Home » Old Blog » यो बर्ष पनि सिस्नोपानी नेपालको व्यङग्यात्मक देउसी भैलो ।

गत बर्षहरुझै यो बर्ष पनि सिस्नोपानी नेपालले विभिन्न राजनैतिक नेता, पत्रकार तथा बुद्दिजिविहरुको घरमा गएर व्यङग्यात्मक देउसी भैलो खेलेर समसामहिक राजनैतिक तथा सामाजीक क्षेत्रमा चोटिलो व्यङग्य प्रहार गरे । सिस्नोपानी नेपालका मनोज गजुरेल तथा साथीहरुको टोलीले कान्तिपुर टेलीभिजनको कार्यक्रम “सरोकार” मा पनि उक्त ठट्यौली तथा व्यङग्यात्मक देउसी प्रस्तुत गरेका थिए । ती देउसी भैलोका केहि अंश:

ए भन भन भाई हो– के भन्ने?
देउसिरे भन– नभन्ने
स्वर मिलाई भन– नभन्ने
भन्नेचाहीं के त? मिसावट
मिठाई हाम्रा– मिसावट
दबाई हाम्रा– मिसावट
दुधका पोका – मिसावट
गुदपाकका प्याकेट– मिसावट
पानीका बोतल– मिसावट
फलफुलमा केमिकल– मिसावट
तरकारी हाम्रो – मिसावट
सरकारै हाम्रो – मिसावट
हाम्लाई भने भिषा दिन महिनौंसम्म झुलाउने
भिषैबिना मुसालाई हङ्कङ डुलाउने

भारतको रक्त चन्दन बिरामी पो भएछ
एम्बुलेन्समा चढेर चाइना गएछ

नेपालका टेलिकमले ठूलो आपत् पारेछन्
को को? भन्दा बोको सुनी, झन्डै मारेछन्

जलस्रोतको धनी भन्दै सधैं गीत गाइरहने
१६ घण्टे लोडसेडिङ्को सेडुल आइरहने

राष्ट्र बन्न चाहिएको थ्यो धेरै नेता निपूर्ण
सयौं कुम्भकर्णबीचमा कठै गोकर्ण

अर्थतन्त्र टाट उल्टाउने कस्तो तिम्रो रहर
प्लटिङ गर्ने पल्टने दाई के छ खबर?
भ्याट छल्ने व्यापारी, कर छल्ने तस्कर
सरकारका अघिपछि तिनकै लस्कर

केटी बेच्ने, पासपोर्ट बेच्ने हाम्रा देशका सभासद्
कुन केमिकल दल्ने यिनलाई गर्न सफाचट् ।

गच्छेदारको अच्छा भाषन, खोजी गर्ने भ्रष्टाचारी नि लै लै
नखोज न धेर, आफैं ऐना हेर
… कालो चस्मा फुकालेर
सबै डाक्टर प्रधानमन्त्री हुदैनन् है पढेर
देउसी खेल्न जाऔं साथी मुस्ताङ् चढेर
जुन पार्टीमा डाक्टर बैद्य त्यही पार्टी रोगी भो
पार्टी रोगी, नेता ढोंगी, जनता जोगी भो

कुद्‍न खोज्ने बाबुराम, बैद्य छिर्के लगाउने
नारानकाजी फुत्त निस्की खाने, अघाउने

मार्क्सबाद हो कि मार्क्स’बेद’ तिम्रो, बुझ्नलाई गाह्रो भो!
प्रचण्डलाई ‘पथ’मा पुग्न कस्तो साह्रो भो

‘बैद्यजी’लाई जंगलतिरै फर्के राम्रो होला नि
जडीबुटी खोज्न लैजाऊ रातो झोला नि

संविधान फल्छ भन्थ्यौ, संघीयता ल्याउँछु भन्थ्यौ नि लै लै
न त संघी यता भो, न त संघी उता भो
उल्टै देश कता कता गो

छ सय एकको लामो ताँती, पुत्ले पाङ्ग्रे भाँती भाँती नि लै लै
संवि धान जप्छन्, म्यादमात्रै थप्छन्
लाग्दैन कि कुरी कुरी
चरी उड्यो भुरुरुरु, पर्शु दिउँसै हरायो
ओलीजीको जोक सुन्दा जोकै डरायो

बल्खु पनि बिरानो भो दिल्लीले नि फाल्दियो
दिल्लीले नि अर्कैलाई टेण्डर हाल्दियो

झलनाथको झिल्के सरकार छ महिना नि रहेन
किन आयो, किन गयो पत्तै भएन

‘वर्तमान परिप्रेक्ष’ माधवजीको नारा हो
न बिर्गाछन्, न सपार्छन् डमी पारा हो?

शुशिलदा र देउवा दाइको काँग्रेसभित्र रडाको
चुनाव हार्ने पालो सधैं पौडेल बूढाको

बुढै बूढा नेता छन्, अझै भन्छन् जवान
युवालाई उठ्नै दिन्नन्, कठै गगन।

मधेशीलाई मुक्ति दिन्छौं भन्छन् नेता मधेशका
काठमाण्डौमा घर ठड्याउँछन्, सयर विदेशका

भ्रष्टाचार अन्त्य गर्छु भन्दै हिड्छन् गच्छेदार
एउटा ऐना किनौं जनता, दिऊँ न उपहार
नेपाली हौं हामी भन्छन्, देश त्यागी कता कता नि लै लै
ऊ बेलामा फाले, अहिले माग्न थाले
एनआरएनले नागरिकता

घाँटी दुख्ने रोग लागे, नजाऊ भाउजू अस्पताल नि लै लै
डाक्टर सिस्टर आउलान्, बेहोस्को सुई लाउलान्
झिकी देलान् पाठेघर ।

सिस्नुपानी को देउसी /आसिस

ए दिदैछौं आशिष – गनेर
महङ्गी घटोस् – भनेर
ए सुनको भाउ– झन् बढोस्
नूनको भाउ – झन् घटोस्
शेयरको मूल्य – बढ्दो होस्
लोड सेडिङ् सधैं – घट्दो होस्
आयकर तिर्ने – बानी होस्
धारामा सधैं – पानी होस्
सिलिण्डरमा – प्वाल नहोस्
दूतावासको जस्तो – वाल नहोस्
थोत्रा पिलेन – नउडून्
भिरमा गाडी – नगुडून्
मिठाई बासी – नपरोस्
रोगले निम्तो – नगरोस्
कोशेली गुदपाक – नआओस्
आइहालेपनि – नखाओस्
प्रभुले ज्यान – नहरुन्
काशीको बास – नगरुन्
बाबुलाई अल्सर – नलागोस्
छोराले पल्सर – नमागोस्
चोरलाई खेद्ने – लाठी होस्
घरकी जहान – बाठी होस्
देउसीको जस्तो – लय होस्
नेपाली जनताको – जय होस्

धन्यबाद ।
समाप्त । । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com