Home » Old Blog » एउटा विरक्तिएको शालिक

हिजोभर्खरको हिउदे बर्षाले आज आकाश खुला छ, हिमाल प्रस्ट देखिएको छ। यदि हेरेर कहिल्यै नथाकिने र पट्यार नलाग्ने केहि छ भने त्यो पक्कै यहि हिमालहरु हुनुपर्छ। चिलहरु उडिरहेछन आहारको खोजीमा, वेलावेलामा एअरपोर्टबाट उडेका चिलगाडीका आवाजहरुले शान्ति भंग गरिरहन्छ।  गाडीहरु गुडीरहेका छन एकतमासले, चारै दिशामा। मानिसहरु पनि हतार हतार लम्कीरहेका छन् गन्तव्यतिर मानौ उनिहरुलाइ कसैसंग बोल्ने फुर्सद छैन।

पोखरा मलको छेवैवाट आइरहेको निकै भलादमी लाग्ने एउटा मानिसले विपरितवाट आइरहेको अर्को मानिसलाई कुममा ठक्कर दियो। दुवैले माफी माग्न जरुरी ठानेनन, सरासर आफ्नो वाटो लागे। नैतिकता हराएको छ यो शहरमा आजकाल, कोहि सभ्य बन्न चाहादैनन, किनकी सबै आफ्नै लागि मात्र बाचेका छन्। विपक्षी दलले गर्ने भनिएको आमसभाको माइकिंग चाइना पुलको वाटो हुदै आउदै थियो, एक फन्को मारेर नागढुंगा तिर हानियो। फेरी केहि वेरोजगारहरु एक दीनको लागि व्यस्त हुनेभए, ती नीतीहीन नेताको गफ सुन्न अनि थपडी बजाउन।

ए बी सी र घान्द्रुक घुमी फर्केका एक हुल कुइरेहरु लेकसाइड फर्कदै थिए। तिनीहरुले यहाँको प्राकृतिक सौन्दर्यता र हिमालहरु मात्रै देखेनन्, साथसाथै मगन्तेपन र पछौटेपन पनि देखे, किनकी त्यहाँ ट्याक्सी चालकहरु तछाड मछाड गर्दैथिए आफ्नो ट्याक्सी चढाउँन अनि होटेलमा लैजान। सभ्य समाजले खाते भन्ने सडक वालकहरु डेनड्राईडमा लठ्ठ छन्, अर्को हुल चाँही वटुवासँग पैसा माग्दैछन्। नजिकै अर्को सुटेड बुटेड त्यो मगन्ते वालकबाट भाग्न खोज्दैछन, साहेद यो विरलै देखिने दृश्य होला, जहाँ धनीहरु गरिव देखि डराइरहेका थिए। हुन त त्यो वालकको के दोष, यहाँ सबै मगन्ते छन्, सबै आफ्नो पेटको लागि माग्दैछन, वस यति फरक थियो, उ सडकमा माग्दैथियो।

???????????????????????????????

सडकछेउको एक छाप्रे पसलका व्यापारी निराश छन किनकी आज उनको बोनी पनि लागेको थिएन। ती ह्यांगरका धुलाम्मे सर्ट अनि खुइलीसकेका ज्याकेटहरु ग्राहकको पर्खाइमा थिए। जाडो सकिन लागिसक्दा पनि ति कसैका बन्न सकेनन, साहेद तिनीहरु अर्को पुष माघ कुर्दैछ्न। दमौली, चितवन र काठमान्डौको लागि छुट्न लागेको माइक्रो र मीनीवस यात्रुहरुको प्रतिक्षामा छन। पछिल्लो बसको खलासी धपाउन आउदा पनि ड्राइभर ढीपी कस्दै त्यहि बसिरहेछ। ट्राफिकको सिठी र संकेतले बल्ल गाडी गुड्यो, दमौली, मुग्लिन हुदै मलेखु अनि राजधानी काठमान्डौ।

मेरो दैनिकी हो यी दृश्यहरु हेर्नु, रहरले होइन बाध्यताले। नजिकै गाडिएको चन्द्र सुर्य अंकित राष्ट्रिय झण्डा मात्र मेरो साथी बन्न पुगेको छ। दीनभर बाटो हिड्ने बटुवाहरु मलाई देख्दैनन, किनकी उनीहरुको ध्यान त्यो होडिंगबोर्डको महँगो मोबाइल किन्नेमा छ, आइ २० कार चड्नेमा छ अनि आफ्नै सुन्दर संसार सजाउनेमा छ। हो म लखन थापा हुँ, नेपालको पहिलो शहिद अनि लखन चोकको मालिक जहाँ मेरो शालिक बर्षौ देखि दीनरात यो शहरको रमिता हेर्दै बसिरहेको छ।

Post Tagged with ,

2 Responses so far.

  1. Purushottam Gajurel says:

    सही मन पर्‍यो मलाई ।साथी को लेखन कला लाई सलाम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com