Home » Old Blog » ढिकुरपोखरीका सम्झनाहरु

“झमझम पानी परीरहेको छ, मानौ आजै सबै पानी परिसक्नुपर्नेछ । जुका भुइमा उफ्रीरहेको छ बुत्रुक बुत्रुक, रक्तप्यासले तड्पिएर । मान्छे ३ जना – बिबेक, सन्दीप र म अनि छाता २ ओटा । लौ हेर जुका त घाटीसम्म पुगिसकेछ, तैट, निस्किदै निस्किदैन त, ओइ बिबेक निकाल्देउ त । आधा घन्टाको कस्टकर हिडाइपछी बल्ल पुगियो हेल्थ पोस्ट । हुन त त्यो मेरो जुकासँगको पहिलो भेट थिएन, तर पनि त्यो दीन खास महत्वको थियो, यसअर्थमा की म जुकाको टोकाइमा पनि रमाइरहेको थिए।”

होस्टेलवाट गाडी गुड्यो, लामो पर्खाइ पछी त्यो दीन पनि आयो । सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रमको लागी हामी प्रथम बर्षको बिध्यार्थी ढिकुरपोखरी लागेका थियौ । लत्ताकपडा, केहि पुस्तक त छदै थियो, प्राथमिक उपचारको बक्सा र समुदायमा सोधिने प्रश्नावलीको साथमा केहि कौतुहुलता, केहि जोश र केहि जिम्मेवारी, यीनैको भारी संगालेर हुइकिएका थियौ, हेम्जा हुँदै ढिकुरपोखरी तिर । म अलिक गम्भिर पनि थिए, किनकी १४ जनाको हाम्रो समुहको नेतृत्व मैले गर्दै थिए, अनि आफुले उपचार गर्नुपर्ने गाउ समाज को स्थिती बुझ्न हिडेकोले यो एउटा खुड्किलो थियो, मेरो सामुदायिक चिकित्सा जीवनको । हो, हामी स्वास्थ्य खोज्न ढिकुरपोखरी हिडेका थियौ ।

अँ पुगियो ढिकुरपोखरी, स्वास्थ्य चौकीको ट्रेनीङ सेन्टरको छात्रावासमा खाना खाएर आराम गरेपछी गा वि स को कर्मचारीसँगको भलाकुसारी अनि त्यसपछी को गाउ घुमाइ । ढिकुरपोखरी बसाइको पहिलो रात, मनमा खेलेको धेरै कुरा, वाल्यकालका आफ्नो गाउ बसाइका खुराकहरु, र भविष्यमा यस्ता कयौ गाउ घुम्ने सपनाहरु । पहिलो चार दिनको प्रश्नावली मार्फत तथ्यांक तथा जानकारी संकलन को काम वास्तवमै अभुतपूर्व रह्यो । निस्चयनै जनमानसको घर घरमा गएर २५ पाना लामो प्रश्नावली निसंकोच सोध्नु र सत्य तथ्य जानकारी लिनु किमार्थ सजिलो थिएन । जानकारी लिने क्रममा भेटिएकी एउटा घरको बुढी आमैको आँखा रसाउने ह्रीदयबिदारक कथा सम्झदा अहिले पनि मन चसक्क हुन्छ । नेवारे डाँडावाट उकालो लाग्दाको जुकाको टोकाइ अनि मुसलधारे पानीको गोदाइ पनि सम्झनलायक थियो ।

जानकारी संकलन पछिको स्थानियसँगको अन्तर्क्रीया र तथ्यांक प्रस्तुतिकरणको भागमा नौलो अनुभव समेटियो । लघु स्वास्थ्य कार्यक्रम अन्तर्गतको बिध्यालय स्वास्थ्य कार्यक्रम हाम्रो लागी जटील चुनौती थियो । तर एकले थुकी सुकि, सयौले थुकी नदी भनेझै समुहको लगनशिलता र मिहेनतले उक्त कार्यक्रम सजिलै प्रा वि र अर्को उ मा विमा सफलता पुर्वक सम्पन्न गरियो । सुर्य किरणले सिकाएको दात माझ्ने र हात धुने बैज्ञानिक बिधिले पक्कै पनि माछापुछ्रे प्रा वि का भाइबहिनिहरुले लाभ उठाए । बिध्यालयका स-साना भाइबहिनिहरुलाई स्वस्थ जीवनका आयामहरु बताइरहदा कता कता निकै आत्मसन्तुष्टीको आभास भइरहेको थियो ।

धम्पुस यात्रा ढिकुरपोखरी बसाइको अर्को महत्वपुर्ण पाटो थियो । घट्टेखोला देखी करिव २ घन्टाको पैदल ट्रेकिङ, बाटोमा जुका आतंक, बेलुकाको नाचगान अनि क्याम्प फाइर । उर्फ साँचै धम्पुस बसाइको त्यो रात अनि रमाइलो, अहिले सम्झदा पनि फर्केर जाउ जाउ हुन्छ । भन्डारी रेस्टुरेन्टको दशै नै बिर्साउने मासु चिउरा पनि अर्को सम्झनलायक कडी थियो । लुम्ले को मुटु छुने हावा र कृषी बिज्ञान प्रतिस्ठान को झझल्को अझै पनि स्मृतिमा सधै ताजै रहिरहनेछ ।

वास्तवमै ढिकुरपोखरी बसाइले जीवन जिउने तरिका सिकाएको छ । पोखरा नजिकै रहेर पनि अभाव र अशिक्षा वाट भर्खरै माथी उठ्न बामे सर्दै गरेको थियो ढिकुरपोखरी । घान्द्रुक, अन्नपुर्ण बेस क्याम्प जस्तो पर्टकिय स्थलको ढोका भएर पनि ढिकुरपोखरी अझै मौलाउन सकेको छैन । फुल्दै गरेको ढिकुरपोखरीलाई ११ दीनको बसाइको क्रममा अलि अलि भए पनि मलजल गरेर अझै हरभरा बनाउन केहि राहात दिन पाएकोमा आफुलाई निकै भाज्ञमानी ठान्यौ । बाइ बाइ ढिकुरपोखरी भन्दै घट्टेखोला र हेम्जाको सेती किनारकिनारै फर्कदा स्वास्थ्य, समृद्ध र हराभरा ढिकुरपोखरीको कल्पनामा हराउदा गरिवी र अन्धकारमा जेलिएका, अन्य सयौ ढिकुरपोखरीहरुले मुख बाइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com