकोमा बस्थी नयाँ बजारमा । त्यसपछि त के चाहियो र, एक हप्ताको काठमान्डौ बसाइमा हामीले सकेजति ठाउँ घुम्यौं, गोदावरी ककनी, धुलिखेल आदि आदि । अन्तिम दिनको घुमाइ केशरमहलको “गार्डेन अफ ड्रीम्स” मा थियो । त्यो उपयुक्त अवसर थियो मनको कुरा खोल्ने, जून कुराको उत्तर मा निकै पहिले देखि खोजिरहेको थिएँ, बेगनास तालमा म त्यसको जवाफ पाउनबाट चुकेको थिएँ र अब भने त्यो मौका गुमाउन चाहन्नथें । हुन त त्यो एक औपचारिकता मात्र पनि थियो किनकी हामी नजानिदो तरिकाले प्रेमी-प्रेमिका भइसकेका थियौँ।

“तोइट बुद्धु यो पनि सोधिरहनुपर्ने कुरा हो, मैले तिमीलाई त्यहि दिन आफ्नो मानिसकेको थिएँ जून दिन मैले तिमीसंग मित्रताको हात अघि बढाएँ, यू आर माइ फस्ट एण्ड लास्ट लभ समिर ” उसको यो प्रत्रिकृया सुनेर म अवाक भएको थिएँ । त्यो दिन मेरो लागि विशेष थियो, यसर्थमा कि सुलोचानालाई मैले आफ्नो सम्झेर पहिलोपल्ट चुम्बन गरेको थिएँ ।

भोलिपल्ट हामी पोखरा सँगै फर्कियौं ।

दोस्रो बर्षको क्लास नि सुरु भयो । पहिलो बर्ष भरपुर रिजल्ट पनि आयो, दुवै पास भएछौं, फर्स्ट डिविजनमा । हामीले एकआपासमा बधाई साट्यौं । यहि खुसियालीमा लेकसाइडमा क्यान्डल डिनर गर्यौ । घर ढिला पुगेकाले उसलाई मम्मीले साफ गाली गर्नुभएछ । अब कहिल्यै त्यसरी ढिला नगर्ने प्रमिस मैले गरें, किनकी त्यो लेट नाईट डिनरको आइडिया निकाल्ने मै थिएँ ।

हाम्रो संबन्ध दिनानु दिन गाढा बन्दैथियो । हामी निकै नाजिकिसकेका थियौं एक आपासमा । प्राय कलेज टाइममा हामी सँगै हुन्थ्यौँ । कलेज सकिए पछि पनि हामी सँगै डुल्थ्यौ, घुमी फिरी घर लाग्थ्यौं । न्युरोड, चिप्लेढुंगा र महेन्द्रपुलको हुदै क्याफे अरोमा हाम्रो दैनिकी जसो नै थियो ।  म कफि र सिग्रेट मगाउथें ।

“समिर, प्लीज लिभ दीस इरिटेटिंग सिग्रेट यार” उसले एकदिन भनी ।

“हाहा” मैले उसको कुरा हाँसोमा उडाईदिएँ, एक पफ सँगै ।

“त्यस्तो के हुन्छ त्यो धुवाँमा, छोड्नै नसक्ने?” ऊ जान्न चाहन्थी ।

“वन्ली स्मोकर नो इट, सायद मैले तिमीलाई बुझाउन सक्दिन” मैले जवाफ फर्काएँ ।

त्यसपछि उसले कहिल्यै चुरोट छोड्न भनिन, उसले बुझी होला सिगरेटको लत थाहा पाउनको लागि सिग्रेट तान्नैपर्छ, ऊ त्यसो गर्ने पक्षमा थिइन ।

शनिवारको दिन प्राय हामी पोखरा नजिकै कतै घुम्न गइरहेका हुन्थ्यौँ । शान्ति स्तुप, डेभिड फल्स, महेन्द्र गुफा, सरांकोट, लुम्ले आदि आदि । साहेदै कुनै ठाउँ बाकि थियो होला जहाँ हामी नपुगेका थियौं ।

हाम्रो प्रेम दुई बर्षसम्म यसरीनै अगाडी बढ्यो । बिचबिचमा हामीमाझ स-साना मनमुटाव भैरहन्थ्यो, तर त्यो हाम्रो सम्बन्धको अगाडी गौंड थियो । हामी बिच एक आपासमा गहिरो विस्वास थियो, र भरोसा पनि । एक अर्काका परिपुरक थियौं हामी ।

ऊ बेलाबेलामा भन्थी, “समिर, हाम्रो प्रेम सधैं अमर रहिरहन्छ हगी?”

म उसको कोमल केश सुम्सुम्याउदै भन्थेँ, “युगौंयुगसम्म रहन्छ, रोमियो-जुलियट, राधा-कृष्ण, लैला-मजनु अनि समिर-सुलोचना, कस्तो मिलेको है?”

ऊ कथा भन्दै थियो, क्याफे अरोमाको त्यहि टेवलबाट । कथा पनि के भन्नु, त्यो उसको जीवनको एउटा स्वप्निल स्मृति थियो, फिक्का सपना, र तितो यथार्थ पनि ।

क्रमशः

 )

2 Responses so far.

  1. Aashish Sigdel says:

    एस्तो रोचक प्रस्तुती जहाँ मलाई लागिराको छ कि म पनि अब एस्कै पात्र हुँ, र प्रेममा फस्दै छुँ सुस्त-सुस्त!!
    प्रेम्को गीत गुङ्गुनाउने प्रयास जारी छ! उनी कतै बसेर साथ दिदैछिन!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com